शिखर साकोले सुरु गर्यो दूर्घटना न्यूनीकरण फेसबुक क्याम्पेन
Published:
by .बिर्तामोड । बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ९औं स्थापना दिवसको अवसर पारेर आज रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा ५२ जनाले रगत दान गरेका छन् ।
रक्तदान कार्यक्रमसहित आज नै संस्थाले फेसबुक ट्राफिक सचेतना कार्यक्रमको पनि सुरुवात गरेको छ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्रकुमार गिरी र इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापा र जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख होमप्रसाद अधिकारीले उक्त कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
चाडपर्वमा हिंडडुल बढी हुने, बाटोमा सवारी साधनको चाप बढी हुने र दूर्घटना बढी हुने भएकाले दूर्घटना न्यूनीकरण गर्न सामाजिक सञ्जालमार्फत सन्देश दिन सकिन्छ भनेर फेसबुक सचेतना अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए । यो अभियान दशैंसम्म चल्नेछ ।
सहकारी संस्थाले वचत तथा ऋणको मात्र काम गरिरहँदा शिखर साकोसले चाडपर्वलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रमको थालनी गरेकोमा जिल्ला ट्राफिक प्रमुख होमप्रसाद अधिकारीले प्रशंसा गरेका छन् ।
सहकारी संस्थाले सामाजिक गतिविधिमा सक्रिय रहनु समग्र सहकारीप्रति सदस्यहरुको विश्वास बढ्नु हो भन्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक गिरीले सदस्यमाझ सेवामा सदैव तल्लिन शिखर साकोसले सहकारीको भिडमा अलग्गै पहिचान बनाउन सफल बन्दै गएकोमा प्रशंशा पनि गरे ।
Comments