Sajhamanch Archive

बेसहराको उद्धारमा अस्पताल प्रशासन तगारो !!

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

भद्रपुर । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवारिसे अवस्थामा उपचाररत एक महिलाका आफन्तहरु उनलाई लिन नआएपछि मानव अधिकारकर्मीहरूले गरेको उद्धार प्रयास असफल भएको छ ।

शारीरिक रूपमा समेत अशक्त रहेकी ती महिलालाई प्रदेश नम्वर १ सामाजिक विकास मातहत रहेकोको बेसाहाराको आश्रय स्थल माया घर इटहरीमा मानव अधिकारकर्मीले लान लाग्दा अञ्चल अस्पताल प्रशासनले आधिकारिकताको बाहनामा अवरोध गरेपछि उद्धार प्रयास विफल भएको हो ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट आधिकारिक स्वीकृति लिएर अस्पताल पुगेका मानव अधिकारकर्मी विष्णुप्रसाद खरेल, दिपक दास, रेखा अधिकारी र ऋषि चापागाई अस्पताल प्रशासनको असहयोगका कारण रित्तो हात फर्किएका हुन् ।

अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले संरक्षणगृहको आधिकारिक पत्र र त्यहँका जिम्मेवार व्यक्ति लिएर आएमात्र ती महिलालाई हस्तान्तरण गर्ने अडान राखेपछि अधिकारकर्मी फर्किएका हुन् । मेडिकल सुपरिटेण्डन डा. ठाकुरले अस्पतालमा उपचाररत महिलाको उद्धार गर्न सरकारी नियम अनुसारको प्रक्रिया पूरा गरेर आउनु पर्ने अडान राखेपछि उद्धार प्रयास असफल भएको हो ।

उद्धारको प्रयासमा जुटेका दिपक दासका अनुसार प्रहरी प्रशासनबाट उद्धार गर्न स्वीकृति पाए पनि अस्पतालका प्रशासन प्रमुखले बढी आधिकारिकता खोजेपछि उद्धार प्रयास असफल भएको जनाएका छन् । सो विषयमा अस्पताल विकास समितिका अध्यक्ष तथा झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बेसहारा ती महिलाको उद्धार गर्न मानव अधिकारकर्मीलाई सहज बनाउँदै प्रमुख जिल्ला अधिकारीसमेतको प्रशासनिक साथ रहेको बताउँछन् ।

उद्धारको प्रयास असफल भएपछि अधिकारकर्मी दासले दर्जन बढी बेसहारा व्यक्तिहरूको उद्धार गर्दा आश्रयस्थलको आधिकारिकता नचाहिएको तर यस घटनामा आश्रयस्थलको आधिकारिकता खोजिनुले मानवीय सेवामाथि प्रहार गर्न खोजिएको टिप्पणी गरेका छन् ।

राम्ररी बोल्न नसक्ने, आँखा नदेख्ने तथा कानसमेत नसुन्ने ती महिला आफू दार्जीलिङ बजार छेउको बासिन्दा भएको बताउने गर्छिन् । दोहोरो कुराकानी समेत गर्न नसक्ने ती महिलाले आफ्नो नाम डिकी तामाङ भएको बताउँछिन् ।

अधबैंसे उमेर समूहजस्तो देखिने ती महिलालाई झापा प्रहरीले खुट्टा भाँचिएको अवस्थामा असोजमा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *