Sajhamanch Archive

‘पानीमा शुद्धता तथा प्रविधिमा अग्रसरता हाम्रो संकल्प हुनेछ’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, समाज by .

ज्ञानुराम प्रसाईं, अध्यक्षका उम्मेदवार 

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था 

खानेपानी संस्थाको निर्वाचनमा तपाईको उम्मेदवारी किन ?

तीब्र शहरीकरण एवम् आधुनिकताले बिर्तामोडका घर भवनहरु अझ अग्ला अग्ला बनाइँदैछन् । तर बिर्तामोड खानेपानीको पानी वितरण प्रणाली कमजोर छ । तीन तलामा पनि राम्ररी पानी चढ्दैन । पानीका उपभोक्ताहरुलाई २४सै घण्टा स्वच्छ पिउने पानीको आवश्यकता हुन्छ । बिहान बेलुका बाहेक उपभोक्ताले दिउँसो पानी उपभोग गर्न गाग्रा, बाल्टी वा ट्याङ्कीमा संग्रह नै गर्नुपर्ने अवस्था छ । यसरी अब उपभोक्ताले दुःख पाउनु हुँदैन । पानीको महशुल तिरेपछि आवश्यकता अनुसार उपभोग गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसैका लागि मैले प्रगतिशील प्यानलको नेतृत्व गरेर उपभोक्तामाझ गएको हुँ ।

तपाईंहरुसँग के त्यस्ता योजनाहरु छन्, जसबाट उपभोक्ताले आवश्यकताअनुसार पानी उपभोग गर्न पाउँछन् त ?

जसरी आज खानेपानी वितरणको व्यवस्थापन भइरहेको छ, यतिमा आम उपभोक्ताहरु सन्तुष्ट छैनन् । धेरै पुरानो शैलीमा चलिरहेको संस्थालाई सुधार गर्न आवश्यक छ । आम उपभोक्तालाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउन प्रयोगशाला राखेर दैनिक परीक्षण गर्नुपर्छ । यसका लागि नेतृत्व पनि नयाँ चाहिन्छ । नयाँमात्र भएर पनि पुग्दैन, नयाँ भिजन भएको मानिस जिम्मेवारीमा आउनुपर्छ । साधन स्रोत जुटाउन सक्षम, जुझारु र पारदर्शी चरित्र भएको नेतृत्व चाहिन्छ । विगतमा नेतृत्व गरेका साथीहरुले जानेसम्म र सकेसम्म काम गर्नुभएको छ । तर एउटै मान्छेले सबै कुरा जानेको पनि हुँदैन । अब नयाँ भिजनसहितको नयाँ नेतृत्वले रचनात्मक काम गर्नुपर्छ भन्ने भएकाले हामी तयार भएको हौं ।

तपाईंको नेतृत्वमा संस्था सञ्चालन हुन थालेपछि कस्तो काम गर्ने योजना बनाउनु भएको छ ?

मैले माथि नै भनिसकेको छु कि धेरै लामो समयदेखि एकैखालको नेतृत्व रहेको खानेपानी संस्थामा नयाँ सोच र उर्जा भएको नेतृत्व स्थापित गर्नुपर्छ भन्ने आम उपभोक्ताको चाहनालाई सम्बोधन गर्दै संयुक्त प्रगतिशील प्यानलबाट हामी उम्मेदवार भएका छौं । हामीसँग एउटा दुईवटा होइन, दर्जनौं राम्रा योजना छन् । सुरक्षित खानेपानी र उचित सरसफाईका लागि खानेपानी उपभोक्ता संस्थाको नेतृत्व अत्यन्त महत्वपूर्ण सवाल हो । म र मेरो टिमले जितेपछि मुख्यतः खानेपानी वितरण र सरसफाईमा देशकै नमूना बन्नेगरी काम गर्नेछौं ।

खानेपानी उत्पादनमा वैकल्पिक उर्जाको प्रयोग गरी विद्युतीय उर्जा खपत कम गर्नेछौं र आजसम्म विद्युत महसुलमा भइरहेको खर्च न्यूनीकरण गरी उपभोक्ताले तिर्नुपर्ने पानी महशुल घटाउने छौं । पानी वितरणका लागि गुणस्तरीय पाइपलाइन जडान गर्ने तथा चुहावट नियन्त्रण गर्नेछौं । अहिले अव्यवस्थित तरिकाले वितरण गरिएको खानेपानीको मासिक महसुल र जडान खर्च ज्यादै महँगो भएको आम उपभोक्ताको गुनासो छ । हामी जित्नासाथ महसुल र जडान खर्च २५ प्रतिशतसम्म घटाउनेछौं ।

शुद्ध पिउने पानी पाउनु नागरिकको मौलिक अधिकार हो । यसका लागि धारा जडानको माग भए लगत्तै प्रक्रिया पूरा गरेर नयाँ धारा जडान गरिदिनेछौं । नेपाल सरकार, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी ओभरहेड टेङ्कीसहितको नयाँ खानेपानी आयोजना विस्तार गर्नेछौं । खानेपानीको समग्र वितरण व्यवस्थापनमा आधुनिक प्रविधिको व्यवस्था गर्नेछौं । आजसम्म पनि उपभोक्ताले पानी महशुल तिर्न लाइनमा बस्नुपर्ने बाध्यता छ, हामी तुरुन्तै इ–पे प्रविधि जडान गरी घरबाटै महशुल तिर्ने प्रबन्ध मिलाउने छौं । पानीमा शुद्धता तथा प्रविधिमा अग्रसरता हाम्रो संकल्प हुनेछ ।

बिर्तामोड नगरपालिका र वडा कार्यालयहरुसँग समन्वय गरी नगर क्षेत्रभित्र सञ्चालित खानेपानी आयोजनालाई एकीकृत गर्ने, १० वटै वडामा खानेपानी सप्लाई गर्न सक्ने गरी आयोजनाहरु थप गर्ने एवम् सिङ्गै नगरवासीलाई शुद्ध पिउने पानी वितरण गरिनेछ । संस्थाको नाममा सरसफाई पनि जोडिएको छ तर यसतर्फ हालसम्म कुनै काम भएको छैन । अब हामी नेतृत्वमा पुगेपछि नगरपालिका र वडा कार्यालयहरुसँग समन्वय गरी यसतर्फ पनि कदम चाल्नेछौं । बिर्तामोड तथा अर्जुनधाराका सिमावर्ती वडाहरुलाई सरसफाईमा पनि नमूनाका रुपमा विकास गर्नेछौं ।

हिजोका दिनमा तपाईंले के त्यस्तो देखिने गरी काम गर्नुभयो र खानेपानीका उपभोक्ताले तपाईं नेतृत्वमा आउँदा खानेपानी संस्थामा परिवर्तन आउने विश्वास गरुन् ?

तपाईंले सही प्रश्न सोध्नु भयो । म २२ वर्षदेखि यही बिर्तामोडमा रहेर सामाजिक तथा राजनीतिक सेवामा निरन्तर लागिरहेको छु । दर्जनौ संस्थामा विभिन्न पदमा रहेर काम गरिसकेको छु । तत्कालको कुरा गर्ने हो भने, देवी मावि बिर्तामोडको २ वर्ष अगाडिदेखि व्यवस्थापन समितिको अध्यक्ष छु । म व्यवस्थापन समितिमा आउँदा ६० प्रतिशत विद्यार्थी ग्राउण्डमा छाप्रा बनाएर पढ्ने गरेका थिए । अहिले गएर हेर्नुभयो भने त्यहाँ २ वटा भवन निर्माण गरी स्टेजसहितको कार्यक्रमस्थल तथा खेल मैदान निर्माण गरिएको छ । विद्यार्थी संख्या ४ गुणाले वृद्धि गरी सामुदायिक विद्यालयमा नेपालकै दोस्रो प्रख्यात विद्यालय बनाउन सफल भएको छु । अहिले ४ हजारभन्दा ज्यादा विद्यार्थी पढाउँदै आएका छौँ । शिक्षा, स्वास्थ्य, खेलकुद, उद्यमलगायतका क्षेत्रमा मैले योगदान गरेको छु । यो एउटा मात्र उदाहरण हो, हामीले समाजमा पुर्याएको योगदानका यस्ता धेरै उदाहरण छन् ।

बिर्तामोड खानेपानी संस्थामा पनि मैले एक कार्यकाल सदस्यको भूमिका निर्वाहा गरिसकेको छु । म कार्यसमितिमा रहेको बेलामा धेरै धारा जडान तथा पाइप विस्तार कार्य अगाडि बढाएका थियौँ । मैले कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गरेको थिएँ । म जुन जुन संस्थामा काम गर्ने अवसर पाउँछु, त्यसको अहित हुने र आम उपभोक्ताको शीर निहुरिने काम कहिल्यै गर्दिन । आजसम्म बिर्तामोडमा रहेर समाजका लागि मैले जे योगदान गर्दै आएको छु, आम उपाभोक्ताले त्यसको अवश्य मूल्याङ्कन गर्नुहुने छ भन्ने मलाई विशवास छ ।

प्रतिष्पर्धीलाई कुन रुपमा लिनु भएको छ ?

लोकतान्त्रिक संस्कारमा हुर्किएको मान्छे हुँ म । चुनावी प्रतिष्पर्धालाई सहजरुपमा लिन जान्दछु । अध्यक्ष पदमा मेरो प्रतिष्पर्धी जलकुमार गुरुङ मेरो अनन्य मित्र हुनुहुन्छ । यति हो उहाँ धेरै लामो समयदेखि खानेपानी संस्थामा रहनुभयो । उहाँले जानेको र बुझेको हिसाबले जति क्षमता देखाउनु पर्ने हो, देखाइसक्नु भएको छ । उहाँसँग कति क्षमता थियो वा थिएन, यति लामो अवधिसम्म उपभोक्ताले त्यो कुरा थाहा पाइसकेका छन् । अब उहाँले विश्राम लिनुपर्छ । उपभोक्ताहरुले मतादेशमार्फत उहाँलाई विश्राम र नयाँ नेतृत्वलाई अवसर दिनुपर्छ ।

अन्त्यमा मतदातालाई के भन्नु हुन्छ ?

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका सम्पूर्ण मतदाता महानुभावमा मेरो हृदयदेखि अनुरोध छ कि यस पटक मेरो नेतृत्वमा रहेको संयुक्त प्रगतिशील टिमलाई मतदान गरी विजयी बनाउनुहोस् । हामी तपाईहरुको मतलाई खेर जान दिने छैनौं । इमान्दारीपूर्वक ३ वर्ष काम गर्नेछौं । र, तपाईंले चाहेजस्तै २४सै घण्टा तपाईंको घरमा पानी उपलब्ध गराउनेछौं । महसुलमा न्यूनीकरण गर्नेछौं । घरमै बसिबसी पानीको महशुल तिर्ने व्यवस्था मिलाउने छौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *