Sajhamanch Archive

कविता : प्रयास र समर्पण ……… !!!

Published: in शिक्षा, by .

सजातीय र विजातीय बीचको संघर्ष
धन सम्पत्तिको संकलन र अहंकार
पद प्रतिष्ठाको दम्भ
धर्ती दोहनको कहालीलाग्दो दृश्य
जल, थल र आकास जित्ने होडबाजी
अपवित्र र अप्राकृतिक गठबन्धन
मान्छेले चार किल्ला ठोकेको भूगोल
दैनिकको भागदौड
मपाईंवादको हावा र हुरी
धर्ती गहिरो र उच्च हुनुको रहस्य
पहिला चेतना अनि पदार्थ
पहिला पदार्थ अनि चेतना
यो पिङमा मच्चिरहेका मान्छेका झुण्ड
विचार र सिद्धान्तको छली खाडलमा
उक्लिँदै पछारिँदै गरेका मान्छेहरु
सिँढी चड्ने र लडाउने प्रपञ्च खेल
यस्तै विषय वस्तुको मिमांसामा
डुबेका उनिहरु !?

गन्थन मन्थन भिन्न थिए
तर पनि महाभारत थिएन
न रामलिला देखाएका थिए
खोज सालिन सभ्य थियो
विस्तारित विरासतमा रमाउने
न होड नै चलेको थियो ।

यात्रा नै जिन्दगी हो
अनवरत हिँडिनै रहनुपर्ने
खोज पनि अनन्त नै छ नि
भेट्टाएर कहिल्यै नसकिने ।

खुट्टा गलेका थिएनन्
हिम्मत र साहस मरेको थिएन
अनि कहाँ देखियो र शरीरमा थकान
उही उत्सुक र ताजापन ।

रोमाञ्चक र साहसिक थियो यात्रा
भूकम्प र ज्वालामुखीका संकेत भेटिन्थे
कहीँ मनै लोभ्याउने मनमोहक फूलहरुको संसार
कहीँ पानीको एक बुँद पनि नभेटिने
कहीँ झर्ना नदी नालाको न्यानो स्वागत
कहीँ बिटमारेको बाटो !?

मित्र हृदयभित्र हुन्छ
यही अटुट नाता थियो
प्रयास र समर्पणमा ।

अचानक बाटो च्यातिएर दोबाटो देखा पर्यो
र बाँडिए विचार र सोच पनि
अनि लागे प्रयास ढलानतिर र समर्पण होचोतिर
आ–आफ्ना सोच र लक्ष्यमा रमाउँदै ।

बाटो झन्झन् होचो हुँदै थियो
र त समर्पणको गति पनि बढ्दै गयो
न पीडा थियो न थकाई नै
चिप्लेर लडे पनि बाटो छोटिँदै जाने
लक्ष्य हो बाटोको अन्त्य भेट्ने
हर्षले गदगद थियो मन
पछुतो केही थिएन
भूपरिवेष्ठित सानो ठाउँ
त्यहाँबाट देखिने आकाश
यही थियो समर्पणले खोजेको ब्रम्हाण्ड
लक्ष्य पूरा भएकोमा सन्तुष्ट थियो उ ।

चोट नलागेको ठाउँ थिएन
शरीरभरी रगतले होली खेलेको थियो
भोकप्यासले नगाँजेको कहाँ थियो र
बाटो दोहोर्याएको पनि थियो
न मर्न दिएथ्यो हिम्मत र साहसलाई ।

दुस्साहस सफलताको सिँढी बन्दछ
हज्जारौं हण्डर र ठक्करलाई जितेर
प्रयासले अग्लो चुचुरोलाई चुमेथ्यो
उसको ब्रम्हाण्ड त
अन्त्यहिन फैलिएको देख्यो
रहस्य नै रहस्यको चुचुरोबाट
आफैंलाई धन्यवाद दियो
त्यसैले त प्रयासका लागि
रहस्यको खोज गर्ने विषय बन्यो यो संसार !?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *