‘सहकारी शिक्षा’को प्रवर्धन गर्ने तयारीमा झापाको शिक्षा बहुउद्देश्यीय सहकारी
Published:
by .बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको यहाँस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले चालु आर्थिक वर्षमा सहकारी विद्यालय सञ्चालनको विषयलाई प्राथमिकतामा राखेको जनाएको छ । बहुउद्देश्यीय सहकारी संस्था भएकाले बहुआयामिक योजना तर्जुमा गर्दै तिनको कार्यान्वयनमा तदारुकता दिइने संस्थाको लक्ष्य रहेको आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।
संस्थाको सातौँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार संस्थाको कोष ६० लाख रुपैयाँको हाराहारीमा पुर्याइएको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८४ दशमलव १ प्रतिशतले बृद्धि भएको हो । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ७८ लाख ९४ हजार ८१९ रुपैयाँ आम्दानी गरेर एक करोड ६१ लाख २० हजार २८० रुपैयाँ खर्च गरी करपछि १६ लाख ८५ हजार ८१२ रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा करपछिको नाफामा १०७ दशमलव ५३ प्रतिशतले बृद्धि भएको छ ।
संस्थामा दुई हजार ४१९ जना शेयर सदस्य रहेका छन् भने शेयर पूँजी १ करोड ५३ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा शेयर पूँजी ३० प्रतिशतले बृद्धि गरी एक करोड ९८ लाख ९४ हजार रुपैयाँ पुर्याउने लक्ष्य राखिएको अध्यक्ष सुब्रत न्यौपानेले बताएका छन् ।
बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यसहित २०६९ भदौ २५ गते शिक्षा सहकारी संस्थाको स्थापना भएको हो । सहकारी विद्यालय सञ्चालनको अवधारणासहित अगाडि बढेको संस्थाले बिर्तामोड नगरपालिका वडा नं. २ हेवन वाटर पार्क दक्षिणतर्फ सहकारी संस्थाको नाममा १० कठ्ठा जग्गा खरिद गरिसकेको छ । यो साधारणसभामा विद्यालय सञ्चालनका लागि प्रस्ताव लगिने जनाइएको छ ।
संस्थाको मुख्य कार्यालय विर्तामोडमा छ भने मेचीनगर–१४ धाइजनमा दुहागढी सदस्य सेवा केन्द्र, अर्जुनधारामा शनिश्चरे सदस्य सेवा केन्द्र र कनकाई नगरपालिकाको दुर्गापुरमा सदस्य सेवा केन्द्र सञ्चालनमा छन् ।
सामाजिक कार्यमा शिक्षा बहुउद्देश्यीय सहकारी
संस्थाले आफ्ना शेयर सदस्यहरुको दुख सुखमा पनि साथ दिँदै आएको सचिव दीपेश धौरालीले बताएका छन् । सहकारीको अन्तर्राष्ट्रिय सातौं सिद्धान्त बमोजिम समुदायका लागि पनि आफ्नो संस्थाले काम गरिरहेको सचिव धौरालीको भनाई छ । सोहीअनुरुप सेयर सदस्य नेत्रकुमारी पौडेलको असामयिक निधन भएकोले उनको नाममा रहेको ऋण रकममध्ये दुई लाख ५० हजार रुपैयाँ कर्जा मिनाहा दिइने प्रस्ताव साधारणसभामा लगिएको छ ।
नेपाल भ्रमण वर्षलाई टेवा पुर्याउने उद्देश्यले यसवर्ष संस्थामा एक लाख रुपैयाँभन्दा बढी शेयर रहेका ५१ जना सदस्यलाई सहकारी अवलोकन भ्रमणका लागि लैजाने तयारी गरेको उनले जानकारी दिए । यसरी नै ‘शिक्षासँग बालबालिका’ कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा सहकारीको कार्यक्षेत्र भित्रका सरकारी विद्यालयमा अध्ययनरत १५० जना बालबालिकालाई यसैसाता न्यानो कपडा वितरण गरिने सचिव धौरालीको भनाई छ ।
यस्तै, ‘शिक्षासँग सगरमाथा टिन्स क्लव’ कार्यक्रम प्रदेश सरकारको अवधारणा अनुसार सगरमाथा टिन्स क्लव गठन भएका र संस्थाको कार्यक्षेत्र भित्रका १० वटा सरकारी विद्यालयलाई चालु आर्थिक वर्षमा प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयसँगको समन्वयमा ५ हजारका दरले सहयोग प्रदान गरिने लेखा समितिका संयोजक युवराज निरौलाले जनाए ।
यस्तै, ‘सहकारी अभियानमा शिक्षा’ कार्यक्रम अन्तरगत झापामा हुने सहकारी अभियानमा संस्थाको निरन्तर सहभागिता हुने तथा जिल्ला सहकारी सङ्घमार्फत सञ्चालन हुने सबै प्रकारका कार्यक्रममा संस्थाले आवश्यकताका आधारमा सहयोग गर्ने नीतिगत निर्णय भइसकेको लेखा समितिका संयोजक निरौलाको भनाई छ ।
क्षितिज नाट्य समूहले बिर्तामोडमा निर्माण गरिरहेको सांस्कृतिक सङ्ग्रहालयसहितको ‘झापा नाटक घर’ का लागि संस्थाका तर्फबाट सहयोग माग गरे अनुसार सबै कर्मचारीको समेत सहभागिता हुने गरी ५१,०००। रुपैयाँ सहयोग गर्ने तयारी गरेको सञ्चालक सदस्य हेमराज मिश्रले पत्रकारहरुलाई जानकारी दिए । यस्तै, ‘शिक्षासँग स्वास्थ्य’ कार्यक्रम अन्तरगत विभिन्न प्राणघातक रोगबाट पीडित भएका शेयर सदस्यलाई उनीहरुको सेयर रकमका आधारमा सहयोग गर्ने कार्यक्रम तय भएको छ । संस्थामा ५० कित्ता शेयर भएका सदस्यले क्यान्सर, मुटु र मिर्गाैला रोग लाग्दा १० देखि २० हजार रुपैयाँ सहयोग पाउँछन् ।
सम्मान र पुरस्कारको घोषणा
संस्थाले विगतदेखि नै प्रदान गर्दै आएको ‘शिक्षा उत्कृष्ट पत्रकारिता पुरस्कार’ यसवर्ष राष्ट्रिय समाचार समितिका संवाददाता एवम् झापा अनलाइनका सम्पादक सन्तोष शर्मालाई प्रदान गरिने भएको छ । नगद ५ हजार १०० सहित सम्मानपत्र प्रदान गरेर शर्मालाई पुरस्कृत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यस्तै, शिक्षा उत्कृष्ट प्रवद्र्धक सम्मान अन्तरगत संस्थाले शेयर सदस्यहरु सुरेश राजवंशी, उमा (उषा) राई, अजयकुमार देव, धर्मेन्द्र राजवंशीलाई तीन हजार रुपैयाँसहित सम्मान गर्दैछ । शिक्षा उत्कृष्ट कर्मचारी पुरस्कारबाट संस्थामा कार्यरत बजार प्रतिनिधि लक्षिमा भूर्तेल पुरस्कृत हुँने जनाइएको छ ।
‘शिक्षा उत्कृष्ट विद्यार्थी पुरस्कार’ अन्तरगत सामुदायिक तथा संस्थागत विद्यालयबाट माध्यमिक परीक्षा एसईईमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोरीछोरीमध्ये समीक्षा बराल, नविनदेव बानियाँ र विकास भट्टराईलाई प्रमाणपत्र र जनही नगद तीन हजार रुपैयाँका दरले पुरस्कृत गरिने अध्यक्ष न्यौपानेले जनाएका छन् ।
यसरी नै उत्कृष्ट बचतकर्तातर्फ कविता खरेल, अनामिका खड्का, सोहन साह, पुनम विक, यमिक लिम्वू, नितेश बजगाईँ, सुशिला कार्की, अल्फोन्स बिष्ट, रवि अधिकारी, अर्जुन सहनी, विशाल आचार्य, पूजा ढकाल पुरस्कृत हुनेछन् ।
एकमुष्ठ मुद्धति बचतमा संस्थाले सरोज गिरी र शेरबहादुर बानियाँलाई पुरस्कृत गर्दैछ भने उत्कृष्ट कर्जा कारोबार गर्ने सदस्यहरु भवानी आचार्य, गीता दर्जी, अर्जुन गिरी, बुद्धिप्रसाद रेग्मी र दीपादेवी इधिङ्गो पनि पुरस्कृत हुने पत्रकार सम्मेलनमा वितरित प्रेसनोटमा उल्लेख छ ।
Comments