Sajhamanch Archive

मेची र जलपादेवीबीच एकीकरणः अब १ अर्ब ६८ करोड रुपैयाँको सम्पत्ती

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

दमक । सहकारी ऐन २०७४ जारी गरिएको तीन वर्षभित्र एक सदस्य एक सहकारी कार्यान्वयनमा ल्याउनु पर्ने बाध्यात्मक व्यवस्थालाई आत्मसाथ गर्दै सहकारी–सहकारी बीचको एकीकरणलाई तीब्रता दिन राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले आव्हान गरेकी छन् ।

झापाको दमकमा मेची सहकारी संस्था लिमिटेड र जलपादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच सम्पन्न एकीकरणको आज औपचारिक घोषणा गर्न आयोजित कार्यक्रमका प्रमुख अतिथि मल्लले यस्तो आव्हान गरेकी हुन् ।

‘हाम्रोजस्तो सानो देशमा प्रारम्भिक सहकारी संस्थाको संख्या अत्याधिक भयो भनेर नेपाल सरकारले पनि एकीकरणलाई महत्वपूर्ण एजेण्डा बनाएको छ’ राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष मल्लले अगाडि भनिन्, ‘सहकारी मन्त्रीले हालको संख्यामा ५० प्रतिशत घटाउने भन्नुभएको छ भने महासंघका अध्यक्षले पाँच हजारको संख्यामा झार्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।’

सहकारी एकीकरणलाई थप व्यवस्थित गर्न सहकारी विभागले पनि १२ वटा गाइडलाइन बनाइसकेको बताउँदै उपाध्यक्ष मल्लले एकीकरणमा सहभागी हुने प्रारम्भिक संस्थाहरुको कर छुट गरेर हुन्छ कि अरु कुनै सहयोग गरेर लचकता अपनाउने भन्ने सम्बन्धमा अन्तिम निश्कर्ष निकाल्न लागिएको पनि बताएकी छन् ।

अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड मेम्बरसमेत रहेकी उपाध्यक्ष मल्लले नेपालमा सहकारीका उत्पादनको ट्रेडमार्क नभएकाले विदेश निर्यात गर्न नसकिएको कारण यहाँ उत्पादनमा लाग्न सहकारी अग्रसर नभएकाले महासंघले सो को प्रयत्न गरिरहेको पनि बताइन् ।

मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षता तथा जलपादेवी साकोसका कोषाध्यक्ष मोहन बगाालेले सञ्चालन गरेको एकीकरण घोषणा कार्यक्रममा आमन्त्रितहरुलाई मेची सहकारीका कोषाध्यक्ष पदम थापाले शब्दद्वारा स्वागत गरेका थिए ।

अध्यक्ष भट्टराईले सहकारी एकीकरणको प्रयासलाई सार्थकता प्रदान गरिएकाले अब अभियानका लागि नै कोशेढुङ्गा बन्ने विश्वास दिलाए । ‘सहकारीको संख्या धेरै भएका कारण पूँजी र कारोबार कम हुँदा सदस्यले सोचेजस्तो सेवा नपाएको अवस्थालाई अब अन्त्य गर्दै लगिनेछ’ अध्यक्ष भट्टराईको भनाई छ ।

मेची सहकारी संस्थाकै नामबाट सम्पूर्ण कारोबार गर्ने गरी एकीकरण गरिएको जलपादेवी साकोसबाट आठ करोड रुपैयाँको सम्पत्ती थपिएको छ । मेची सहकारीसँग उर्लाबारीको जल उपभोक्ता संस्था पनि एकीकरण गरिएको छ । ७० लाख रुपैयाँ सम्पत्तीसहितको जल उपभोक्तासँगको एकीकरण घोषणा आउँदो शनिबार उर्लबारीमा गरिनेछ । अब तीनवटा सहकारीको एकीकृत सम्पत्ती एक अर्ब ६९ करोडको भएको संस्थाका व्यवस्थापक खोम बगालेले जानकारी दिए ।

एकीकरण घोषणा कार्यक्रममा संस्थाका व्यवस्थापक खोम बगालेले भने, ‘२५औं वार्षिक साधारणसभाबाट प्राप्त म्याण्डेट अनुसार जलपादेवी र उर्लाबारीको जल उपभोक्ता सहकारीसँग एकीकरण प्रक्रिया पूरा गरी यही पुस १ गतेदेखि एकीकृत कारोबार गरिने छ । अब मेची सहकारीबाट प्रदान गरिँदै आएका सदस्य सेवा सुविधाहरु थपिएका दुईवटै सहकारीका सदस्यले पनि समानरुपमा पाउनेछन् ।’

संस्था एकीकरण समारोहमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले झापामा ४५ अर्बको वित्तीय कारोबार भइरहेको जानकारी गराउँदै सहकारी र स्थानीय सरकारको संयुक्त पूँजीमा नयाँ मोडलको व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको औंल्याए । दुई संस्थाबीचको एकीकरणले राम्रो सन्देश दिएको बताउँदै राज्यका तर्फबाट मर्जरमा जान चाहने सहकारीलाई प्रोत्साहन प्याकेज बनाउनु पर्ने सुझाव दिए ।

सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगर कार्यपालिकाले सहकारी ऐन बनाएर जारी गरिसकेको तथा सहकारी बोर्ड पनि गठन गरिसकेकाले अब छिट्टै अनुगमन, नियमन तथा प्रवद्र्धनका कार्यमा लाग्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *