इटहरी उपमहानगरले गरायो ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण
Published:
by .इटहरी । ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर इटहरी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकका लागि इटहरीका ६ ठाउँमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर गर्दा करिब चार सय लाभान्वित भएका छन् ।
आज इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरसहितको शिविरमा १२६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा ल्याव सेवा र औषधी पनि निःशुल्क गरिएको थियो । ६० वर्षभन्दा बढी उमेरका नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो ।
इटहरी उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमले शिविरको उद्घाटन गरेकी हुन् । दिनभर पानी परे पनि ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भुपेन्द्र बरालले जानकारी दिएका छन् ।
विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा. रामकुमार मेहता, हाडजोर्नी रोग विशेषज्ञ डा. मिथलेसकुमार गुप्ता, स्त्री रोग विशेषज्ञ डा. सपना भगत, इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा. आश्विनकुमार गुप्तालगायतका चिकित्सकले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका हुन् ।
यसअघि नै ज्येष्ठ नागरिक दिवसको अवसरमा इटहरीका वडानम्बर १, ३, १२, १६ र १७ मा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो । ५ ठाउँमा भएका शिविरमा २५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
ज्येष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १०० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकलाई घरमै गएर भेटेका छन् ।
Comments