Sajhamanch Archive

बिर्तामोड खानेपानी समितिको निर्वाचनमा प्रगतिशील उम्मेदवारहरु सार्वजनिक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही मंसीर २५ गतेका लागि निर्धारित निर्वाचनका लागि प्रगतिशील प्यानलले उम्मेदवारी सार्वजनिक गरेको छ ।

निर्वाचन प्रचार प्रसार समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल सार्वजनिक गरेको हो ।

प्रगतिशील प्यानलको तर्फबाट उपाध्यक्षको उम्मेदवारमा बुद्धिप्रसाद घिमिरे, सचिवमा जनबहादुर जवेगु (जेवी) र कोषाध्यक्षमा कमलप्रसाद पौडेलको नाम सार्वजनिक गरिएको छ ।

यस्तै उपभोक्ता समितिको सदस्य पदका उम्मेदवारहरुमा पुरुषतर्फ शंकरराज ढुङ्गेल र श्रीप्रसाद सिटौला तथा महिला सदस्यमा सिता सापकोटा र हिमादेवी प्रसाईंको नाम घोषणा गरिएको छ । बाँकी एकजना महिला सदस्यका लागि छलफल भइरहेको प्रचार समितिका संयोजक युवराज दाहालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार ज्ञानुराम प्रसाईंले आफूहरु विजयी भएपछि वैकल्पिक उर्जाको प्रयोगबाट खानेपानीको उत्पादन र प्रशोधन गर्ने तथा विद्युतीय महसुलका लागि लागिरहेको रकम बचाएर उपभोक्तालाई हालको दरमा ५० प्रतिशतसम्म महसुल छुट दिने बताए ।

उनले उपभोक्ताले नयाँ अनुहारसहित नयाँ योजना ल्याउने नेतृत्व खोजेको बताउँदै आफूहरु विजयी बन्नेमा विश्वस्त रहेको बताए ।

प्रगतिशील प्यानलका उपाध्यक्षका उम्मेदवार बुद्धिप्रसाद घिमिरेले खानेपानीको गुणस्तरीयतालाई कायम राख्न प्रतिवद्ध रहेको बताए । उनले खानेपानी संस्थाका कर्मचारीलाई तालिम प्रदान गरी छिटो छरितो सेवा प्रवाह गर्नेलगायतका योजना रहेको सुनाए । बिर्तामोड नगरबासीलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पानी सुपथ मूल्यमा उपलब्ध गराउने तथा सुरक्षित पानीको पहुँचमा बिस्तार गरिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *