Sajhamanch Archive

तारापुञ्ज साकोसमा सर्वसम्मत नयाँ नेतृत्व, आजै पदस्थापन गरियो

Published: in समाज, सहकारी by .

मेचीनगर । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था मेचीनगर १३ चारआलीले आगामी चारवर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व पाएको छ ।

संस्थाले गठन गरेको निर्वाचन समितिले १२औं वार्षिक साधारणसभामा सर्वसम्मत चयन भएको नयाँ नेतृत्व घोषणा गरेको हो । अस्ति मंसीर १९ गते साँझ उम्मेदवारीबाट नाम फिर्ता लिने समयभित्रै एक पद एक व्यक्ति रहने गरी सर्वसम्मत गरिएको संयोजक होमराज ढकालले बताए ।

निर्वाचन कार्यक्रममा अध्यक्षका लागि टिकाराम रिजालसँगै अर्जुन पोखरेल झापाली र बिष्णुप्रसाद रिमालले उम्मेद्वारी दर्ता गराएका थिए । पोखरेल र रिमालले उम्मेदवारी फिर्ता लिएपछि रिजाल सर्वसम्मत अध्यक्षमा चयन भएका निर्वाचन समितिका संयोजक ढकालले जानकारी दिए ।

संस्थाको उपाध्यक्षमा दुर्गाप्रसाद निरौला तथा सदस्यहरुमा सबिना बजगाई, प्रकाश चापागार्इं, कुसुम कोइराला, तारादेवी मेचे, मुना श्रेष्ठ, जगत पौडेल, श्रीराम मरासीनी, सन्तोष न्यौपाने र उत्तरकुमार पौडेल सर्वसम्मत चयन भएका निर्वाचन समिति संयोजक ढकालले घोषणा गरे ।

१३ सदस्यीय सञ्चालक समितिमा बाँकी दुईजना सदस्य कार्यसमितिले मनोनयन गर्ने र निर्वाचित सदस्यहरु मध्येबाट अध्यक्षले एकजनालाई सचिव बनाउन सक्ने संस्थाको विधानमा ब्यवस्था रहेको छ ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा मोहनकुमार खतिवडा चयन भएका छन् भने सदस्यहरुमा इन्दिरा सुवेदी खतिवडा र डिल्लीराम कटुवाल (बालकुमार) सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन समितिले नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी सदस्यहरुलाई आजै प्रमाणपत्र प्रदान गर्दै सपथग्रहण गराएको छ । यसरी नै निवर्तमान सञ्चालक समितिका अध्यक्ष लेखनाथ पौडेलले नवनिर्वाचित अध्यक्ष रिजाललाई माइन्युट बुक प्रदान गरेर सदस्थापन गराएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *