‘बाल शल्यचिकित्सा सेवा जिल्ला जिल्लामा पुर्याउनु पर्छ’ : डा. देवकोटा
Published: (Updated: )
by .विगत ३० वर्षदेखि चिकित्सा क्षेत्रमा क्रियाशील डा. केपी देवकोटा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल काठमाडौंका मेडिकल डाइरेक्टर हुनुहुन्छ । कान्ति बाल अस्पतालबाट चिकित्सकीय सेवा यात्रा सुरु गर्नुभएका उहाँले सो अस्पतालमा २२ वर्षसम्म बाल शल्य चिकित्सकको रुपमा काम गर्नु भएको थियो । सोहीबीचमा सुरु भएको ओम अस्पतालमा पनि उहाँले विगत २५ वर्षदेखि निरन्तर काम गरिरहनु भएको छ । सिनियर कन्सल्ट्यान्ट पेड्रियाटिक सर्जरी एण्ड पेड्रियाटिक युरोलोजी डा. के. पी. देवकोटासँग साझामञ्चका सम्पादक गोपाल काफ्लेले बालबालिकाको शरीरमा जन्मँदैदेखि देखिएका विकृत समस्याहरुमा केन्द्रित रहेर कुराकानी गर्नुभएको छ ।
डाक्टरसाव, हाइपोस्पेडिया कस्तो किसिमको समस्या हो ?
एक किसिमले भन्नुपर्दा यो जटिल नै केष हो । यसलाई जटिल भन्नुभन्दा पनि डेलिकेट भन्नु उपयुक्त हुन्छ । अप्रेसनको केष पनि अलि डेलिकेट नै हो । तर हाइपोस्पेडिया अब कमन समस्या बनिसकेको छ । ३०० साढे ३०० छोरा मान्छे जन्मँदा एउटाले यस्तो केष लिएर आउँछ । कसैले ठूलै विकृति लिएर आउँछन् त कसैले सानो । यो अनुसन्धानले नै पुष्टि गरेको तथ्याङ्क हो । मलाई लाग्छ देश मै यो समस्या लिएर बस्ने प्रशस्त छन् । किनभने यसले दुःख दिँदैन र बाबुआमालाई यसबाट टेन्सन हुने कुरो पनि हुँदैन । कतिपयले थाहा पनि पाउँदैनन्, यो पिसाब सम्बन्धी भएकाले त्यति वास्ता पनि गरेकोजस्तो लाग्दैन । यस्ता समस्या बोकेका मानिस समाजमा धेरै छन् ।
हाइपोस्पेडिया भनेको एउटा जन्मजात विकृति हो । लिङ्गको टुप्पाबाट पिसाब आउनु पर्नेमा त्यहाँबाट नभई अरु ठाउँबाट आउनु नै जन्मजात समस्या हो । यसले मानिसको जीवनमा त्यति असर नगरे पनि गुणस्तरीय जीवनलाई चाहिँ धेरै प्रभाव पार्छ । यसलाई ध्यान दिएर करेक्सन गर्ने हो भने जीवनका लागि राम्रो हुन्छ । त्यतिमात्र होइन, मानिसलाई साइकोलोजिकल असर पनि पर्छ । करेक्सन वा अप्रेसन गर्नु जरुरी हुन्छ । यो एउटा सानो ठाउँमा यति मिहिनेत लगाएर यति होसियारी गर्नुपर्छ कि अप्रेसन सफल होस् तर त्यति गर्दागर्दै पनि विज्ञानले प्रमाणित गरेको छ कि सबै केषमा कोसिस गर्दागर्दै १०० प्रतिशत सफल हुँदैन । १० देखि २० प्रतिशत केषमा चाहिँ समस्या आउँछन् अनि फेरि अर्कोपल्ट अप्रेसन गर्नुपर्ने सम्भावना रहन्छ ।
यो खालको समस्याको उपचारमा नेपालका अभिभावक कति सचेत भएको पाउनु भएको छ ?
पहिला चाहिँ यो समस्याका बारेमा बुबा आमाले धेरै नकारात्मक सोच्थे । हुर्की सकेपछि मात्र समस्या भएछ भनेर उपचार गर्न जान्थे । तर हिजोआज यस सम्बन्धी केही चेतना भएको छ । यस सम्बन्धी उपचार गर्दा हुनेरहेछ भन्ने ज्ञान बढेकाले उपचारमा आउने गरेका छन् । तर पनि यस सम्बन्धी वास्ता नगरी गाउँघरमा बस्ने पनि प्रशस्त छन् जस्तो लाग्छ । किनभने यसबाट ज्यानको खतरा छैन, दुःख दिँदैन । त्यसैले कसले वास्ता गर्ने ?
पेड्रियाटिक सर्जन भई काम गरेको ३० वर्षको अवधिमा बालबालिकाको शरीरका विशेष अंगहरुमा जन्मँदै देखिएका विकृतिहरु कति मात्रामा समाधान गर्नु भयो ?
मैले सरकारी अस्पताल (कान्ति बाल)मा २२ वर्ष काम गर्दा जन्मँदै शारीरिक विकलांग भएका, आंशिक विकृतिहरु भएका अनगिन्ती केषहरु हेरेको छु, जुन सम्झेर पनि साध्य हुँदैनथ्योे । किनभने उतिबेला सरकारी अस्पतालमा बच्चाको शल्यक्रिया गर्ने डाक्टरहरु नै हामी २/४ जनामात्र थियौं । त्यसैले देशभरका बालबच्चाको शल्यक्रिया गर्नुपर्ने केषहरु त्यही कान्ति बाल अस्पतालमा ल्याइन्थ्यो । त्यही मात्र सुविधा सम्पन्न अस्पताल थियोे । बिरामीको ओइरो आउँथ्यो कि अप्रेसन गर्न महिनौ पालो कुर्नुपर्ने अवस्था रहन्थ्यो । जति गर्यो भने पनि नसकिने, इमर्जेन्सी केष पनि उति नै आउँथ्यो । टाढा दूरदराजबाट डोकोमा बोकेर बिरामी ल्याउने गरिन्थ्यो । यस्तो परिस्थितिमा बालबालिकाको शरीरका विशेष अंगहरुमा जन्मँदै देखिएका विकृतिहरु कति समाधान भए भन्ने यकिन तथ्याङ्क राख्नै सकिएको थिएन ।
अहिलेको अवस्था चाहिँ कस्तो छ ?
पछिल्लो समय केही सहज भएको छ । निजी अस्पतालहरुमा पनि शल्यक्रिया गर्न सुरु भएको छ । तर सरकारी अस्पतालहरुमा यस्तो सेवामा जति विकास हुनुपर्ने हो, बालबच्चाको शल्यक्रिया सेवा दिनु पर्ने हो त्यति अझै हुन सकेको छैन । कान्ति बाल अस्पताल बाहेक मलाई लाग्छ अरु सरकारी अस्पतालमा बालबच्चाको शल्यक्रिया गर्ने डाक्टरको दरबन्दी राखेको पाइन्न । सरकारी क्षेत्रबाट जति सेवा दिनुपर्ने हो त्यति दिइराखिएको छैन । अहिले निजी अस्पतालमा पनि पढेर आएका डाक्टरहरु हुनुहुन्छ र प्रविधि पनि अत्याधुनिक भित्राउन थालिएको छ । तर सरकारी क्षेत्रमा विकास भएको पाइन्न ।
यस्तो केषको उपचार विधि यहाँहरुले गर्नुभए जसरी नै अरु देशमा पनि हुन्छ कि, अरु अभ्यास छ ?
किन नहुनु, यसको अप्रेसन अलिकति जटिल तरिकाले नै हुने भएकाले सयौं विधि प्रयोग गरिन्छ । कसैले यो तरिका राम्रो भने, कसैले अर्को तरिका राम्रो भने । त्यही अनुसार हामी पनि यो तरिका राम्रो हो कि त्यो तरिका राम्रो हो भनेर फलो गर्दै जान्छौं । अहिले चलेका जे जति अप्रेसनका प्रक्रियाहरु छन् लगभग उच्च किसिम कै हुन्छन् । ८–१० वटा विधिमा एउटा प्रक्रिया प्रयोग गर्छौं, तर जुन तरिका प्रयोग गरे पनि आफ्नो कन्फिडेन्स जुनमा छ त्यो अप्रेसन विधिको प्रयोग गर्नेगर्छौं ।
उसोभए डाक्टरको कन्फिडेन्स नै शल्यक्रियाको सबभन्दा सफल विधि हो ?
