देश समृद्धिको यात्रामा हिंडिरहेको अर्थमन्त्री डा. खतिवडाको दावी
Published:
by .भद्रपुर । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको आर्थिक बृद्धि तीब्र गतिमा बढिरहेको बताएका छन् । मेची बहुमुखी क्याम्पस भद्रपुरको नवनिर्मित प्रशासनिक भवन उद्घाटन तथा महिला छात्राबास एवम् मानविकी भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन् ।
सन् २०२२ भित्र गरिबीको रेखामुनी रहेका १७ प्रतिशत नागरिकको आर्थिक बृद्धि शतप्रतिशत बढेर सापेक्षतामा पुग्ने गरी आर्थिक बृद्धिको गति तीब्र भएको अर्थमन्त्री डा. खतिवडाको दावी छ । उनले विश्वका १० तीब्र आर्थिक बृद्धि हुने देशभित्र नेपाल पर्न सफल भएको दावी गर्दै समृद्धिको यात्रामा देश लागिसकेको प्रष्ट पारेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले ४५ वर्ष अगाडिको मेची क्याम्पस र आजको समयमा देखिएको अवस्था बीचको अन्तर स्मरण गर्दै शिक्षामा विज्ञान र प्रविधिको प्रवेश अनिवार्य रहेको धारणा राखे । उनले सीपमा आधारित शिक्षामा सरकार लगानी गर्न तयार भएको सुनाउँदै शैक्षिक रूपान्तरणका लागि शिक्षा नीति परिमार्जन गरिने प्रष्ट पारे । उनले वित्तीय संघीयता कार्यान्वयनमा आएको एकवर्ष मात्र भएकोले विगतका कतिपय बहुवर्षे आयोजनाका काम रोकिएकोले छिट्टै काम सुचारू हुनेसमेत बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूर्वउप प्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सम्बोधन गर्दै संघीयता कुनै व्यक्ति वा दल विशेषको फाइदाका लागि नभएको धारणा राखेका छन् । नेता सिटौलाले बहुसंख्यक जनताको हितमा संघीय राज्य व्यवस्था रहनुपर्ने भन्दै अहम र दम्भले देश र जनताको भलाई नहुने जिकिर गरेका छन् । नेता सिटौलाले मेची क्याम्पसको देनलाई स्मरण गर्दै प्रजातन्त्र तथा लोकतान्त्रिक परिवर्तनमा सपूत जन्माउने सर्वहाराका छोराछोरीले उच्च शिक्षा दिलाउने पवित्र स्थल भएको बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्टार डिल्लीराम उप्रेतीले समयानुकुल विज्ञान र प्रविधिमैत्री शिक्षणमा त्रि वी लागीपरेको प्रष्ट्याउँदै शिक्षण सुधारमा निरन्तरता दिने धारणा राखे । उप्रतीले आवश्यक संकाय र विषय राखिने तथा अनावश्यक संकाय र विषय हटाउने अभियानमा त्रिवीले काम गरिरहेको जानकारी समेत दिए ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा. डा. पृथ्वीविक्रम राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख कमल गुरागाईले वार्षिक गतिविधिसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सहप्राध्यापक कृष्ण मैनालीले सञ्चालन गरेको कार्यक्रममा पूर्व सांसद सुधिरकुमार सिवाकोटी, कर्मचारी संघका क्याम्पस इकाई सभापति कमलसिंह राजवंशी, प्राध्यापक संघका सभापति पुण्यप्रसाद खरेल, स्ववियु सभापति भुवन बुढाथोकीलगायतले मन्तव्य राखेका थिए ।
यसैबीच भद्रपुर ८ नम्बर वडा कार्यालयले दक्षिण झापाको गौरवका रूपमा रहेको चन्द्रगढी विमानस्थल सार्न भूमाफियाले चलखेल गरेको भन्दै अर्थमन्त्री डा. खतिवडालाई ज्ञापनपत्र बुझाएको छ । वडाध्यक्ष गौरव सुब्बा मनोजको नेतृत्वमा गएको टोलीले डा. खतिवडालाई दक्षिण झापाको समृद्धि खोस्न १०० विगाह जमिनको हल्ला मच्चाएर माफियाको चलखेल भएकोले अबिलम्ब रोक्न मागगरी ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझेपछि मन्त्री खतिवडाले विमानस्थल सार्न खोज्ने माफिया बारे अध्ययन गरेर कारवाही प्रकृयामा लगिने बचन दिएका छन् ।
Comments