Sajhamanch Archive

कर्णाली साकोसको २०औँ वार्षिकोत्सव तथा शिवगञ्जमा १९औं शाखा सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, सहकारी by .

शिवसताक्षी । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २०औँ वार्षिकोत्सव आज शिवगञ्जमा सम्पन्न गरेको छ ।

संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई सम्मान गर्नुका साथै बाल विकासमा अध्ययन गर्ने ३५ जना बालबालिकाहरुलाई लत्ता कपडा र शैक्षिक सामाग्री प्रदान गरेको छ ।

संस्थाले आजदेखि शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा १९औं शाखाका रुपमा नयाँ कार्यालयसमेत सञ्चालनमा ल्याएको छ ।

संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी प्रमुख अतिथि रहेका थिए ।

वार्षिकोत्सवको अवसरमा मन्तब्य राख्दै प्रमुख अतिथि दर्लामीले राज्यलाई समृद्धिमा लैजान सहकारी अति नै बलियो माध्यम भएको बताए । उनले राज्यले पनि सहकारीलाई सहयोग गर्नु जरुरी रहेको धारणा राखे ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकालाई लत्ता कपडा तथा स्टेशनरी प्रदान गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यको सांसद दर्लामीले प्रशंसासमेत गरे ।

सहकारीमा बचत गरेर धेरै मानिसहरूको आर्थिक टेवा पुगेको उदाहरण दिंदै आम मानिसहरूले बचत गर्ने बानीको विकास गर्नु जरुरी रहेको सांसद दर्लामीको सुझाव थियो ।

सो कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल, समाजसेवी ढुण्डीराज गुरागाईं, झापा जिल्ला सहकारी संघका सदस्य सन्तोषकुमार मैनालीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

संस्थाको झिलझिले सेवा केन्द्रका संयोजक चन्द्र पौडेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव भुपाल बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *