भ्रष्टाचार मैत्री समाज कहिलेसम्म !
Published:
by .हाम्रो समाजमा मानिसको सफलता भनेको अचेल रुपैयाँ पैसा कमाउनु वा धन कमाउनु भन्ने बुझिन्छ । मानिसको प्रगति उन्नतिको सूचक पनि आर्थिक आर्जन मानिन्छ । अनि ठूलो मान्छे हुन वा गर्वगर्न लायक विषयवस्तु पनि उही धन सम्पत्ती कै वरिपरि (सेरोफेरो)मा घुमेको हुन्छ । धनको महिमा समाजमा सबैभन्दा माथि छ । तर त्यही धन कसरी आर्जन गरेको हो ? कहाँबाट प्राप्त भयो ? कुन स्रोतबाट यत्रो धन सम्पत्ती प्राप्त भयो ? के गरेर यति छिटै यति ठूलो परिमाणमा सम्पत्ती आर्जन गरियो भनेर कतै कसैबाट खोजीनीति हुँदैन । उसले कुन माध्यमले कसरी र के गरी यति धेरै सम्पत्ती जोड्न सक्यो भन्ने कुरा कसैको चासो वा सरोकारका विषय बन्दैन ।
मात्र धन कमाए पुग्छ अरु केही गर्नु पर्दैन । तपाईं सफलताको सिंढी चढ्न थालिहाल्नु हुन्छ । जति धेरै धन सम्पत्ती जम्मा गर्न सकियो त्यति नै तपाईं सफल भइहाल्नु हुन्छ । तपाईंको चरित्र, नैतिकता, इमानदारिता, परिश्रम, शिक्षा वा ज्ञान तपाईंको सफलाको सूचक बन्दैन । उन्नति प्रगतिको आधार पनि यी होइनन् । यस्ता मानवीय गुणहरु नभए पनि यदि धेरै धनार्जन गर्न सक्नुभयो भने समाजले तपाईंलाई सफल व्यक्तिमा गन्दछ । उन्नति प्रगति भएको ठान्छ । अब यस्तो समाजलाई के भन्ने ?
हाम्रो समाजमा भ्रष्टाचार बढ्नुको मूल पनि यही मानिन्छ । सम्पत्तीमा सर्वत्र हाइहाइ, विपत्तिमा कोही छैनन् दाजुभाइ ! उखान त्यसै बनेको होइन रहेछ । ठूलो महल, नोकरचाकर घरभिटा प्रसस्त, गाडी घोडा हवाई जहाजमा सयर, ठूलठूला कुरा, अकूत सम्पत्ती अनि कालोधन । हो यही हो हाम्रो उन्नति प्रगतिको मापक ! यही हो सफलता ! यस्तो किन हुन्छ ? मलाई ताजुव लागेको छ । कसैमा कति ज्ञान – गुण छन् ? सीप, कला, विचार छन् कि छैनन्, कसैलाई मतलब छैन । धन कमाउन सकेन भने उ असफल मानिन्छ । कसैले मान सम्मान इज्जत गर्दैनन् । उसको परिचय बन्दैन । अस्तित्व देखिँदैन । समाजका भद्रभलाद्मी गनिँदैन । यसरी बाँचिरहेछन् अनगिन्ती महान मानवहरु हाम्रो समाजमा बहिस्कृत बनेर ।
अनि कसरी हुन्छ हाम्रो मुलकको उन्नति र प्रगति ? किन बढ्दैन त भ्रष्टाचार ? सदाचारीहरु तिरस्कृत छन्, गुपचूप छन् । तिनको चासो न सरकारलाई छ न राजनीतिक दललाई, न नागरिक समाजलाई । भ्रष्टाचारी, अनाचारी, दुराचारी, व्यभिचारी, बलात्कारीहरुको जगजगी छ यहाँ । अनि त तिनैको सम्मान अभिनन्दन पनि हुन्छ दिनहँ । सरकार र सत्ता तिनैले चलाउँछन् । साँच्चै भन्नुपर्दा राजनीतिक दल र तिनको सरकार, मन्त्रीहरुलाई त्यही कालो धनवाला व्यभिचारी, बलात्कारीले चलाउँछन् । सदाचारी, ज्ञानी र दानीहरु अपमान सहेर बाँच्न बाध्य छन् । ज्ञान, सीप दक्षता, विचार, कला कौशलको समाजमा कुनै मूल्य छैन । यी सबलाई धन सम्पत्तीले घप्लक्क छोपेको छ । भ्रष्टाचारी घाँटीभरि फूलमाला लाएर हिँड्छ । दुराचारी बलात्कारीलाई यत्रतत्र स्वागत सत्कार छ । मञ्चमा आसन छ । तिनकै लामा लामा भाषण छन् । जनता अबुझ विचारा, तिनकै पछि ताँती लाग्छन् ।
यस्तो घिनलाग्दो छ हाम्रो समाज व्यवस्था । भ्रष्टाचारी मैत्री छ हाम्रो अर्थव्यवस्था । यहाँ मानवताको ख्याल गरिन्न । असल, इमान्दार, सत्यवादी, नैतिकवान, कर्तव्य परायण, परिश्रमीहरुको कुनै मूल्य छैन । सत्य, धर्म, प्रेम शान्ति अहिंसा, दया, क्षमा जस्ता मानवीय चरित्रहरुलाई समाजमा कुनै स्थान छैन । ती माथि धनले शक्तिले शासन गरिरहेछ । यस्ता मानवीय गुणहरु अब बाँचिरहन कठिन छ । हाम्रो समाजमा असल सोझो, सरल सामान्य दुखजिलो गरी बाँच्नलाई कठिन छ । अब श्रमजीवी परिश्रमीहरुलाई बाँच्न धौधौ छ । वातावरण भ्रष्टचारमय अनैतिक र हिंस्रक छ । कसरी बाँच्ला अब सत्य, न्याय र धर्म र सर्वत्र कालोबजारी छ । बैंकहरु कालोधनले भरिभराउ छन् । सीमा नाकाहरु तस्करका कब्जामा छन् । जालीझेली बदमास अपराधीहरु समाजको नेतृत्व गर्छन् । खै यो के देख्न परिरहेछ ? कहिलेसम्म धैर्य गर्नु पर्ने हो अथवा त्यो दिन नै नआउने हो ? केही भन्न सकिएन ।
(लेखक मनकामना कलेज बिर्तामोडका सहायक क्याम्पस प्रमुख हुन् ।)
Comments