Sajhamanch Archive

गरिष्ठ भोजनः के हो, खाने कि नखाने वा कसरी बच्ने !

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, स्वास्थ्य, by .

उमेर अनुसारको पोषिलो खानेकुरा सबैलाई चाहिन्छ । त्यसमा पनि बढदो उमेरका स–साना बालबालिकाका लागि पोषिलो खानेकुरा अति नै जरुरी हुन्छ । पहिले पहिले गाउँ र दूरदराजमा गरिबीको कारण मानिसले पोषिलो खानेकुरा नपाएर रोगी र कुपोषित हुने गर्थे । यसमा सबैभन्दा बढी मारमा बालबच्चा हुने गरेका थिए । अहिले गाउँ र सहरमा समेत कुपोषणको कारण बालबालिकामा कहालीलाग्दो समस्या देखिन थालेको छ । पहिले गाउँमा खान नपुगेर कुपोषणको समस्या हुने गरेको थियो । अहिले गाउँ सहर जताततै खान नजानेर बालबालिकामा कुपोषणको महामारी नै चल्न थालेको छ । यदि समयमा नै यो समस्याको समाधान नखोज्ने हो भने जति नै अस्पताल खोले पनि, जति नै डाक्टर भए पनि र जति नै लगानी गरे पनि समाज रोगी बन्ने पक्का पक्कीजस्तै भइसक्यो ।

कुपोषणले बच्चाहरु ख्याउटे हुने मात्र होइन कि मोटोपन पनि बढाउँछ । उमेर अनुसारको वजन नहुनु र बढी हुनु दुवै कुपोषणको कारण हो । बालबालिकाको बढ्दो उमेरका लागि चाहिने पौष्टिक खाद्य वस्तुको अभावले शारिरीक, मानसिक विकास राम्ररी हुन पाउँदैन । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा विरामी भइरहने समस्या हुन्छ । रोग निको हुन धेरै समय लाग्ने गर्छ । यस्तो अवस्थामा समय र धनको बर्बादी त हुन्छ नै साथसाथै व्यक्ति, परिवारको उत्पादकत्व पनि कम हुन्छ । यसले गर्दा मानिस निरन्तर आर्थिक र शारिरीक समस्यामा पर्ने गर्छन् ।

सहरमा बस्ने धनी गरिव सबै परिवारका बच्चामा कुपोषणको महामारी देखिएको छ । गाउँमा पनि यो समस्या विकराल बन्न थाल्यो । कुपोषणको समस्या पहिलेभन्दा अहिले बढेर जानुमा खाद्यान्नको अभाव र खाद्यान्नमा मानिसको पहुँच कम भएर होइन । यो समस्या ती परिवारमा अझै धेरै छ जुन परिवारका सदस्य या त अल्छी छन् या त अति व्यस्त । जति नै व्यस्त भए पनि आफ्नो र परिवारको स्वास्थ्यभन्दा ठूलो त केही हुँदैन । यसको जड अर्थात् मुख्य कारण भनेको बजारे तयारी खाना अर्थात प्याकेटका खानेकुरा हुन् । यस्ता खानालाई जङ्कफुड अर्थात् गरिष्ठ भोजन वा पत्रुखाना भन्ने गरिन्छ । गरिष्ठ भोजनका मुख्य दुई खराबी हुन्छन् । पहिलो, पच्न कठिन हुने, ढिलो पच्ने र नपच्ने । दोस्रो– यस्ता गरिष्ठ खानामा पोषकतत्वको सधैं अभाव हुने गर्छ । शरीरलाई चाहिने पोषकतत्व अति न्यून भएको, ढिलो पच्ने वा नपच्ने खाना खाएपछि के हुन्छ ? जे नहुनु पर्ने हो त्यही हुन्छ !

गरिष्ठ भोजनको विशेषता :

यस्ता खानेकुरा विशेषगरी बालबालिकालाई लक्षित गरी उत्पादन गरिन्छ । बालबालिकाले रुचाउने प्रकारको स्वादमा बनाइन्छ । यस्ता गरिष्ठ भोजन उत्पादन गरी बजारमा ल्याउने कम्पनीहरुले ठूलो धनराशी विज्ञापनमा खर्चने गर्छन् । विज्ञापनले विशेष गरी बालबालिका र अरुलाई पनि आकर्षित गर्छन् । अझ भाग्यमानीले पाउँछन् लाखौं–करोडौं पुरस्कार भनेर लोभ देखाउँछन् । गरिष्ठ भोजन तयार गरेर लामो समय प्याकेटमा राख्ने हुँदा यस्ता खानालाई सड्न नदिन ‘प्रिजर्भेटिभ केमिकल्स’को प्रयोग गरिन्छ । यस्ता केमिकल्सको प्रयोगको सीमा त तोकिएको हुन्छ तर यो सीमाको पालना हाम्रोजस्तो मुलुकमा समान पठाउने र उत्पादन गर्नेले कति नै पो पालना गरेका होलान र !

जब कि विरामीलाई उपचार गर्ने डाक्टर त कमिशनको लोभमा प्रतिवन्धित फुड सप्लिमेन्ट्रीलाई औषधी भनेर प्रिस्काइव गर्छन् । नाफाका लागि उद्योग चलाउनेहरुले कत्तिको नियम पालना गरेको होलान् ? धेरैै दिन टिक्ने र टिकाउने गरी बजारमा बिक्रीका लागि पठाउने सामग्रीका बारेमा उत्पादकको ध्यान उपभोक्ताको स्वास्थमा भन्दा आफ्ना उत्पादनको आयू धेरै होस् भनेर नै सोच्नेछन् । हेर्नुपर्ने सरकारलाई यसबारेका थाहा पत्तो छैन । पत्तो पाइहालेछन् नै भने पनि यसलाई सजिलै नियन्त्रण गर्न सक्ने छैनन् ।

उपभोक्ता र विशेष गरी बालबालिकालाई केन्द्रमा राखेर उत्पादन गरिएका यस्ता वस्तु बढी स्वादिलो बनाउन बढी नून, चिनीको प्रयोग गर्ने, फाइवर हटाउने, तेलमा तार्ने जस्ता उपक्रम गरिन्छ । बजारमा सजिलै उपलब्ध हुने, पकाउन समय नलाग्ने, पकाउनु नपर्ने, स्वादिलो हुने, आकर्षक प्याकेजिङ र प्याकेट, त्यसका पनि उपहारको लोभ । यता बेच्नेलाई सजिलो, प्याकेटका खानेकुरा बेच्दा नै बढी फाइदा हुन्छ । अझ रमाइलो कुरा त के छ भने जति कमशल, पत्रु, गरिष्ठ, अहितकर समान बेच्न सक्यो उत्ति नै बढी नाफा पनि !

बालबालिका र आफ्नै लागि पनि लिटो, रोटी, चाम्रे, पुवा, खिर, भात, तरकारी, दाल, सातु, दूध, दही, मोही, घिउ, चिउरा, आलु, अण्डा, माछामासु आदि परिकार बनाउन झन्झट गर्नुभन्दा बजारमा गयो चाउचाउ वा यस्तै पत्रुखाना किन्यो खायो । भुलुक्क पानी उमालो, एकछिन छोपिदियो, नानी पनि खुसी आफूलाई पनि फुर्सद । बिस्कुट दुईचार प्याकेट किनेर राख्यो, आफूलाई खाजा पनि हुने पाहुनाको सत्कार पनि हुने । चिनीका घोल (जुसका प्याकेट, कोल्ड ड्रिङ्स, कोकफेण्टा आदि इत्यादि) घरमा, अफिसमा राखिछाडे बालबच्चा खुसी, पाउनाको सत्कार सम्मान, आफूलाई पनि सजिलो । यी र यस्तै गरिष्ठ भोजनका धेरै विशेषता छन् । हामी यसैमा मख्ख छौं । अझ यस्ता गरिष्ठ भोजनको प्रयोग गर्न थालेपछि आफ्नो सानमान बढेको अनुभूति गर्छौं । त्यसैले कहिलेकाहीँ त देखाउनकै लागि पनि यस्ता वस्तुको उपयोग गर्छौं । विशेषगरी पाहुना आउने समयमा र चाडवाडमा ।

बालबालिकाको सानो पेट र सानो आन्द्रा :

अहिले सहरका हुन् वा गाउँका बालबालिका खानाखान उत्ति मन गर्दैनन् । आफ्नो बच्चाले खाना नखाएकोमा आमाबाबुलाई चिन्ता हुने नै भयो । घरको खाना पटक्कै खान मान्दैन बरु यो त खाँदैछ भनेर यस्ता गरिष्ठ खानेकुरा किनिदिने गरेका छौं । बजारमा नानीहरुले कल गर्दा, रुँदा फकाउन, साथीसंगीको अगाडि कन्जुस होइनौं भनेर देखिन, देखाउन यस्ता गरिष्ठ खाद्यवस्तु किनेर खान दिन्छौं । कतिपय पाहुना जाँदा वा घरमा पनि अलि समय पछि जाँदा बच्चालाई मनपर्ने, बच्चा खुसी हुने यस्ता वस्तु किनेर लगिदिने गरेका छौं । यो कामले बच्चामा के असर परिरहको छ भन्ने चाहिँ ख्याल गर्दैनौं ।

बच्चाको पेट सानो हुन्छ, आन्द्रा सानो हुन्छ । त्यहाँ खाना धेरै अटाउँदैन । जब बच्चाले यस्ता गरिष्ठ भोजन स्वाद मानेर खान्छन्, तिनको पेटमा यस्ता खाना पुगेपछि ठाउँ खाली हुँदैन र खाली हुन धेरै समय लाग्छ । किनकि यस्ता खाना हत्तपत्त पच्दैनन् । पच्न समय लाग्छ । पेटमा भएको खाना नपचेसम्म फेरि अरु खाना खान मन लाग्दैन । हिजोआजका बच्चा धेरै समय मोबाइलमा झुम्मिन्छन् । खेल्ने ठाउँ र साथीको अभाव हुँदै गएको छ । शारिरीक अभ्यास कम हुने भएपछि खाना पच्न समय लाग्ने नै भयो ।

घरमा बनाएको खानाका बारेमा यस्तो खाना राम्रो हुन्छ, जरुरी छ भनेर फाइदा सम्झाउँदै खुवाउनुको सट्टा झन् गाली गर्न थाल्यौं भने बच्चा तनावमा हुन्छन् । तनावमा भएको कारणले पनि खाना पच्न झन् बढी समय लाग्छ । ढिलो गरी पच्ने यस्ता गरिष्ठ भोजनमा बच्चालाई चाहिने प्रर्याप्त पोषण तत्व हुँदैन । सन्तुलित र प्राकृतिक आहारका स्रोतहरुबाट कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल र खानालाई पचाउन फाइबर प्राप्त हुन्छ । भोजनलाई स्वादिष्ट पार्न फाइवर हटाउने चलन छ । यो प्रकृतिको नियम विपरित छ । फाइवर हटाएपछि खान स्वादिलो त हुन्छ तर नपच्ने वा पच्न धेरै समय लाग्ने गर्छ ।

बच्चालाई पटकपटक सम्झाउने, आफूले पनि गरिष्ठ भोजनको प्रयोग नगर्ने, कहिलेकाहीँ सिमित मात्रामा सम्झाएर यस्ता भोजन दिने तर दिँदा आज तिमीले गरिष्ठ खाना खाँदैछौ भनेर सम्झाउने अभ्यास कामलाग्दो हुन्छ । यो मेरो आफ्नै अनुभव हो । घरमा ५ वर्ष पुगेकी नातिनीसँग मैले यो अभ्यास गरेर सफल भएको छु । चिनी, नून, मैदा, पोलिस गरेको सेतो चामल सकेसम्म थोरै खानुपर्छ । पटकपटक उमाल्दै सेलाउँदै गरेको तेलमा पकाएको, तारेको, आगोमा पोलेको खानेकुरा पनि राम्रो होइन । तर बजारमा यस्तै चिजको बढी प्रयोग भएका वस्तुको बाहुल्यता छ ।

बजारमा पाइने सबै प्रकारका जुस र कोल्ड ड्रिङ्स चिनीका घोल हुन् । यसमा कृतिम फ्लेवरको मिसावटले कसैलाई के कसैलाई के भनिएको हो । मैदा र नून मिसाएर तेलमा तारिएको खाना चाउचाउ हो । सबै प्रकारका चक्लेटमा चिनीको मात्रा अत्याधिक हुन्छ । यी र यस्ता सबै गरिष्ठ खाना पेट र शरीरका लागि होइन जिब्रो र आँखाको लागि बनाइएका हुन् ।

शरीरको सन्तुलन ठीक राख्न पेट खुसी हुनुपर्छ । पेटलाई चाहिएको सन्तुलित खाना दिनुपर्छ । कार्बोहाइड्रेडको स्रोत चामल (भरसक पोलिस नगरेको) गहुँ, मकै, जौ, आलु, फापर, कोदो, तरुल आदि हुन् । प्रोटिनको स्रोत चिल्लो पदार्थ, दूध, घिउ, पनिर, दही, भटमास, माछा, मासु, अण्डा, सुख्खा फल, गेडागुडी आदि हुन् । भिटामिन र मिनरलको स्रोत हरियो पहेँलो सागसब्जी, तरकारी, फलफूल, गेडागुडी आदि हुन् । फाइवर यिनै खाद्य वस्तुमा प्रकृतिले दिएको हुन्छ । तर फाइवर हटाएर स्वादिलो बनाएर खाँदा पच्न मुस्किल हुन्छ । जस्तै बट्टाको जुसभन्दा ताजा फलको जुस राम्रो, त्यो भन्दा अझै सिंगो फल नै राम्रो । जुस बनाउन फलमा भएको फाइबर हटाइन्छ । झन बट्टाको जुस त चिनीको घोलमा कृतिम फ्लेवरको मिसावटमात्रै हो ।

गरिष्ठ भोजनको किन बिगबिगी छ त ?

मानिसको व्यस्तता बढेसँगै कहिलेकाहीँ तयारी खानाको जरुरत सबैले महशुस गरेका हुन्छन् । बनाउन झन्जट नपर्ने, बोकेर लैजान सजिलो हुने, सजिलै खान पिउनका लागि तयार हुने, समयको बचत हुनेजस्ता कारणले व्यस्त समाजले तयारी खानाको आवश्यकता बोध गर्यो र केही यस्ता उत्पादन शुरु भए । सजिलोको लागि त्यसलाई सहजै अपनाउँदै लगियो । यस्ता खाना प्रयोग गर्नै नहुने भने होइन ।

खान मिल्छ, खान हुन्छ, खुवाउन हुन्छ । तर कति खाने, कहिले कहिले खाने, कसलाई खुवाउने, यसको आवश्यकता कति हो, यसमा पोषण तत्वको अवस्था कस्तो छ आदि बारेमा सचेत भएर प्रयोग गर्दा बेठीक हुँदैन । तर हामी र हाम्रो समाजले यसको सीमा नै देखेको छैन । सरकारले यसको नकारात्मक प्रभाव बुझ्ने र यसलाई नियन्त्रण गर्ने फुर्सद नै पाएन । नाफाका लागि यस्ता वस्तु उत्पादन गर्ने कम्पनीले उपभोक्तामा कस्तो असर पारेको छ भनेर हेर्ने कुरै भएन ।

यो महामारी अर्थात् कुपोषणको महामारीबाट बच्न सरकारले गर्न सक्ने काम थालिहाल्नु पर्छ । पहिलो चरणमा यस्ता वस्तुको विज्ञापनमा रोक लगाउनु पर्छ । अझ उपभोक्तालाई आकर्षित गर्न हुँदै नभएका कुरा जोडेर विज्ञापन गर्ने गरिन्छ । जस्तैः इनर्जी ड्रिङ्स, चाउचाउ, बिस्कुटलाई शक्तिबर्धक भनिन्छ । झन् हर्लिक्सले त ब्रेन तेज पार्छ, उचाई बढाउँछ भनेर सरासर झुट विज्ञापन गरेर उपभोक्ताको दिमाग भुट्ने काम गरेको छ । चिनीका घोलबाट बनेका जुस, कोल्ड ड्रिङ्सको विज्ञापन रोक्नु जनहितमा हुन्छ । पहिले पहिले सूर्तिजन्य वस्तु र मदिराको विज्ञापन खुब गरिन्थ्यो । अहिले त्यो बन्द भएको छ । सार्वजनिक स्थानमा सेवन गर्न रोक लगाइएको छ । यसले स्वास्थ्यलाई हानी गर्छ भनेर लेख्न लगाइएको छ । यस्ता वस्तु उपहार दिन नपाइने नियम छ । यसले मानिसमा एक प्रकारको चेतना विस्तार भएको छ ।

सरकारले सन्तुलित एवं स्वस्थकर खानाको बारेमा र तिनको स्रोतको जानकारी दिन कन्जुस्याईं गर्नुहुन्न । सञ्चार माध्यामबाट पोषणयुक्त खाद्य परिकारको विज्ञापन धेरैभन्दा धेरै दिनुपर्छ । विशेष गरी स्कूलको नजिकमा, अस्पतालको क्यान्टिनमा यस्ता वस्तुको बिक्रीलाई प्रोत्साहित गर्नुपर्छ । गरिष्ठ खाद्य वस्तुको प्रयोग नहुने, नबेच्ने स्थानीय उत्पादनको प्रयोग गरेर सन्तुलित र पोषणयुक्त खाजा र खाना खुवाउने होटल र खाजा घरलाई विशेष प्रोत्साहन गर्नुपर्छ । गरिष्ठ खाद्य वस्तु स्कूलको नजिकमा बेच्न रोक लगाउनु पर्छ ।

भएका उत्पादन तोकिएको गुणस्तर भए नभएको निरन्तर खबरदारी गर्नुपर्छ । अहिले नाममात्रको निगरानी हुने गरेको छ । विदेशबाट आउने यस्ता वस्तुमाथि पूर्ण प्रतिबन्ध लगाउनु पर्छ । स्वदेशमा यस्ता वस्तुको उत्पादनको सीमा अर्थात कोटा तोक्नुपर्छ । कर बढाएर पनि निरुत्साहित र नियन्त्रण गर्न सकिन्छ । बजारमा गरिष्ठ खानाको बोलवाला बढी रहने, यसमा उपभोक्ताको आकर्षण कम नहुने, केही सिमित देशी विदेशी कम्पनीको नाफा र तिनले सरकारलाई बुझाउने राजश्वको भरमा यस्तो चलनलाई छाडा छाडिदिने हो भने जनताको पैसा त उपचारमा जाने नै भयो सरकारले पनि जति नै अस्पताल बनाए पनि भविष्यमा स्वास्थ नागरिक पाउन मुस्किल हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *