बिर्तामोडका परिषद् सदस्यहरु आन्दोलित !
Published: (Updated: )
by .बिर्तामोड । आर्थिक वर्ष २०७५/०७६ को बजेट, नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै बिर्तामोड नगरपालिकाको नगरपरिषद बहिष्कार गरेका सदस्यहरुले बजेट कार्यान्वयन गर्न नदिने चेतावनी दिएका छन् ।
बजेट, नीति तथा कार्यक्रम अपारदर्शी, असन्तुलित, अवैज्ञानिक र समानुपातिक नभएको भन्दै डेढ दर्जन बढी परिषद सदस्यहरुले दोस्रो नगरपरिषद बहिष्कार गरेका थिए ।
तिनै परिषद सदस्यहरुले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी बिर्तामोड नगरपालिकाले नाटकीय ढंगबाट नगरपरिषद सम्पन्न गरेको र त्यसले पारित गरेको बजेट कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका हुन् ।
बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि ८२ करोडकोे बजेट नगरपरिषदबाट पारित गरेको छ । केही ब्यक्तिहरुको पहुँच र आग्रहका आधारमा भेदभावपूर्ण ढंगले बजेट ल्याइएको परिषद सदस्यहरुले आरोप लगाएका हुन् ।
नगरपरिषदले वडा नं १ लाई १ करोड ४० लाख, २ लाई १ करोड ५० लाख, ३ लाई १ करोड ५५ लाख, ४ लाई १ करोड ५० लाख, ५ लाई २ करोड, ६ लाई ६० लाख, ७ लाई ५० लाख, ८ लाई ४० लाख, ९ लाई ७२ लाख र वडा नं १० लाई ७८ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
त्यस्तै लक्षित वर्गहरु महिला, दलित, आदिवासी जनजाति, सीमान्तकृत, अपाङ्ग, बालबालिका, द्वन्द्वपीडित आदिका लागि एक पैसा पनि बजेट बिनियोजन नगरिएकोमा परिषद् सदस्यले आपत्ती जनाएका छन् ।
शिक्षा क्षेत्रमा पनि मनोमानी तवरले बजेट वितरण गरिएको उनीहरुको आरोप छ ।
देवी माविलाई ४० लाख छुट्याइएकोमा महेन्द्र ज्योति माविलाई ५ लाख र पंचरत्न माविलाई ४ लाख मात्र विनियोजन गरिएको छ ।
परिषद सदस्यहरु अर्जुन सिटौला, एन्विन्द्र खत्री, पर्शुराम खनाल, पबित्रा ढुंगाना कोइराला, दिपिका शिवा, शोभा विक, सृष्टि दाहाल, अजयकुमार शाह, हरिप्रसाद चौंलागाई, दिलकुमारी राजवंशी, लक्ष्मी नेपाली, इन्दिरा पाण्डे, दिपक भट्टराई, बालकृष्ण कार्की, पूर्णप्रसाद राजवंशी र कुमारी दर्नालले विज्ञप्ति जारी गरी बजेटप्रति असन्तुष्टि जनाएका हुन् ।
जबर्जस्ती बजेट कार्यान्वयन गर्न खोजे नगरपालिका घेराउ गर्ने तथा अनसन बस्ने सम्मका बिरोधका कायक्रमहरु गर्ने वडा नं १० का सदस्य अर्जुन सिटौलाले चेतावनी दिएका छन् ।
Comments