जिल्ला युवा समिति झापाद्वारा उद्यमी प्रवद्र्धन तथा सम्मान
Published:
by .बिर्तामोड । जिल्ला युवा समिति झापाले चारजना युवा उद्यमीलाई सम्मानसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।
अर्जुनधाराका माछापालक किसान डम्बरलाल चौधरी, हल्दिबारीको प्रगति बोयर फर्मका सञ्चालक गणेश पराजुली, अर्जुनधाराका राजु ढुङ्गेल, दमकका कुखुरापालक खेम भण्डारीलाई नगद ५ हजार रुपैयाँसहित आज सम्मान गरेको हो ।
समितिले समूह बनाएर उद्यम गर्ने झापाका ५ वटा निर्वाचन क्षेत्रका एक एक समूह उद्यमीलाई पाँच लाख रुपैयाँका दरले रकम प्रदान गर्ने निर्णय गरेअनुरुप पहिलो किस्तामा आधा रकम हस्तानतरण गरेको छ ।
झापा क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।
उक्त रकम ती उद्यमी समूहले शून्य प्रतिशत ब्याजदरमा आगामी ५ वर्षसम्म चलाउन पाउने छन् । पहिलो किस्तामा आज उपलब्ध गराइएको दुई लाख पचास हजार रुपैयाँले उद्यमीले संरचना बनाउने छन् भने अर्को किस्ताले उद्यम सुरु गर्नेछन् ।
झारबारी युवा समूह कमल गाउँपालिका, कुखुरापालक विनोद घिमिरे, खतिवडा कृषि समूह भद्रपुर, लगनशिल कृषि समूह कचनकवल, सामुहिक मिलन कृषि फर्म हल्दिबारी, युवा जागरण कृषक समूह कनकाई नगरपालिका गरी पाँचवटा समूहलाई दुई लाख ५० हजार रुपैयाँका दरले रकम प्रदान गरिएको हो ।
यसैबीच, झापा प्राविधिक शिक्षालयको सहयोगमा ३९० घण्टे मोवाइल मर्मतको आधारभूत तालिम लिएका १५ जनालाई प्रमाणपत्र पनि प्रदान गरिएको छ ।
कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष छबिलाल चुँडालले गरेका थिए ।
पुरस्कृत उद्यमीका तर्फबाट गणेश पराजुलीले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा उद्यम विकास सहकारी संस्थाका अध्यक्ष तथा नेफ्स्कुनका केन्द्रीय सदस्य चन्द्रा खड्कालगायतले बोलेका थिए ।
Comments