Sajhamanch Archive

कविताः बोल्नै पर्ने भयो ……………. !!

Published: in लोकप्रिय, शिक्षा, by .

पाल्तु कुकुरले झैं स्वामीभक्ति देखाउन
पुच्छर हल्लाए झैं ठूला पदमा आसिन थुप्रैले
अस्मिता लुटिँदा चुँसम्म बोलेनन्
उस्ले केही खुवाएकोथ्यो होला र त !
मुख खोल्नै पर्नेले केही बोलेनन् ।।

तल्ला गाउँको मिचाहा लवस्तराले
हलो कोल्ट्याएर सिमाना कोतरेकोथ्यो
झार तासेको मात्र हो भन्दै
जङ्गेलाई अलिक ओर सारेथ्यो
सुताहा शासकका कान र आँखा बन्द थिए
र त लिपुलेक र कालापानी दुखिरहे !!

इतिहास साक्षी छ
सिखहरुलाई चिड्याएकाले
शरीरभरी प्वालै प्वाल बनाइ दिए
शक्तिको अर्को रुप इन्दिरालाई
तामिललाई उचालेर श्रीलंका बिथोल्दा
पाप धुरीबाट चिच्याएथ्यौ
र त बम फूटे झैं शरीर फूटेथ्यो राजिवको ।।

बिसौँ शताब्दीको अतिवादी हिटलर झैं बनेका
कपाल सेतै फूले पनि विचार कालो भएका
तल्ला गाउँका हे फटाहा बादशाह
कार्गिल युद्धमा साथ दिने वीर गोर्खालीको
छातीमा परेड खेल्ने तिम्रा दुस्वप्नको
जवाफ अब गोरखालीले दिनेछन् ।।

आफ्नो विर्ताको रक्षा गर्ने बहानामा
हाम्रो जग्गाको कित्ताकाट गर्न नआउ
विष्णुले हिरण्यकस्यपुको छाती च्याते झैं
तिम्रो वेइमान छाती च्यात्नु पर्ला !!

वीर विराङ्गनाले बसोबास गरेको
यो पूण्य तपोभूमि हो
शिवले झैं रौद्ररुप धारण गरेको दिन
तिम्रा दम्भ र सनकिले जोडेको जग्गाको
कहिल्यै नसमिटिने गरी कित्ताकाट गर्नु पर्ला !?

खबरदार ! लेण्डुपहरु हो
यो सिक्किम हैन, स्वाधिन नेपाल हो
गोर्खालीको नाममात्र सुन्दा पनि सनकीहरु काँप्दछन्
त्यही जाति हो नि खुकुरी चम्काउँदै जाइ लाग्दछ
र मुला काटे झैं काला मन र विचारहरुलाई
छानी छानी मौलामा हालेर काट्दछ ।।

फेरि पनि भन्दैछौँ, लिपुलेक र कालापानी मात्र हैन
काङ्गडादेखि टिष्टासम्म हाम्रो हो
जस्तो छ जिम्मा लगाएर पछि हट
अहिलेलाई तिम्रो लागि यही नै राम्रो हो ।।

२०७६/७/२३

(कवि पाठक दुर्गा मावि गरामनीका प्रधानाध्यापक हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *