चिनियाँ राष्ट्रपति साढे १९ घण्टा नेपालमा रहने
Published:
by .काठमाडौं । चिनियाँ राष्ट्रपति सि जीनफिङले नेपालमा साढे १९ घण्टा बिताउने गरी कार्यक्रम तय भएको छ ।
यही असोज २५ गते शनिबार दिउँसो नेपाल आउने एरराष्ट्रपति सि आइतबार बिहान स्वदेश फर्किने कार्यक्रम तय भएको हो ।
विशेष विमानबाट भारतहुँदै राष्ट्रपति सि ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वागत गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि राष्ट्रपति सि सोझै होटल सोल्टीमा जाने कार्यक्रम छ । केही समय त्यहाँ आराम गरेपछि साढे ४ बजे राष्ट्रपति भण्डारीसँग भेट गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नेछन् । करिब आधा घण्टा दुई राष्ट्रपतिबीच भेटवार्ता हुने कार्यक्रम तय भएको जानकारी दिइएको छ ।
त्यसपछि होटल सोल्टीमा विभिन्न दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको छ । भ्रमणको दोस्रो दिन आइतबार महत्वपूर्ण छलफल हुनेछ । आइतबार बिहान साढे ८ बजे होटल सोल्टीमा नेपाल–चीनबीच द्वीपक्षीय वार्ता हुनेछ ।
सो वार्तापछि द्वीपक्षीय हस्ताक्षर हुने कार्यक्रम रहेको छ । उक्त वार्ता सकेर विशेष विमानबाट साढे १० बजे राष्ट्रपति सि स्वदेश फिर्तीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानेछन् ।
Comments