Sajhamanch Archive

औधोगिक मेलाले स्थानीय उत्पादनको प्रवद्र्धन हुने अपेक्षा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

मेचीनगर । यही पुष ९ गतेदेखि १७ गतेसम्म मेचीनगरको धुलाबारीमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवले अन्तर्राष्ट्रिय व्यापार प्रवर्धनमा विशेष सघाउ पुर्याउने आयोजकले विश्वास व्यक्त गरेका छन् ।

आज महोत्सवस्थल धुलाबारीमा आयोजक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी तथा व्यवसायीहरुले महोत्सवबाट अधिकतम् फाइदा लिन सकिने विश्वास व्यक्त गरेका हुन् । त्यसका लागि स्थानीयस्तरमा उत्पादित कृषि उपज तेस्रो देश निर्यातमा सरकारी तहबाट पहल हुन जरुरी रहेको उनीहरुको भनाई छ ।

पत्रकार सम्मेलनमा मेचीनगर प्रमुख विमल आचार्यले पूर्वी क्षेत्रको व्यापार प्रबर्धनमा महोत्सवले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘महोत्सवबाट हामीले थुप्रै फाइदा लिन सक्छौँ,’ नगरप्रमुख आचार्यले भने, ‘पूर्वी नाकाबाट भइरहेको व्यापारलाई उत्साहजनक रुपमा बढाउन महोत्सव सहयोगी बन्नुपर्छ ।महोत्सवलाई मनोरञ्जनसँगमात्र नजोडेर व्यापार र पर्यटनसँग जोड्नपर्छ ।’

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष केशवराज पाण्डेले निर्यात व्यापारका सम्बन्धमा कुरा उठाउने माध्यम महोत्सव बन्नुपर्ने धारणा राखे । नेपालको निर्यात व्यापार खस्किँदो अवस्थामा रहेको बताउँदै उनले यसलाई उकास्नका लागि सबै क्षेत्रको सहयोग र पहल जरुरी रहेको बताए ।

‘पूर्वी नाकाबाट निर्यात गर्न सकिने बस्तुहरु सहज ढङ्गले हुन सकिरहेको छैन,’ उनले भने, ‘व्यापार प्रबर्धन गर्न केन्द्र सरकारको नीति र भिजन चाहिन्छ, यसरी व्यापार कसरी उकास्न सकिन्छ ?’ उनले बङ्गलादेशसँगको व्यापार सम्भावना प्रशस्त रहे पनि त्यस अनुरुप काम हुन भने नसकेको बताए ।

पत्रकार सम्मेलनमा मेची उद्योगा वाणिज्य सङ्घका पूर्व अध्यक्ष विजय डालमियाले तेस्रो देशसँगको व्यापार अपेक्षाकृत हुन नसकेको बताए । उनले निर्यात व्यापारका विषयमा मन्त्रालयसँग पटक–पटक छलफल भएपनि कार्यान्वयन हुन नसकेको उनको भनाई छ । ‘हामीले धेरैपटक उद्योग तथा वाणिज्य मन्त्रीलाई भेटेर छलफल गर्यौँ,’ उनले भने, ‘तर मन्त्रीहरु फेरिएसँगै ती योजना अलपत्र पर्ने गरेका छन् ।’

पत्रकार सम्मलेनमा मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले महोत्सवको तयारी पूरा भएको जानकारी दिए । उनले महोत्सव स्थलको भौतिक संरचना निर्माणको काम दू्रतगतिमा भइरहेको र ८ गते बेलुका सम्ममा स्टलहरु निर्माण सम्पन्न भइसक्ने बताए ।

अध्यक्ष तिम्सिनाले २१० वटा स्टलहरु बुकिङ भएको साथै राष्ट्रिय कलाकार पनि तय भइसकेको बताए । सङ्घका महासचिव ध्रुव कनालले महोत्सवमा स्टल राख्नेहरुको प्रस्ताव धेरै आइरहेकाले त्यसको व्यवस्थापन गर्न आयोजक समिति लागि परेको बताए ।

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको छ । महोत्सव अवधिभर व्यापार तथा पर्यटनका विषयमा छलफल पनि गरिनेछ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सार्क राष्ट्रहरु सहित बर्माबाट समेत स्टल रहने गरी अन्तर्राष्ट्रिय स्तरको महोत्सव गर्न लागिएको हो । महासचिव कनालका अनुसार १२ वटा अन्तर्राष्ट्रिय व्यवसायीयका हुनेछन् ।

स्थानीय वस्तुहरुको व्यापार प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइने एवम् बजार मूल्यभन्दा स्टलबाट बिक्री गरिने वस्तु र सेवामा विशेष छुट दिइने योजनासहित महोत्सवलाई महत्वको बनाइने संघका अध्यक्ष ऋषिराम तिम्सिनाले जानकारी दिए । महोत्सवमा ५ करोड रुपैयाँ हाराहारी कारोबार हुने तथा एक लाख जनाले प्रतक्ष्य अवलोकन गर्ने संघको अपेक्षा रहेको सुनाइएको छ ।

महासचिव कनालका अनुसार औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव २०७६ का लागि आमन्त्रित राष्ट्रिय कलाकारहरुको नाम तय भएको छ । सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका महासचिव कनालले एड्रिन प्रधान, प्रमोद खरेल, मेलिना राई, कमल खत्री, कर्मा ब्याण्ड, मनोज गजुरेल, सुगम पोखरेल, आस्था राउत, राजनराज शिवाकोटी, लाहुरे, डिजे लामा, छेवाङ लामा, निकिता थापा, सेन्डि एण्ड फ्युजनिष्ट, राजा राजेन्द्रलगायत आउने निश्चित भएको जनाए ।

आजै बिहान आयोजक संस्थाले स्थानीय राजनीतिक नेतृत्व, प्रहरी, प्रशासन तथा जनप्रतिनिधिहरुसँग महोत्सवको व्यवस्थापन तथा सफल आयोजनाका लागि छलफल गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *