छात्रको युनिफर्ममा भादगाउँले टोपीः लिटलस्टारको स्तुत्य कार्य
Published:
by .बुद्धशान्ति । टोपी पहिरिनु नेपालीको गौरव हो अनि नेपालीको शान पनि । टोपीलाई राष्ट्रिय पोशाकको एक अंश र एकताको प्रतीक अनि सांस्कृतिक सम्पदा पनि मानिन्छ । टोपीले पुरुष मान्छेको व्यक्तित्व पनि बढाउँछ ।
टोपीका पनि विभिन्न प्रकार र नामकरण गरिएको पाइन्छ । माक्कले टोपी, तेह्रथुमे ढाकाटोपी, छत्रे टोपी, पाल्पाली ढाकाटोपी, बिर्खे टोपी, कानेटोपी, भादगाउँले टोपी आदिआदि ।
नेपालमा हजारौं वर्ष अगाडिदेखि नै टोपी लगाउने गरिएको इतिहास छ । तर हिजोआज प्रायः नेपालीको शीरमा टोपी देखिन छाडेको छ । चियागफ नै सही, नेपालीमा टोपी लगाउने परम्परा हरायो, राष्ट्रियता कमजोर हुँदै गयो भन्ने सुनेका बालबालिकाको मस्तिष्कमा राष्ट्रि«यताको रङ भर्न बुद्धशान्तिको एक विद्यालय अग्रसर बनेको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका बुधबारेस्थित लिटलस्टार इङलिस स्कूलका छात्रहरुको पोशाकमा भादगाउँले टोपी अनिवार्य गरिएको छ । १० कक्षासम्म पढाई हुने सो विद्यालयका छात्रहरु भादगाउँले टोपी (बोलीचालीको भाषामा कालोटोपी) लगाएर विद्यालय आउँछन् ।
हरेक दिन टोपी लगाएर विद्यालय आउँदा शारीरिक रुपमा सुन्दर मात्र होइन, सांस्कृतिक मौलिकता पनि झल्कने गरेको विद्यालयका प्रिन्सिपल सरोज घिमिरेको भनाई छ ।
‘कक्षा ७ देखि १० सम्मका छात्रहरुका लागि पोशाकमा कालो टोपी लगाउने व्यवस्था मिलाइएको छ’ विद्यालयका संस्थापक गंगाप्रसाद निरौला भन्छन्, ‘जुन परिपाटीले समाजमा सकारात्मक प्रभाव परेको सुझाव आएकाले आगामी शैक्षिक वर्षदेखि कक्षा ३ देखि नै लागू गरिने योजना बनाइएको छ ।’
हिजोआज मौलिक भेषभुषा हराउँदै गएको र यसले पछिल्लो पुस्तालाई अनौठो आभाष दिलाएकाले पनि छात्रहरुलाई विद्यालय आउँदा टोपी लगाउने प्रचलन शुरु गरेको संस्थापक निरौलाको भनाई छ ।
शुरु शुरुका दिनमा टोपी लगाएर विद्यालय आउँदा गाउँघरका साथीले जिस्काउने गरेकाले आफूलाई लाज लागे तापनि अहिले तिनै साथीहरुले सम्मान गर्न थालेको विद्यालयमा गठित बाल क्लवका अध्यक्ष पुरन महतको अनुभव छ । उनी भन्छन्, ‘युनिफर्ममा कालोटोपी लगाउँदा साँच्चै राम्रो देखिएको छु कि जस्तो लाग्ने गर्दछ ।’
सो विद्यालयमा हरेक हप्ता उद्घोण, नृत्य र संगीतको कक्षा सञ्चालन हुने गरेको छ । जसले विद्यार्थीहरुमा भएको क्षमतालाई वृद्धि गर्न साथै प्रस्फुटन गराउन मद्धत पुगेको व्यक्तित्व विकासको कक्षा गराइरहेका शिक्षक सरोज पौडेलको भनाई छ ।
गतवर्षबाट बालक्लव गठन गरिनु तथा विद्यालय व्यवस्थापनले पनि अतिरिक्त क्रियाकलाप गर्न थालेपछि विद्यार्थीहरु नियमित आउने र विद्यालयका गतिविधिमा उत्साहित हुने गरेको बाल क्लवका अध्यक्ष पुरन बताउँछन् । यो सबै उत्साहका लागि छात्रहरुको शीरमा देखिने कालोटोपी पनि आकर्षण बनेको हुनुपर्छ, बाल क्लवका अध्यक्ष महतको अनुमान छ ।
Comments