फरक के हो भने, जस्तो पित्तथैलीको अप्रेसन गरेर स्टोन निकाल्छु भनेर जुन सर्जनले गरे पनि प्रक्रिया एउटै हो । काट्नुपर्ने मासु एउटै हो, एउटै तरिकाले गरिन्छ । जस्तै निकाल्ने चिज गलब्लाडर आदि निकाल्न सजिलो छ । तर यस्तो अप्रेसन चाहिँ करेक्टिक सर्जरी अर्थात् रिकन्स्ट्रक्टिव सर्जरी भन्छौं हामी, गर्दाखेरी रिकन्स्ट्रक्सन गर्न धेरै गाह्रो छ । प्रकृति विरुद्ध गएर हामीले बनाउनु पर्यो । त्यो बनाउन र सक्सेस हुनका लागि विभिन्न तरिका अपनाउने कारण चाहिँ यही हो । यो गर्दा राम्रो हुन्छ कि, त्यो गर्दा राम्रो हुन्छ भनेर गर्दै जाने हो । आफूले जुन तरिकाले गर्दा कन्फिडेन्ट हुन्छ, त्यही तरिका अपनाउनु पर्छ । अलिअलि फरक भनेपछि मैले एउटा तरिकाले अप्रेसन गरेँ, भारतको चिकित्सकले अलिक फरक तरिकाले अप्रेसन गर्न सक्लान् तर बेसिक एउटै हो ।
शल्यक्रिया पद्धतिमा अन्तर्राष्ट्रिय र नेपाली परिवेशलाई जोड्न मिल्छ यहाँ ?
हाम्रो नेपालमा र विदेशीलाई तुलना गर्दा उनीहरुको प्रविधि, शिक्षा र अपडेट राम्रो छ । त्यसैले हाम्रोभन्दा उनीहरुको सक्सेस रेट पनि केही राम्रो छ । त्यति भन्दाभन्दै जापान, अमेरिका, चीनमा जहाँ गरे पनि यस्तो शल्यक्रियामा केही प्रतिशत भने कम्प्लिकेसन आउँछ–आउँछ । किन कि पहिला पहिला हामी जापानबाट डाक्टरहरु बोलाउँथ्यौं । विदेशी डाक्टरहरु पनि कान्ति बाल अस्पतालमा आउँथे, हामी पनि उनीहरुले यसको अप्रेसन कसरी गर्छन् सिकाइमाग्थ्यौं । उनीहरूले गर्दा पनि समस्याहरु नआउने चाहिँ होइन । धेरै थोरै मात्रमा भए पनि आउने सम्भावना हुन्छ । विश्वव्यापी रुपमा यो जस्तो प्रविधिबाट गरे पनि समस्या भने आउन सक्छ तर यतिमात्र हो कि उनीहरुको केही कम आउला हाम्रामा केही ज्यदा आउने सम्भावना हुन्छ ।
हाइपोस्पेडियाको शल्यक्रिया गरेको बच्चाको उमेर बढ्दै जाँदा लिङ्गको आकारमा केही प्रभाव पर्छ कि पर्दैन ?
यसलाई चाहिँ फलो नै गर्नुपर्ने हुन्छ । कम्तिमा १२–१४ वर्षसम्मको उमेरसम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ । धेरैजसोको अप्रेसन गरेपछि सोचे अनुसारको साइजमा पुग्छ र कसैको सोचे अनुसारको साइजमा नपुग्न पनि सक्छ । त्यसलाई औषधी सेवन गरेर हुन्छ कि अन्य विधि प्रयोग गर्नुपर्छ, पछि नै थाहा हुन्छ । सुरुमा प्रकृतिले जसरी विकास गर्दै जान्छ त्यहीअनुसार चल्नु पर्छ । साधारणतया पुरुष लिङ्गको विकास १६ वर्षसम्म हुनेगर्छ । हामीले कम से कम सो उमेरसम्म विचार गर्न सकिन्छ । त्यसपछि औषधी सेवन गर्नु पर्ला कि नपर्ला वा मल्हम लगाउँदा हुन्छ भन्ने यकिन गर्न सकिन्छ । तर विश्वास गर्नुस्, लिङ्गलाई साइजमा ल्याउन सकिन्छ ।
अनि उसको प्रजनन क्षमतामा असर गर्छ कि गर्दैन ?
साधारणतया एकैपटकमा अप्रेसन राम्रो भयो भने, यो विकृति बाहेक अरु विकृति रहेनछन् भने फर्टिलिटी १०० प्रतिशत हुन्छ । तर कतिपय अवस्थामा यो सँगसँगै अरु विकृति पनि हुन्छन् । त्यस्तो केषहरुमा भने फर्टिलिटी नहुने सम्भावना पनि रहन्छ । जहाँ अरु अंग ठीक छन् र यो अंगको अप्रेसन गरेर टुङ्गोमा पुर्याइयो भने यसको बाटो राम्रो बनाइ सकेपछि फर्टिलिटीमा समस्या हुँदैन ।
जाँदाजाँदै, डाक्टर सहेब तपाईं अस्वस्थ भएर सेवा दिन असमर्थ हुनुभयो भने नेपालमा अर्को शल्य चिकित्सक कसलाई भेट्नु राम्रो हुन्छ ? मैले जसरी नै सेवा दिन सक्छन् भनेर तपाईले कसलाई रिफर गर्नु हुन्छ ?
२२–२३ वर्ष अघि जतिखेर म कान्ति बाल अस्पतालमा हेड अफ डिपार्टमेन्ट पनि थिएँ, त्यो बेलामा मैले धेरै नै तालिम दिएका डाक्टरहरु अहिले कार्यरत छन् । कोही कान्ति बाल अस्पतालमा नै कार्यरत छन् भने कोही चाहिँ प्राइभेट हस्पिटलतिर काम गरिरहेका छ्न । नेपाल मेडिकल कलेजमा पनि केही डाक्टरलाई तालिम दिएको छु । अहिले मसँगै रहेर एसिस्ट गरिरहेका, मैले नै तालिम दिएको अनि भारतमा पनि थप तालिम लिएका डा. रितेश श्रेष्ठलाई साथ लिएर काम गरिरहेको छु । उहाँ एकजना राम्रो शल्य चिकित्सक बनिसक्नु भएको छ । एउटा पात्र उहाँ हो भने अरु पनि धेरैजना हुनुहुन्छ । जहाँ जटिल केष छ त्यसमा दुई आँखाभन्दा चार आँखाले सर्जरी गर्दा केही सहज हुन्छ ।
हामीलाई समय दिनु भयो, डाक्टर सावलाई धेरैधेरै धन्यवाद । अन्तमा, सिनियर पेड्रियाटिक सर्जनको नाताले आम मानिसलाई के सन्देश दिन चाहनुहुन्छ ?
पेड्रियाटिक सर्जरी भन्नाले जन्मनु अघिदेखि जन्मेको १४ वर्षसम्मका बालबालिकामा गरिने शल्यक्रिया हो । यो सेवा नेपालभर बिस्तार हुन सकेको छैन । राजधानी काठमाडौंमा छ तर राजधानी बाहिर यसको सर्भिस छैन भने पनि हुन्छ । बाल शल्यचिकित्सक त्यता जान पनि चाहँदैनन् । सरकारले दरबन्दी पनि खोलेको थाहा छैन । यसमा अलिकति उदासिनता देखाएको जस्तो लागेको छ । राजधानीमा मात्र नभएर जिल्ला जिल्लामा यसको सेवा बिस्तार गर्नुपर्छ । यसका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्छ । यसको सेवा लिन नपाएका बच्चाहरु नेपालमा धेरै छन् । तिनीहरुको पनि गुणस्तरीय जीवन बाँच्न पाउने अधिकारको रक्षा गरिनु पर्छ ।
Comments