आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लब समूहलाई नेम्वाङको आह्वान
Published:
by .मेचीनगर । तत्कालीन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताले जनताकै लागि बनाएको संविधानमार्फत् सबै विचारलाई अटाउन सकिने भएकाले प्रतिबन्धित विप्लब समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउन आह्वान गरेका छन् ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २७औं वार्षिक साधारणसभाको उद्घाटन समारोहका प्रमुख अतिथि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले यस्तो आह्वान गरेका हुन् । सबै विचारलाई अटाउन सकिने संविधान निर्माणमा विप्लब समूहका मुख्य नेताहरुको समेत सहभागिता रहेको स्मरण गराउँदै उनले अहिले आन्दोलनमा लाग्ने कार्य जायज नहुने सुझाव दिए ।
‘मैले यसअघि नाम उच्चारण नगरी भन्थेँ, आज नामै उच्चारण गर्दैछु, आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउनुहोस्, तपाईंहरुका भावना र चाहनालाई जनताबाट अनुमोदन गराएर चाहेजस्तै परिवर्तन ल्याउनु होस्’ नेता नेम्वाङको आग्रह छ । हतियार र हिंसाको राजनीति त्यागेर संसदमा आउन र चाहेजस्तो परिवर्तन गर्न पाउने अवसरको उपयोग गर्न विप्लव समूहलाई उनको आग्रह छ ।
सहकारी अभियानप्रति मेरो दृष्टिकोण सकारात्मक छ भन्दै नेता नेम्वाङले भने, जनताले जनताको संविधान बनाउँदा हामीले सहकारीलाई संस्थागत गरेका छौं । देशलाई आर्थिक समृद्धिको मार्गमा डोहोर्याउन सहकारीको भूमिका महत्वपूर्ण र अपरिहार्य छ । एनएमसीको बारेमा आफूले केही जानकारी लिएर आएको बताउँदै नेम्वाङले भने ‘लोकतान्त्रिक विधि, मान्यता र प्रक्रियाअनुसार एनएमसीले यो उचाई प्राप्त गरेको रहेछ, संस्थाको बहुउद्देश्यीय अभियान सफल हुनेमा म विश्वस्त छु ।’
‘सहकारी संस्थाहरुले राज्यलाई बुझाउनु पर्ने आयकरको दर ऐनमा नै उल्लेख भए पनि बहुउद्देश्यीय सहकारीहरुसहित कृषि, उपभोक्तालगायतले पुरानै दरमा तिरिरहनु परेको विषयमाथि म सम्बन्धित मन्त्री, मन्त्रालय एवम् प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँछु’ नेता नेम्वाङले विश्वास दिलाए ।
साधारणसभाको उद्घाटन समारोहमा प्रदेशसभाका सदस्य गोपालचन्द्र बुढाथोकीले देशको अर्थतन्त्रको विकासमा सहकारीले महत्वपूर्ण टेवा पुर्याएको बताउँदै कतिपय सहकारीले आँट गर्न नसकेका कृषि परियोजनामा पनि एनएमसी सफल देखिएको बताए । उनले भने ‘सरकारले कृषिजन्य उत्पादनमा जोड दिएको छ, व्यवहार र नीतिमा तालमेल नमिल्दा खेत अझै बाँझै छन्, कृषिमा यान्त्रिकरण र भू–उपयोग नीतिअनुसार कृषिमा आत्मनिर्भर बन्न जरुरी छ ।’
अर्का वक्ता प्रदेशसभाका सदस्य तथा संस्थाका संस्थापक सदस्य श्रीप्रसाद मैनालीले प्रदेश सरकारले सहकारी ऐन पारित गरेको बताउँदै सबै सहकारी संस्थाहरुलाई पालिकास्तरमा तोकिएअनुसार नै आयकर कार्यान्वयन गराउन प्रमुख अतिथिको ध्यानाकर्षण गराए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले साधारणसभा सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सञ्चालक सदस्य ठाकुर शिवाकोटीले सञ्चालन गरेको उद्घाटन समारोहमा आमन्त्रित अतिथिहरुलाई संस्थाका उपाध्यक्ष भगवती घिमिरेले शाब्दिक स्वागत गरेकी थिइन् ।
साधारणसभाको अवसर पारेर एनएमसी स्वास्थ्य समितिले सञ्चालन गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको समितिका संयोजक दिलीप सुवेदीले जानकारी दिएका छन् ।
Comments