Sajhamanch Archive

हाम्रो नेपाल साकोस र विकल्प उपभोक्ताबीच एकीकरणः एकीकृत साधारणसभा भब्य

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

गौरादह । झापाको बिर्तामोड ४ मा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था र गौरादह २ मा रहेको विकल्प उपभोक्ता सहकारी संस्थाबीच शनिबार गौरादहमा प्रथम एकीकृत साधारणसभा सम्पन्न गरिएको छ ।  २०६८ साल फागुन १६ गते दर्ता भएको विकल्प उपभोक्ता सहकारी संस्था र २०६९ साल साउन १४ गते दर्ता भएको हाम्रो नेपाल साकोसले गत साधारण सभाबाट एकापसमा एकीकरण गर्ने प्रस्ताव पारित गराएका थिए ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ को भावना प्रतिविम्वित गर्दै सम्भवतः प्रदेश १ मा नै पहिलो एकीकृत साधारणसभा भएको आयोजकको दावी छ । सहकारी संस्थाहरु एकापसमा एकीकरण गरिँदै आए पनि सहकारी ऐन र नियमावलीको मर्म एवम् भावनाअनुरुप एकीकृत साधारणसभा गरिएको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले बताएका छन् ।

गत मंसीर १० गते सहकारी विभागबाट दुई संस्थाबीच एकीकरणको काम सम्पन्न गराइएको कार्यक्रममा अध्यक्ष दंगालद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ । दुई संस्थाबीच एकीकरण गरिएपछि संस्थाको नाम हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था कायम गरिएको छ । एकीकृत साधारणसभाले सञ्चालक समितिको सदस्यमा तुलसीराम गौतमलाई चयन पनि गरेको छ । एकीकरण पछि पनि बचत तथा ऋणको मुख्य कारोबार गर्ने निर्णय गरेको हाम्रो नेपालको शेयर सदस्य संख्या अब १२ हजार जनाभन्दा बढी भएका छन् ।

झापा जिल्लाभर कार्यक्षेत्र रहेको र १६ वटा सेवा केन्द्रको स्वीकृति पाएको हाम्रो नेपालका १३ वटा कार्यालय सञ्चालनमा छन् । संस्थामा २ हजार ८०० ऋणि तथा ३ हजार ४०० जना बाल सदस्य छन् भने १२७ जना कर्मचारी कार्यरत रहेको जनाइएको छ । गत पुष मसान्तमा संस्थाको शेयर पूँजी ६ करोड ८० लाख, कोष हिसाब ३ करोड ८९ लाख, बचत निक्षेप ३५ करोड ९२ लाख र लगानीमा रहिरहेको कर्जा ५८ करोड ३५ लाख रुपैयाँ रहेको अध्यक्ष दंगालद्वारा एकीकृत साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

चालू आर्थिक वर्षको अर्धवार्षिक वित्तीय तथ्याङ्क अनुसार संस्थाले ५ करोड ४९ लाख आम्दानी गरी ४ करोड ९९ लाख खर्च गरेर ५० लाख नाफा कमाएको जनाइएको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा गौरादहको सामुदायिक भवनमा आयोजित सो कार्यक्रममा मन्तब्य राख्दै उनले झापाको सहकारी क्षेत्रले नेपालको सिङ्गो सहकारी अभियानलाई समेत मार्गदर्शन गरिरहेको बताए ।  एकीकरणको शिलशिला अन्य जिल्लाको तुलनामा झापामा कम्ती रहेको तथ्य औल्याउँदै महासंघका अध्यक्ष कडेलले प्रतिष्पर्धाको वर्तमान यूगमा एउटै स्थानमा धेरै सहकारी संस्थाहरु सञ्चालन गर्न कठिन हुने भएकाले एकीकरण गर्नुपर्ने आवश्यकता दर्शाए ।

सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका पूर्वअध्यक्ष रमेश पोखरेलले नेपालको सहकारी क्षेत्रलाई गुणात्मक बनाउन ब्यावसायिकतामा जानैपर्ने अनिवार्यता रहेको बताए । विश्वका विभिन्न मुलुकहरुको उदाहरण दिँदै पोखरेलले शुरुशुरुमा हजारौं सहकारी संस्थाहरु खोलिए पनि अन्ततः एकीकृत भएर अब्बल नतिजा निकालिरहेकोले नेपालमा पनि एकीकरणलाई प्राथमिकता दिइएको जिकिर गरे ।

संस्थाका अध्यक्ष दंगालको अध्यक्षतामा आयोजित एकीकृत साधारणसभामा तात्कालीन विकल्प उपभोक्ताका संस्थापकदेखि एकीकरण कालसम्मका अगुवाहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

सहकारीकर्मी तथा पत्रकार डण्डीराज घिमिरेले सञ्चालन गरेको एकीकृत साधारणसभामा विकल्पका संस्थापक सचिव शेरबहादुर कार्की, पूर्वनेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रेम सापकोटा, शुभलक्ष्मी साकोसका सचिव राजु घिमिरे तथा गौरादह क्याम्पसका पूर्वप्रमुख भोजराज दाहालले शुभकामना मन्तब्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *