खानेपानीको चुनावः दलको प्रतिष्ठाको लडाईं
Published:
by .बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही बुधबार हुने निर्वाचनमा उपभोक्ताको मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरु घर दैलोमा पुगिरहेका छन् ।
टोलटोलमा मत माग्न गएका अलग अलग समूह र उम्मेदवारहरुको भेटघाटले मंसीरको चिसोमा पनि बिर्तामोड नगरीलाई तताएको छ । बिर्तामोड खानेपानीको पहुँच क्षेत्रभर उम्मेदवारसहितको समूह पुगेर आफ्नो पक्षमा मतदान गर्न उपभोक्तालाई आग्रह गरिरहेका छन् ।
प्रगतिशील समूहका उम्मेद्वारहरुले प्रचार प्रसारलाई तीब्रता दिँदै निर्वाचनमा आफ्ना गहकिलो एजेन्डासहित नयाँ नेतृत्वले आमूल परिवर्तन गर्ने नारा दिएर घरदैलो गरिरहेका छन् । हालको दरमा पानी महसुलमा २५ प्रतिशतसम्म घटाउने प्रतिवद्धताका साथ नयाँ भिजन बोकेर संयुक्त प्रगतिशील प्यानल आम उपभोक्ता माझ विश्वासको मत माग्दै घरदैलोमा पुगेको हो ।
नेकपा बिर्तामोडका अध्यक्षसमेत रहेका अध्यक्ष पदका उम्मेद्वार ज्ञानुराम प्रसाईसहितको समूहले मतदाताको घरमै पुगेर आफ्ना योजना प्रस्तुत गर्दै भोट मागेका हुन् । प्रसाईको टिमलार्इ राजनीतिक रुपमा अन्य साना दलले साथ दिएका छन् ।
उपभोक्ताको घर दैलोमा पुगेका उम्मेद्वारलाई स्थानीयले नयाँ नेतृत्व आवश्यक रहेकोले विजयको शुभकामना दिएका छन् । खानेपानी तथा सरसफाई नाममात्र भएको सरसफाइको क्षेत्रमा कुनै योजना र नीति नभएको गुनासो ब्यक्त गरेको प्यानलका तर्फबाट उपाध्यक्षका उम्मेदवार बुद्धिप्रसाद घिमिरेले बताए ।
पानीको महशुल घटाउने मात्र नभएर सरसफाइलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने साथै बिल तिर्न जादाँ लाइन बस्नु पर्ने बाध्यताको अन्त्य गर्दै अनलाइन प्रबिधिबाट सहज बनाउने अध्यक्ष पदका उम्मेदवार प्रसाईको भनाई छ ।
यसैगरी लोकतान्त्रिक समूह बनाएर निर्वाचनमा होमिएको जलकुमार गुरुङ नेतृत्वको समूह पनि आज दिनभर मतदाताको घरमा गएर आफूहरुले गर्न थालेका थुप्रै बाँकी कामहरु पूरा गर्न आफूहरुले जित्नैपर्ने भएकाले मतदान गर्न आग्रह गरेका छन् ।
लोकतान्त्रिक समूहमा नेपाली कांग्रेसका जिल्ला सदस्य गुरुङले नेतृत्व गरेको उम्मेवारहरु छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कोषाध्यक्ष पदमा शारदा रिजालले उम्मेदवारी दिएकाले राप्रपासमेतको सहकार्यमा प्यानल बनेको छ । लोकतान्त्रिक प्यानलमा कांग्रेस र राप्रपासहित केही साना दलको समर्थन छ ।
अर्कोतर्फ नेकपा बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईं अध्यक्षका उम्मेदवार छन् । प्रसाई नेतृत्वको प्रगतिशील समूहलाई केही राजनीतिक दलहरुले सहयोग गरिरहेका छन् । यसैले नेकपा र कांग्रेसबाट मुख्य पदका उम्मेदवार रहेकाले दुवैलाई जित्नै पर्ने दवाव छ । यसैले बिर्तामोड खानेपानीको निर्वाचनलाई यहाँका बासिन्दाले जनमत परीक्षणको एउटा अवसर ठानेका छन् भने मुख्य उम्मेदवार सम्बद्ध राजनीतिक दलहरुले प्रतिष्ठाको लडाई नै बनाएको छ ।
Comments