कोहेडको वार्षिकोत्सवमा सांगीतिक कार्यक्रमसहित विद्यार्थीहरु पुरस्कृत
Published:
by .बिर्तामोड । यहाँस्थित कमनर्स होम फर एजुकेशन (कोहेड) कलेजको २५औं वार्षिकोत्सव तथा नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रम आज सम्पन्न गरिएको छ ।
विद्यार्थीहरुको प्रतिभा प्रस्तुतिसहित सांगीतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम, बोर्ड परीक्षामा उत्कृष्ट विद्यार्थी तथा विभिन्न खेल एवम् गैर शैक्षणिक प्रतिष्पर्धामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेर वार्षिकोत्सव मनाइएको हो ।
क्याम्पस प्रमुख उमानाथ ओलीको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मधुकर सुवेदीको विशेष सहभागितामा आयोजित वार्षिकोत्सवका अवसरमा कक्षा ११ र बिबिएस प्रथम, दोस्रो र तेस्रो वर्षको बोर्ड परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई जनही तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
कलेज टपर भई पुरस्कृत हुने विद्यार्थीहरुमा कक्षा ११ मानविकीबाट सुहानी कर्ण, ब्यवस्थापनबाट कुशल गुरुङ र विज्ञान संकायबाट दिप्सन भण्डारी रहेका छन् । यसरी नै बिबिएस प्रथम वर्षको बोर्ड परीक्षमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने रुजु खतिवडा र मोनिका खड्का, दोस्रो वर्षमा रवि साहा र तेस्रो वर्षमा कलेज टपर चन्द्रशेखर राना मगर पुरस्कृत भएका छन् ।
सो अवसरमा चालू शैक्षिक वर्षमा क्याम्पसले आयोजना गरेको गैर शैक्षणिक क्रियाकलापहरु कविता प्रतियोगिता, हजिरीजवाफ र निवन्ध लेखन एवम् खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरियो ।
कार्यक्रमको पहिलो सत्रमा कार्यक्रमका अध्यक्ष क्याम्पस प्रमुख उमानाथ ओली, अध्यक्ष मधुकर सुवेदी, अध्यापक चन्द्र चौंलागाईं तथा विद्यार्थीहरु निर्जला भट्टराई र मदन भण्डारीले मन्तब्य राखेका थिए ।
कोहेडका भाइस प्रिन्सिपल कमल तिम्सिनाले कार्यक्रममा सहभागीहरुलाई शब्दले स्वागत गरेको कार्यक्रमको सञ्चालन अध्यापक गोपाल काफ्लेले गरेका थिए ।
दोस्रो सत्रमा प्रज्ञा प्रधान र अभिजित दवाडीले सञ्चालन गरेको सांगीतिक कार्यक्रममा दर्जनौं विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरी मनोरञ्जन गराइएको थियो ।
Comments