कविताः नारी संघर्ष
Published: (Updated: )
by .नारी तिमीलाई हुने गरेका
पिडा र हिंसा, युगले छरेका
तारा, अहिल्या अनि द्रौपदीका
संघर्षको त्यो इतिहास हाम्रो ।।
हार्दोछ दुस्सासन चिर वस्त्र
तिम्रो खुला केश बनेछ अस्त्र
अन्यायको दोहन गर्नु जुद्धै
प्राचीनमा द्रौपदीले गरे झैं ।।
सीता र गार्गीहरुले हिंडेको
बाटो खुलेको नव चेतनाको
बोलौं समाएर मसाल आफैं
पासाङ्ग ल्हामु भृकुटीहरु झैं ।।
सेवा गराई पति धर्म भन्ने
स्वतन्त्र अस्तित्व कतै नगन्ने
अस्तित्वका लागि लडेर हेरौं
बन्ने छ हाम्रो इतिहास फेरौं ।।
नारी बिना जीवन हुन्छ आधा
त्यै एक पाङ्ग्रे रथ छ बाधा
चल्दैन त्यो सारथीका बलले
स्वतन्त्र अस्तित्व सकार ऐले ।।
अस्तित्व आफ्नो पहिचान खोज्ने
धेरै भएछन् बलिदान रोज्ने
आवाज सारा बटुलेर आयौं
संघर्षले जे अधिकार पायौं ।।
बत्ती बलेको छ शिखा बनेर
कालो धुवाँ भित्र प्रकाश हेर
दासत्वको नेल अझै छ बाँकी
औजार बोकौं सुविचार राखी
(आमा कविता संग्रहबाट साभार गरिएको, अपलोड गर्दा असावधानीवश अन्यथा नाम पर्न गएकोले सच्याइएको छ । सम्पादक)
Comments