हिंसा विरुद्धको अभियानमा चन्द्रदर्शन साकोस
Published: (Updated: )
by .कमल । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत संस्थाका महिला सेयर सदस्यहरुसहित स्थानीय महिला तथा बालबालिकाहरुलाई हिंसा विरुद्ध कानूनी सचेतना गराएको छ ।
कमल गाउँपालिका वडा नं ५ मा रहेको संस्थाको महिला उपसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले सहकारीका माध्यमबाट महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन सकिए समाजमा महिलाहरुले भोग्दै गर्नुपरेका हिंसाका घट्नाहरुमा कमी आउन सक्ने सम्भावना औंल्याइन् । समृद्ध समाज निर्माणका लागि हिंसामुक्त समाज अनिवार्य भएको चर्चा गर्दै अध्यक्ष काफ्लेले महिलाहरु अझै पनि हिंसाको शिकार हुनु परिरहेको जिकिर गरिन् ।
साकोसको महिला उपसमिति संयोजक तथा संस्थाका उपाध्यक्ष उषा भण्डारीले महिलाहरुको नेतृत्व स्थापित नहुन्जेल समाजमा कुनै न कुनै रुपबाट महिलाहरु हिंसा सहन बाध्य हुने बताइन् । सक्षम र सवल महिला नेतृत्व अधिकांश क्षेत्रमा आवश्यक भएकोमा उनको जोड थियो ।
सो कार्यक्रममा अधिवक्ता देवेन्द्र भण्डारीले सहभागी महिला सदस्यहरुलाई महिला हिंसाका प्रकृति, त्यस्ता घटनाहरुमा न्यूनीकरण र विद्यमान कानूनी व्यवस्था लगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा कमल गाउँ कार्यपालिका सदस्य गीता गजुरेल, चन्द्रदर्शन साकोसका अध्यक्ष बालकृष्ण गौतम, कोषाध्यक्ष रोशन दाहाल, अगुवा महिलाहरु गौरा चापागाइँ, चन्द्रकला भण्डारी, शान्ता उप्रेती लगायतको आतिथ्यमा सचेतना कार्यक्रम भएको थियो ।
Comments