‘नेपाल भ्रमण वर्षमा आफ्ना नागरिकलाई बोलाई दिनुहोस्’ : मन्त्री भट्टराई
Published: (Updated: )
by .काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष– २०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।
मन्त्री भट्टराईले राजदुत र वैदेशिक साझेदार संस्थाका प्रमुखहरुलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘यो कार्यक्रम बाहिर होटल अथवा कुनै स्थानमा गर्न सकिन्थ्यो तर मन्त्रालयमै गर्दा सरकार—सरकारबीचको सम्बन्धलाई जोड्ने विश्वासको साथ मन्त्रालय मै गरिएको हो ।’ अब सरकारको विदेश सम्बन्धममा पर्यटन कुटनीति पनि महत्वपूर्ण पाटो रहने उनको भनाई छ ।
भ्रमण वर्ष– २०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण हुन भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरी सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध पनि गरे । ‘नेपाल भ्रमण वर्ष– २०२० को विषयमा यहाँहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु । मेरो अनुरोध छ, आउँदो नयाँ वर्ष— २०२० र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरीदिनुहोस् ।’
मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थीतिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिदै पर्यटनमन्त्रीहरुलाई उपस्थित गराइदिनका लागि पहलकदमीका अनुरोध समेत गरे ।
मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको सुनाउँदै भने, ‘महाभुकम्पको पीडाबाट उठ्न गर्नु भएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौं । अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरुको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौं ।’
मन्त्री भट्टराईले महाभुकम्पबाट भत्किएका भएको नेपालका ८९१ सम्पदामध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिए । बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरुको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्रवान पनि गरे ।
मन्त्री भट्टराईले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामुलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताए । भने, ‘आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामुलक समाज निर्माण गर्नेछौं ।’ मन्त्री भट्टराईले थपे, ‘यही बाटोबाट हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको ‘सुखी नेपालीः समृद्ध नेपाल’को सपना पूरा गर्नेछौं ।’
मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कूल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिँदै १५औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको सुनाए । मन्त्री भट्टराईले अहिले विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको भन्दै अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको जानकारी दिए ।
Comments