Sajhamanch Archive

बिर्तामोड खानेपानीको चुनावः जलकुमारको नेतृत्वमा लोकतान्त्रिक समूहको घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौं कार्यकालका लागि नेतृत्वको रस्साकस्सी गर्माएको छ ।

आगामी मंसीर २५ गते हुने निर्वाचनका लागि प्रगतिशील प्यानलको नेतृत्व ज्ञानुराम प्रसाईंले गर्ने भएका छन् भने लोकतान्त्रिक समूहको नेतृत्व पुनः जलकुमार गुरुङले गर्ने गरी आज उम्मेद्वारी सार्वजनिक गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा नेपाली कांग्रेसले लोकतान्त्रिक समूहको उम्मेदवार तय गरे पछि खानेपानीको निर्वाचनले राजनीतिक रङ पाएको छ । अब नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक समूहका उम्मेदवार र नेकपा नेतृत्वको संयुक्त प्रगतिशील प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ ।

लोकतान्त्रिक समूहले आज बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो समूहबाट अघिसारेका नौ सदस्यीय समितिका उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो । लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्ष, उपाध्यक्ष र सचिवका उम्मेदवारहरु हालको समितिबाटै रहेका छन् भने कोषाध्यक्षमा राप्रपाबाट शारदा रिजाललाई अघि सारिएको छ । त्यस्तै महिला सदस्य त्रयमा माया खड्की, बाला खरेल र सिता भट्टराई काफ्ले तथा पुरुष सदस्यमा पारस मैनाली र देवेन्द्र सिटौला रहेका छन् ।

लोकतान्त्रिक समूहको उम्मेदवार घोषणा गर्न आज आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा देशभरका ११० साना सहरी खानेपानी आयोजनामध्ये बिर्तामोडले उत्कृष्ट खानेपानीको अवार्ड दिलाउन सफल भएकाले अबका दिनमा पनि सोही अपेक्षाका साथ टिम निर्माण गरिएको बताइएको छ ।

६ हजार ५ सय उपभोक्ता रहेको संस्थामा उपभोक्ताको माग अनुसार धारा जडान गर्दै जाने, सेवाग्राहीको सहजताका लागि सर्वसुलभ दरमा बोटल्ड वाटर उत्पादन परियोजना सञ्चालन गरिने, पाइपलाइन विस्तार, महशुल भुक्तानीका लागि अनलाइन सेवाको विकास तथा संस्थाको गतिविधि वेबसाइटको माध्यमबाट सार्वजनिक गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता गरिएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक देउकुमार थेवेको संयोजकत्वमा भएको उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार जलकुमार गुरुङले बिर्तामोडबासीलाई गुणस्तरीय पिउने पानी उपलब्ध गराउन आफू रातदिन नभनी खटिरहेको र विधानले दुई कार्यकाल अध्यक्ष बन्न पाउने अधिकार दिएकाले यो अन्तिम पटक उम्मेदवार बनेको बताए ।

सो कार्यक्रममा खानेपानीका संस्थापक अध्यक्ष टोरुप प्रसाईले खानेपानी संस्थामा राजनीतिक रंग लाग्नु राम्रो संकेत नभएको बताउँदै अर्को समूहबाट खानेपानी महसुल घटाउन अघि सारिएको नारा सान्दर्भिक नहुने सुझाव दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *