Sajhamanch Archive

चीनको वुहानमा कोरोना संक्रमण शून्य, अन्य देशमा मृत्युदर बढ्दै

Published: (Updated: ) in विविधा by .

झापा । नोबल कोरोना भाइरस (कोभिड १९)को इपिसेन्टर चीनको वुहानमा संक्रमण शून्यमा झरेको छ ।

गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा हिजो बुधबार शून्य संक्रमण देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार वुहानका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाएको हो ।

शून्य संक्रमण देखिएको खबरले कोरोना विरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । मंगलबार १३ को ज्यान गएकोमा बुधबार ८ संक्रमितको ज्यान गएको छ । कोरोनाका कारण ३ हजार २३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६२२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।

इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

कोरोना भाइरसबाट इटलीमा एकैदिन ४७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३१९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ ।

योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २५९ ले मात्रै कम हो ।

बीबीसीका अनुसार, इटलीमा ३५ हजार ७१३ मानिस संक्रमित छन् । ४ हजारभन्दा बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

 

स्पेनमा १०५ र इरानमा १०७ जनाको मृत्यु

स्पेनमा २४ घण्टामा नै १०५ जना मानिसको ज्यान गएको छ । योसँगै स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६३८ पुगेको छ ।

कोरोनाको प्रकोप फ्रान्समा पनि फैलँदो क्रममा छ । बुधबार मात्रै यहाँ ८९ भन्दा बढी मानिसको ज्यान गएको छ । कुल मृत्युदर २६४ पुगेको फ्रान्समा ९ हजार १३४ जना संक्रमित छन् ।

उता, मध्यपूर्वको देश इरानमा पनि कोरोना टाउको दुखाइको विषय बनेको छ । त्यहाँ बुधबारमात्रै १०७ जना मानिसको ज्यान गएको छ ।

कोरोनाबाट बितेको २४ घण्टामा विश्वभर ९७५ मानिसको ज्यान गएको छ भने २ लाखभन्दा बढी मानिसमा यसको लक्षण देखिएको छ । यीमध्ये ८० प्रतिशत युरोप र पूर्वीय प्रशान्त क्षेत्रका छन् ।

न्यूजपोर्टलहरुबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *