पश्चिमाञ्चल क्याम्पस पोखरामा नाप नक्सा सम्बन्धी स्नाातकोत्तर तहको कक्षा सञ्चालन हुने
Published:
by .काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नाप, नक्सा सम्बन्धी प्रविधिको पढाई स्नातकोत्तर तहमा पनि गरिने जानकारी गराएकी छन् ।
भूमि प्रशिक्षण केन्द्रले नापनक्सा सम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन विषयमा आज मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अन्तराष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । ‘अब नाप नक्सा सम्बन्धी विषयमा स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गरिने छ’ मन्त्री अर्यालले भनेकी छन् ।
नाप नक्सा सम्बन्धी प्रविधी अन्तराष्ट्रिय स्तरको बनाइने बताउँदै मन्त्री अर्यालले अन्तराष्ट्रिय गोष्ठीबाट नाप नक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नविनतम प्रविधि एवं अवधारणाहरूले अध्ययन, अनुसन्धान, उपयोग तथा कार्यान्वयनको क्रममा प्राप्त अनुभवको आदान प्रदान गरी सबै सहभागीहरू लाभान्वित हुने अपेक्षा पनि राखिन् ।
गोष्ठीबाट अन्तराष्ट्रिय सहकार्य र पाठ्यक्रम विकासको विषय अझ बढी चासोको विषय हुने भन्दै उनले केन्द्रले केन्द्रित गर्नुपर्ने क्षेत्रको पाठ्यक्रम विकासमा मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरियङ अध्यन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुन लागेको नाप नक्सा क्षेत्रको स्नातकोत्तर तहको पाठ्यक्रम माथि विज्ञहरूको सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको हो । केन्द्रले विश्वविद्यालयहरूसँगको सहकार्यलाई निरन्तरता दिने मन्त्री अर्यालको विश्वास छ ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले आयोजना गरेको गोष्ठीमा नेपाल, भारत, चीन, टर्की, यूक्रेन, चेक रिपब्लिक, रसिया, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, अफगानिस्तान, मंगोलिया लगायतका १३ देशका सहभागी रहेको केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले जानकारी दिएका छन् । दुई दिनसम्म गोष्ठी चल्ने गोष्ठीमा १५० बढी सहभागी रहेका छन् ।
Comments