Sajhamanch Archive

पब्लिक साकोसको आहारिसलाग्दो सफलता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

बिर्तामोड । महिलाहरुको अग्रसरतामा सात वर्षदेखि बिर्तामोडमा सञ्चालित पब्लिक बचत तथा ऋण सहकारी संस्थाले छोटो अवधिमा उल्लेखनीय वित्तीय प्रगति गरेको पाइएको छ ।

संस्थाको सातौं वार्षिक साधारणसभामा आज अध्यक्ष प्रमिला गौतमद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमा शेयर पूँजी दुई करोड ५० लाख, कोष दुई करोड सात लाख २६ हजार, निक्षेप मौज्दात १० करोड ४५ लाख ५१ हजार र कर्जा लगानी १७ करोड ५२ लाख ६० हजार रहेको उल्लेख छ ।

संस्थाले गत आर्थिक वर्षमा तीन करोड ७० लाख ६१ हजार ४९ रुपैयाँ आम्दानी गरी दुई करोड ९३ लाख ७३ हजार २९२ रुपैयाँ खर्चेर ७६ लाख ८७ हजार ७५७ रुपैयाँ नाफा आर्जन गरेको अध्यक्ष गौतमले साधारणसभामा सुनाइन् ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गौतमले सदस्यमाझ सामाजिक सुरक्षा तथा बीमा कार्यक्रम सञ्चालन गर्ने, सहकारी अभियानका विभिन्न संस्थाहरुमा निरन्तर आवद्धता जनाउँदै जाने, सदस्य तथा कर्मचारीहरुलाई तालिम र शिक्षाको माध्यमबाट अझ अब्बल बनाउने, सदस्यका छोराछोरी जन्मिँदा एक हजार रुपैयाँ संस्थाले लगानी गरी कोपिला बचत सञ्चालन गरिदिने कार्यक्रमहरु रहेको सुनाइन् ।

जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले स्थापनाकालदेखि नै सदस्यलाई १५ प्रतिशत शेयर लाभांस प्रदान गरिरहेको बताउँदै संस्थाका सल्लाहकार गणेश ढकालले शेयर पूँजीको आधारमा १० प्रतिशत कोष पुर्याउने जिल्लाका थोरै संस्थाहरुको सूचिमा पब्लिक साकोस रहेको जानकारी दिएका छन् ।

झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा उद्घाटन मन्तब्य राख्दै उनले महिलाले नेतृत्व गरेको संस्थाहरुमध्ये पब्लिकको कारोबार र वित्तीय प्रगति उल्लेखनीय रहेको बताए । संस्थाले जिल्लामै आहारिसलाग्दो सफलता गरिरहेकोले अन्य सहकारीले यसको सिको गर्नुपर्ने ढकालले बताए ।

झापालाई सहकारी पर्यटनको हब बनाउन जिल्लाभरका ९१४ वटै सहकारीको महत्वपूर्ण भूमिका हुने जनाउँदै प्रमुख अतिथि ढकालले संस्थाहरुलाई व्यवसायको माध्यमबाट, व्यवस्थापनको माध्यमबाट हेर्नयोग्य बनाउनु पर्नेमा जोड दिए ।

संस्थामा वित्तीय कारोबार गर्ने ३४ जना शेयर सदस्यहरुलाई उपहार तथा प्रशंशापत्र प्रदान गरेर सम्मान गरिएको साधारणसभाको उद्घाटन समारोहमा विष्णुमाया थापा र रामप्रसाद न्यौपानेलाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो ।

संस्थाका कर्मचारी भावना घिमिरेले सञ्चालन गरेको समारोहमा झापा जिल्ला सहकारी संघका सञ्चालक तुलसा कुँवर तथा पत्रकारहरु गोपाल काफ्ले र राजेन्द्र गौतमले आ–आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *