शान्तिनगरको ठुटेबर मेला कात्तिक २१ गतेदेखि गरिने
Published:
by .बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ शान्तिनगरस्थित ठुटेबरमा लाग्दै आएको प्रसिद्ध ठुटेबर मेला यो वर्ष यही कात्तिक २१ गते बिहीबारदेखि २७ गते बुधबारसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला त्यो स्थानको पहिचान र विकासका लागि स्थानीयले लगाउन शुरु गरेका हुन् । ठुटेबर मेला ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
स्थानीय युवाको सक्रियतामा गत वर्षहरुमा लाग्दै आएको मेला, यो वर्ष ठुटेबर संरक्षण तथा विकास समितिले लगाउँदैछ । मेला लगाउन शिवकुमार पौड्यालको अध्यक्षतामा ११ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । स्थानीय स्तरमा उपलब्ध कृषि सामग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने ठुटेबर संरक्षण तथा विकास समितिका अध्यक्ष शिवकुमार पौड्यालले जानकारी दिएका छन् ।
पहिले पहिले उखु, तरुल, सुन्तला, बाँसबाट बनाइने डोको, नाङ्लो, थुन्सेलगायतका सामग्री सो मेलाका आकर्षण हुने गरेका बताइएको छ । तर आधुनिकता संगसंगै ती सामग्रीको बिक्रीमा कमी आउन थालेको स्थानीयहरु बताउँछन् ।
आयोजक समितिका अनुसार मेला उद्घाटनसंगै भाषाशास्त्री महानन्द सापकोटाको शालिक परिषरबाट म्याराथुन दौड, विभिन्न जातजातीको साँस्कृतिक झाँकी प्रस्तुत गरिने छ । यसका साथै अन्य दिन बृहत साहित्यिक कार्यक्रम, अन्तर विद्यालय र क्लव स्तरीय साँस्कृतिक कार्यक्रम, विभिन्न खेलहरु र हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको साँगीतिक कार्यक्रम रहने जनाइएको छ ।
यसवर्ष पनि झापा, इलाम, मोरङ, भारतको दार्जीलिङसहित ५० हजार जना हाराहारीले मेलाभर्ने आयोजक समितिको अपेक्षा छ ।
Comments