सहारा नेपाल साकोसको स्थानीय साधारणसभा धमाधम
Published: (Updated: )
by .बिर्तामोड । सदस्य संख्या तथा वित्तीय कारोबारका आधारमा नेपालको ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौटको कार्यक्रम निरन्तर चलिरहेको छ । बिर्तामोड सेवा केन्द्रले आज अर्को स्थानीय साधारणसभा सम्पन्न गरी २५ जना प्रतिनिधि छानेको हो ।
यही पुष २६ गते बिर्तामोडमा गरिने २३औं वार्षिक साधारणसभामा सहभागिताका लागि प्रतिनिधि चयनसँगै साधारणसभा प्रतिवेदनमाथि सदस्यहरुमाझ छलफल गरेको हो । स्थानीय साधारणसभाका सदस्यहरुमाझ संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले सञ्चालक समितिको तर्फबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसरी नै वार्षिक प्रगति प्रतिवेदन सञ्चालक सदस्य शुक्रबहादुर तामाङले, आर्थिक प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन विभागीय प्रमुख ईश्वर भट्टराईले र प्रतिनिधि छनोट कार्यविधि सञ्चालक सदस्य हेमराज गिरी (राजु)ले प्रस्तुत गरेका थिए ।
संस्थाको वार्षिक प्रगति प्रतिवेदनमा गत आर्थिक वर्षमा ८ अर्ब ५६ करोड ८२ लाख १९ हजार ९३४ रुपैयाँको वासलात बनाएको उल्लेख गरिएको छ । संस्थामा एक लाख ४३ हजार ४३५ जना शेयर सदस्य रहेको तथा असार मसान्त २०७६ को शेयर पूँजी एक अर्ब २४ करोड ९६ लाख ११ हजार २०० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहारा साकोसले गत आर्थिक वर्षमा चार अर्ब ६१ करोड ६३ लाख आठ हजार ४१९ रुपैयाँ निक्षेप संकलन गरेको थियो भने छ अर्ब ६५ करोड ७५ लाख ८० हजार १९३ रुपैयाँ ऋण लगानी गरेको संस्थाका सञ्चालकहरुले सदस्यहरुमाझ विवरण प्रस्तुत गरेका थिए ।
२३औं वार्षिक प्रतिवेदनमा सामाजिक सुरक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तरगत दुई हजार ८१९ जना सदस्यहरुलाई छ करोड ४४ लाख २३ हजार १८३ रुपैयाँ सुविधा रकम प्रदान गरिएको जनाइएको छ । संस्थाले दशकर्म तथा वार्षिकी, परिवार राहत, स्वास्थ्य उपचार सेवा, खान पुगोस् दिन पुगोस्, संजीवनी, सहारा हाम्रो गौरव र एकल महिला प्रोत्साहन गरी ७ वटा सामाजिक सेवाक्षेत्रमा काम गरिरहेको छ ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपाध्यक्ष ओलीले संस्थाले वर्षभरि गरेका कार्यक्रम र वित्तीय कारोबारका बारेमा प्रष्ट पारेका थिए ।
बिर्तामोड सेवा केन्द्र प्रमुख घनश्याम रायाले बिर्तामोड सेवा केन्द्रको वित्तीय अवस्थाको बारेमा तथ्याङ्क प्रस्तुत गर्दै प्रष्ट पारेका थिए । बिर्तामोड सेवा केन्द्र सहयोग समितिका संयोजक रामप्रसाद रोकाले आमन्त्रितहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका संचालक समिति सदस्य शुक्रबहादुर तामाङले गरेका थिए ।
संस्थाले आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानमा गत मंसीर २७ गतेदेखि पुष १२ गतेसम्म ३८ वटा स्थानीय साधारणसभा गरी केन्द्रीय साधारणसभाका लागि प्रतिनिधि छनोट गरिरहेको बिर्तामोड कार्यालय प्रमुख रायाले जानकारी दिएका छन् ।
Comments