Sajhamanch Archive

‘अटोरिक्सामा’ म्यूजिक भिडियो सार्वजनिक

Published: in टिप्स/जानकारी, मुख्य समाचार, लोकप्रिय, शिक्षा by .

बिर्तामोड । झापामा बजाज कम्पनीको अटोरिक्साका बिक्रेता हलेंसी ट्रेड लिङ्कका प्रोपाइटर चूडामणि पौडेलको रचना ‘अटोरिक्सामा’ नामक गीतको म्यूजिक भिडियो आज बिर्तामोडमा सार्वजनिक गरिएको छ ।

झापा, काठमाडौं र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको ‘अटोरिक्सामा’ गीतको म्यूजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र कलाकार बन्दना आचार्यले मोडलिङ गरेका छन् । करिब ५ मिनेटको उक्त भिडियोमा अटोरिक्सा चालकको पेसा र प्रेमलाई प्रस्तुत गरिएको छ ।

अग्रज पत्रकार चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा विमोचित म्यूजिक भिडियोको बारेमा चर्चा गर्दै उनले गीतका रचनाकार, संगीतकार, गायक अनि मोडल कलाकारको प्रशंशा गरे । संगीतले समाजलाई जोड्छ भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको भन्दै भण्डारीले लोकलयमा आधारित अटोरिक्सामा गीत र सो को म्यूजिक भिडियो उत्पादनमा संलग्नहरुको कामको सम्मान गर्नुपर्ने बताए ।

म्यूजिक भिडियोका उत्पादक तथा गीतका रचनाकार चूडामणि पौडेलले आफू लामो समयदेखि संगीत सिर्जनामा लागिरहेको र हालसम्म एक सयभन्दा बढी गीत रचना गरिसकेको जानकारी दिए । पौडेलकै अध्यक्षतामा आयोजित विमोचन कार्यक्रममा बोल्दै उनले प्रिज्मा एडभर्टाइजिङको सम्पादनमा म्यूजिक भिडियो निकालिएको बताए ।

अडियो रेकर्डिङदेखि म्यूजिक भिडियो उत्पादन गर्दासम्म तीन लाख रुपैयाँ खर्च भएको जानकारी गराउँदै पौडेलले गतवर्ष नै ‘मनको रहर’ भन्ने गीति एल्बम निकालेको बताए । ‘आजको सहभागिताले अब त्यसमा संग्रहित गीतहरु पनि सार्वजनिक गर्ने रहर पलाएको छ’ पौडेलले भनेका छन्, ‘झापामै बसेर पनि कलाकारिता गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु पनि आफ्नो उद्देश्य हो ।’

पत्रकार तिलक योञ्जनले सञ्चालन गरेको म्यूजिक भिडियो विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र उपाध्यक्ष राजु न्यौपानेले आ–आफ्ना भनाई राखेका थिए ।

सो कार्यक्रममा गीतका गायक सन्तोष शिवाले आफू वास्तवमै अटो रिक्सा चालक भएको बताउँदै आफ्नै पेसासँग जोडिएको गीत गाउन पाउँदा खुशी भएको बताए । उनले चूडामणि पौडेल कै प्रेरणामा संगीतमा आफ्नो पुनरागमन गरेको बताए । पहिले पनि चूडामणिको रचनाका गीतहरु आफूले गाएको बताउँदै गायक शिवाले भने, ‘आज जुन स्टेजमा छु, चूडामणि कै कारण छु, नत्र म त अटो रिक्सा चालक मात्र रहने थिएँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *