Sajhamanch Archive

पण्डित रिमालको निधन

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । शनिश्चरे–बिर्तामोड क्षेत्रमा बसोबास गरी सामाजिक एवम् धार्मिक क्रियाकलापमा अग्रणी व्यक्तित्व पण्डित तोयानाथ रिमालको आज देहावसान भएको छ ।

इलामको नामसालिङमा जन्मेर जीवनका उतार चडावहरुसँगै कहिले भारतको आसाम त कहिले झापाको शनिश्चरेलाई आफ्नो कर्मथलो बनाएका रिमालको आज बिहान बिर्तामोडस्थित निवासमा निधन भएको हो ।

मधुमेह, उच्च रक्तचापसँगै केही समयदेखि मिर्गौला रोगले छोए पनि सामान्य ब्यक्तिहरुजस्तै हिजो दिनभर हिडडुल गरिरहेका पण्डित रिमालको आज बिहानै असामयिक निधन भएको जेठा छोरा यादव रिमालले जानकारी दिए ।

८६ वर्षीय पण्डित रिमाल हिजो दिनभर आफ्ना कान्छा भाइ देवनारायणको छैटौं दिनको पुण्यकर्ममा सहभागी भएर अपरान्ह घर आएका थिए । उहाँ साँझ सामान्य अवस्थामा नै सुत्नु भएको छोरा यादबले साझामञ्चलाई बताए ।

‘देश तथा विदेशका विभिन्न स्थानमा सँगसँगै पुराणमा कथा प्रवचन गर्ने सहयात्री पण्डित सूर्यप्रसाद सुवेदीको शुक्रबार भएको असामयिक निधनमा शोक ब्यक्त गर्न शनिबार बिहान निजको घरमै जानुभएको तथा दिनभर भाइको देहावसान पछि भइरहेको दशगात्र कर्ममा सहभागी हुनुभएको थियो तर अचानक आज यस्तो घटना भयो’ जेठा छोरा यादबले सुनाए ।

पण्डित तोयानाथ रिमालका दुई जना छोराहरु यादब र बसन्त हुन् । कान्छो छोरा बसन्त राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को महासचिव हुन् । उनी काठमाडौंबाट सपरिवार आउँदै गरेकाले दाहसंस्कारको कर्म आज २ बजेपछिमात्र हुने जेठा छोरा यादवले जानकारी दिए ।

स्वर्गीय पण्डित तोयानाथ रिमालकी अर्धाङ्गिनी दमयन्ता रिमालको ५ वर्ष अघि निधन भएको थियो । उहाँका तीनजना छोरीहरु टिका न्यौपाने, मेनुका पौडेल र योगकुमारी पराजुली हुनुहुन्छ ।

साझामञ्च परिवारका शुभचिन्तक मित्र बसन्त रिमाल तथा यादव रिमालका पुजनिय बुबा तोयानाथ रिमालको असामयिक निधनप्रति दुःख ब्यक्त गर्दै दिवंगत बुवाको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *