धुलाबारीमा आजदेखि महोत्सव सुरु, मुख्यमन्त्री राईले गरे उद्घाटन
Published:
by .मेचीनगर । तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आजबाट धुलाबारीमा सुरु भएको छ । मेची उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन प्रदेश १ का मख्यमन्त्री शेरधन राईले गरेका छन् ।
मुख्यमन्त्री राईले दिप प्रज्वलन गरेर महोत्सव उद्घाटन गरिरहँदा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । मेला उद्घाटन अघि विभिन्न जातजातिको सहभागितामा आ–आफ्नो जातीको भेषभुषामा प्रभातफेरी निकालिएको थियो । आजबाट सुरु भएको महोत्सव पौष १७ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव उद्घाटन पछि बोल्दै मुख्यमन्त्री राईले यो महोत्सव मेचीनगरमा मात्र सिमित नभएर प्रदेशको व्यापार, कृषि ,पर्यटन क्षेत्रका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । महोत्सवबाट देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने मुख्यमन्त्री राईको भनाई छ ।
सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पर्न हातमा हात मिलाएर तीन तहका सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढनु जरुरी रहेको मुख्यमन्त्री राईले बताए ।
उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, कांग्रेस झापाका उपसभापति राम कट्टेललगायतले महोत्सव सफलताको कामना गर्दै आआफ्ना धारणा राखेका थिए ।
महोत्सव उद्घाटन कार्यक्रममा आयोजक समितिका संयोजक भूमि पौडेलले स्वदेशी तथा विदेशी गरेर २०० भन्दा बढी स्टलहरु राखिएको बताए । स्थानीय वस्तुहरुको व्यापार प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइने उद्देश्यले आयोजना गरेको महोत्सवमा एक लाखभन्दा बढीले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको उनले बताए ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन महासचिव ध्रुव कनालले गरेका थिए ।
Comments