एनएमसीको मोही मिठो हुन्छ रे, चाख्ने रहर छ ! : नेकपा प्रवक्ता श्रेष्ठ
Published:
by .झापा । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी अभियानले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्नेे बताएका छन् । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको परिप्रेक्ष्यमा अब राजनीतिक दलहरुसँग काम गरेर देखाउनमात्र बाँकी रहेकाले सहकारी अभियान यसको लागि सार्थक बन्नसक्ने उनको भनाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाको बिर्तामोडमा आज आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका श्रेष्ठले जनताको काम गर्न सकिएन भन्नका लागि अब राजनीतिक दलहरुसँग कुनै कारण नरहेको जिकिर गरेका हुन् ।
मन्तब्यको सुरुमै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका नेकपाका प्रवक्तासमेत रहेका नेता श्रेष्ठले प्रधानमन्त्रीको गृह जिल्लाबाटै उनको निरन्तर नेतृत्वको अपेक्षा राख्दै स्वास्थ्यलाभको कामना पनि गरे ।
एनएमसी डेरीको उत्पादन मोही खाएका र मिठो लागेको भनी प्रधानमन्त्री ओलीले समेत प्रशंसा गरेकाले नेता श्रेष्ठलाई पनि मोही खान मन लागेको सुनाए । नेता श्रेष्ठले नेपालको भूगोल, प्रकृति र हावापानी विश्वका एकाध देशमा बाहेक अन्यत्र नरहेकाले यसको फाइदा लिनुपर्ने बताए ।
कार्यक्रममा वीर अस्पतालका प्राडा विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य समस्या बारे प्रस्तुति गरेका थिए । डा. पौडेलले विश्वका ८० लाख मानिसले वर्सेनी सुर्तीजन्य पदार्थको सेवनबाट मृत्युवरण गर्न बाध्य भएको सुनाउँदै नेपालमै २७ हजार मानिस ज्यान गुमाउने बताए ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क केलाउँदै डा. पौडेलले भने, ‘विश्वका तीन करोड मानिसहरु सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर रोगी बनेका छन् । चुरोट, खैनी, हुक्काजस्ता सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सरले २२ प्रतिशत स्थान ओगटेको छ ।’
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुष्करप्रसाद नेपालले ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि सरकारले ऐन, नियम र २ वटा निर्देशिका बनाएको जानकारी गराए । सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि नियम कानून गहकिलो बनाउने तथा करको दर उच्च राख्ने विश्वव्यापी मान्यता रहेको उनले सुनाए । तर नेपालमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको ७० प्रतिशत कर नलिई ३० प्रतिशतमात्र लगाउने गरिएकोले न्यूनिकरणमा ढिलाई भएको उनको भनाई छ ।
बिर्तामोड आसपासका १० वटा विद्यालयबाट विद्यार्थी, शिक्षकसहित एनएमसीका सदस्यहरुको बाक्लो उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रितहरुलाई उपाध्यक्ष भगवती घिमिरेले शाब्दिक स्वागत गरेकी थिइन् ।
सरकार फेरिँदैन
यसैबीच, नेकपाका प्रवक्ता श्रेष्ठले आजै झापा जिल्ला प्रचार विभागले आयोजना गरेको पत्रकार भेटमा जनताको जीवनस्तर माथि उठाउन सरकारले रणनीतिक एवम् दीर्घकालीन काम गरिरहेको जिकिर गरेका छन् । वर्तमान सरकारले संक्रमणकालीन न्यायको काम अघि बढाएको, संघीयता कार्यान्वयन गरेको, कानूनहरु बनाएर समाजवाद उन्मुख समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्यका कारण सरकार फेरिइहाल्ने कुरा अहिले नसोचेको उनको भनाई छ । पूर्ववर्ती देउवा सरकारले आफूखुशी नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई वर्तमान सरकारले २ वर्षभन्दा बढी अवधि निर्वाध काम गर्न दिएर हालै वर्खास्त गरिनुलाई उनले सहमतिमै गरिएको ठान्न सुझाव पनि दिएका छन् ।
Comments