Sajhamanch Archive

धार्मिक पर्यटकसँगै महोत्सवमा भेटी थपिँदैः प्रशासनले तेर्सायो अंकुश

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

झापा । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको सताक्षीधाममा कात्तिक २७ गतेदेखि सञ्चालित १०८ कुण्डीय कोटिहवन तथा धार्मिक महोत्सव हजारौं श्रद्धालुको उपस्थितिमा निरन्तर भइरहेको छ ।

पर्यटन वर्ष २०२० का लागि देशका घुम्नयोग्य ठाउँहरुको सूचीमा रहेको सताक्षीधामको प्रबर्धनका लागि सताक्षीधाम धार्मिक महोत्सव आयोजना गरिएको आयोजक समितिका सदस्य महेन्द्र भट्टराई बताउँछन् ।

२०४२ सालमा झापाको सुरुङ्गा नजिकै कनकाई माईको किनारामा (हाल कोटिहोमले परिचित ठाउँमा) योगी नरहरिनाथको अगुवाईमा कोटी हवन गरिएको थियो । सोभन्दा पछि सताक्षीधाममा उतिबेलाको भन्दा भव्य तरिकाले कोटिहवन भइरहेको समितिका सदस्य भट्टराइले बताए ।

१३ दिवसीय १०८ कुण्डीय कोटिहोम पूर्वमा हालसम्म कै ठूलो धार्मिक कार्यक्रम भएको आयोजकको दावी छ । सोचेको भन्दा पनि बढी दर्शनार्थीको धार्मिक महोत्सवमा सहभागिता रहेको आयोजकको ठम्याई छ । महोत्सव अवधिभर ५ लाख दर्शनार्थी भित्राउने आयोजकको लक्ष्य छ । नेपालसहित भारत, बंंगालादेश, भुटान, स्कटलेण्ड, सिंगापुर, अमेरिकाबाट पनि दर्शनार्थीहरु आउँदै गरेको समितिका सदस्य भट्टराइको भनाई छ ।

मंसीर ९ गतेसम्म सञ्चालन हुने सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय श्री गोपाल महायज्ञ कोटिहोममा अपेक्षाकृत भेटी संकलन भएको आयोजक समितिले जनाएको छ । तर सताक्षीधाम मन्दिर विकास समितिको वैधानिकता माथि नै प्रश्न उठेपछि जिल्ला प्रशासन कार्यालयले आर्थिक संकलन नगर्न आज सचेत गराएको छ ।

२०६७ साल पौष १७ गते निर्वाचित समितिले अहिलेसम्म साधारणसभा नगरेपछि संस्थाको वैधानिकता र गतिविधिमा प्रश्न उठेको हो । कार्य समितिको चार वर्षे अवधिमा एकपटक पनि वार्षिक साधरणसभा गरिएको थिएन । सोभन्दा पछि हालसम्म पनि साधारणसभा नगरिएकाले समितिको वैधानिकता माथि प्रश्न उठेको हो ।

‘पर्यटन वर्ष शुरु हुनुभन्दा एक महिना अघि सञ्चालित धार्मिक महोत्सवले सताक्षीधाम आउन जो कोहीलाई पक्कै लालयित गर्नेछ’ आयोजक समितिका संयोजक झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको विश्वास छ ।

एउटा कुण्डमा ४ जना पण्डित राखेर १०८ कुण्डीय हवन भइरहेको छ । धार्मिक महोत्सवमा दमकको ओम साइराम कीर्तन मण्डलीको प्रतिनिधित्व गर्दै आएका दिपेन्द्र दाहाल भन्छन्, ‘१०८ कुण्डीय हवन अहिलेसम्म नदेखिएकोले यस्तो पवित्र तीर्थस्थलमा आउन पाउँदा खुशी हुनाको साथै आफू पनि पवित्र भएको महसुस गरेको छु ।

१०८ कुण्डीय हवनमात्र नभएर विभिन्न ऐतिहासिक महत्व रहेको यो पवित्र ठाउँमा पाइला टेक्न पाउँदा मनै खुशी भएको छ । सबैलाई यो धार्मिक महोत्सवमा सामेल हुन बिर्तामोड नगरपालिका वडा नं. ९ की पवित्रा खरेल अनुरोध गर्छिन् ।

सताक्षीधामको महत्व हिन्दू धर्मका प्राचीन ग्रन्थहरुमा समेत वर्णन छ । श्रीमद् भागवत गीता, चण्डी, श्री स्वस्थानी ब्रत कथाजस्ता ग्रन्थमा सताक्षीधामको वर्णन छ । भगवान शिवले पार्वतीसँग विवाह गर्दा सताक्षीधामबाट जन्ती लिएर गएको किंवदन्ती छ ।

पूर्व पश्चिम राजमार्गमा पर्ने झापाको झिलझिले चोकबाट साढे पाँच किलोमिटर उत्तर सताक्षीधाम पुगिन्छ ।

(सताक्षीधामबाट फर्केर) 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *