Sajhamanch Archive

पुष २९ गते बिर्तामोडमा राष्ट्रिय भाक्का दिवस मनाइँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । कोच राजवंशी समुदायले पुस २९ गते भोलि मंगलबार बिर्तामोडमा ‘राष्ट्रिय भाक्का दिवस’ मनाउने भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बिर्तामोडमा बृहत्त साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाउन लागिएको हो ।

दिवस मनाउनका लागि मञ्च व्यवस्थापन, अतिथि निमन्त्रणा, साँस्कृतिक टोलीहरुको तयारी, भाक्काको विभिन्न परिकारको तयारी गरिसकेको आयोजक समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिएका छन् । भाक्का दिवस कार्यक्रम मंगलबार बिहान ८ बजेदेखि बिर्तामोडको वान स्टप मल अगाडि हुने तयारी गरिएको छ ।

भाक्का कोच राजवंशी समुदायले चिसो (हिउँद) मौसममा खाने प्रमुख परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन सबै जातजातिबीच लोकप्रिय बनेपछि यसलाई प्रवद्र्धनात्मक कार्यक्रमसहित पुस २९ गते भाक्का दिवस मनाउन थालिएको अध्यक्ष राजवंशीले बताएका छन् ।

‘विगतभन्दा यो वर्षको भाक्का दिवसलाई विशेष तरिकाले मनाउने तयारी गरेका छौं’ अभय राजवंशीले भने, ‘आशा छ, मंगलबार बिहान कार्यक्रममा उपस्थित भएर हाम्रा सम्पूर्ण अतिथिहरुले विभिन्न परिकारको भाक्का खानु हुनेछ र, हाम्रो साँस्कृतिक कार्यक्रममा रमाउनु हुनेछ ।’

आम जनमानसले भाक्कालाई जाडोको सिजनमा चोकचोकमा खान पाइने एक सामान्य खाजाको रुपमा लिने गरेपनि भाक्का अग्र्यानिक र स्वास्थ्यका लागि हितकर खाजा भएको राजवंशीले दाबी गरे । भाक्का चामलको पिठोबाट बनाइन्छ । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ ।

चामलको पिठोमा कुनै बस्तु मिसावट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाक्का पूर्ण अग्र्यानिक र स्वास्थ्यकर खाजाको रुपमा परिचित छ । भाक्का दिवस कार्यक्रममा कोच राजवंशी समुदायको परम्परागत विभिन्न स्वादमा भाक्का खानुका साथै कोच लोक सा“स्कृतिक कार्यक्रमको पनि प्रस्तुति रहने अध्यक्ष राजवंशीले जानकारी दिए । यस वर्षको भाक्का दिवस कार्यक्रमलाई प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सहयोग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *