बिर्तामोडमा सोल्टी सोल्टिनीको तयारी
Published:
by .बिर्तामोड । दिन प्रतिदिन तीब्र सहरीकरण भइरहेको बिर्तामोड सहरमा सुविधा सम्पन्न पार्टी प्यालेसहरु थपिने क्रम पनि निरन्तर बढिरहेको छ । पछिल्लो पटक जुम्ल्या हलसहित इन्द्रेणी ब्याङ्क्वेटले यही असोजभरमै सञ्चालनको तयारी गरेको छ ।
बिर्तामोडका व्यवसायी दिपेश वैद्य नेतृत्वको समूहले गत असार महिनाबाट निर्माण थालेको इन्द्रेणी ब्याङ्क्वेटका दुईवटा हलहरु सोल्टी र सोल्टिनीमध्ये सोल्टीमार्फत् यसै महिनाबाट सेवा सुरु गर्न लागिएको हो ।
साझामञ्चसँग कुरा गर्दै मुख्य लगानीकर्ता वैद्यले हरियालीयुक्त, प्रशस्त पार्किङको सुविधा रहने तथा अत्याधुनिक उपकरणहरु जडान गरेर ब्याङ्क्वेट सञ्चालनमा ल्याउन लागिएको बताए । ५०० जना र ७०० जना क्षमताका दुईवटा हलहरुमध्ये सोल्टी अर्थात् ५०० जना क्षमताको हल यही असोज महिनाभरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने वैद्यले बताए ।
बिर्तामोड मुक्तिचोकको ३०० मिटर दक्षिण दूरीमा रहेको करिब ५ कठ्ठा पैतृक जमिनमा निर्माणाधिन ब्याङ्क्वेट पूर्ण सञ्चालनमा ल्याउन करिब दुई करोड रुपैयाँ लगानी हुने वैद्य समूहको अनुमान छ । अत्याधुनिक शौचालयसहित प्रविधिमैत्री किचन तथा पूर्ण वातानुकुलित हलहरु निर्माण भइरहेका वैद्यले बताएका छन् ।
‘मिटिङ, बैठक, संघ–संस्थाको सेमिनार, साधारणसभा, विवाह, ब्रतबन्ध, जन्म दिन जस्ता कार्यक्रममा भोज गर्न उपयुक्त स्थान र हलहरु बनाउने’ मुख्य लगानीकर्ता वैद्यको तयारी छ । सो हलमा आयोजना गरिने विवाह, ब्रतबन्धजस्ता कर्महरुका लागि चाहिने पूजा सामग्रीदेखि पण्डितसम्मको तयारी गर्न तथा निमन्त्रणा पत्र वितरण गर्नेसम्मको काममा सहयोग गर्ने ब्याङ्क्वेटले योजना बनाएको छ ।
Comments