Sajhamanch Archive

एनएमसीमा ‘ट्याक्सेसन इश्युज फेसेस बाई को–अपरेटिभ्स’ बारे अभिमुखीकरण

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले आफ्नो संस्थाबाट गरिने वित्तीय कारोबारमा राज्यलाई बुझाउनु पर्ने कर राजश्वबारे प्रष्ट हुन सञ्चालकसहित कर्मचारीहरुलाई अभिमुखीकरण गरेको छ ।

शुक्रबार बिर्तामोडमा आयोजना गरिएको ‘ट्याक्सेसन इश्युज फेसेस बाई को–अपरेटिभ्स’ शीर्षकमा अधिवक्ता तथा चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले सहजीकरण गरेका हुन् ।

संस्था अन्तरगत शिक्षा तथा तालिम समितिको आयोजनामा संयोजक सावित्रा दाहालले अध्यक्षता गरेको अभिमुखीकरण कार्यक्रममा डेढ सयजनाको सहभागिता थियो । अभिमुखीकरण कार्यक्रमको औचित्यबारे संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको विशेष मन्तब्य रहेको थियो ।

अध्यक्ष उप्रेतीले संस्थाको नारा असल संस्कार र समृद्धिका लागि एनएमसी भनिरहँदा हामीले व्यवहारमा नै यस्तो भावना उजागर गर्नु पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्न सहकारीमा करको अवधारणा सम्बन्धी अभिमुखीकरण गर्न लागिएको बताए ।

सो अवसरमा अभिमुखीकरण गर्दै सिए दाहालले राज्यलाई तिर्नु बुझाउनु पर्ने राजश्व, कर आदि संस्था र व्यक्ति स्वयम्ले निर्धारण गर्नुपर्ने दायित्व रहेको औंल्याए । उनले भने, ‘करको गणना गर्ने स्वयम् व्यक्ति वा संस्थाले नै हो, तर सोसँग सम्बन्धित कर अधिकृतहरुको प्रश्नको सामना गर्ने वा पुष्टि गराउने जिम्मा पनि आफ्नै हुने गर्दछ ।’

आयकर सन्दर्भमा प्रष्ट पार्दै दाहालले व्यावसायिक, रोजगारी, लगानीको आय र आकस्मिक लाभमा आयकर लाग्ने बताए । उनका अनुसार अन्य आयमा कर लाग्ने व्यवस्था छैन । जस्तो– आफ्नो गलामा लगाइरहेको दुई तोलाको सुनको सिक्री खरिद गर्दा एक लाख रुपैयाँ परेको थियो, आज रकम आवश्यक परेर बेच्नु पर्यो । आजको मूल्य तोलाको ७५ हजार रुपैयाँ छ भने सो सिक्रीको मूल्य एक लाख ५० हजारमा बिक्री गरियो । यतिबेला भएको आयमा कुनै कर लाग्दैन, दाहालले प्रष्ट पारे ।

यसरी नै कर्मचारीको तलब कति भएमा कति कर लाग्छ र कस्तो–कस्तो आयमा के कति कर लाग्छ भन्ने पनि सुझाए । अभिमुखीकरणकै शिलशिलामा सहभागीहरुबाट उठाइएका जिज्ञासा र संस्थाले गरिरहेको प्राक्टिसका बारेमा पनि छलफल भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *