बिर्तामोडमा ‘आधा सत्य’ को परिचर्चासँगै खेलाडी सम्मानित
Published:
by .बिर्तामोड । सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा झापाली लेखक भगवती ढुंगेलको उपन्यास ‘आधा सत्य’ को परिचर्चा गरिएको छ ।
लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षता तथा साहित्यकार रोहिणीविलास लुइँटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेट्स रन नेपालका सदस्य सुरेश खड्काले स्वागत गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु मुनाराज शेर्मा र लक्ष्मी पौडेलले ‘आधा सत्य’ उपन्यासको समीक्षा गरेका थिए । उनीहरुले समसामयिक विषयवस्तुलाई केन्द्रित गरेर लेखक ढुंगेलले पुस्तकको प्रकाशन गरेको बताए । अहिलेको युवापुस्ताले भोग्नुपरेको यथार्थलाई उपन्यासले चित्रण गरेको उनीहरुले बताए ।
कार्यक्रममा लेखक ढुंगेलले आफ्नो पहिलो कृति उपन्यास ‘आधा सत्य’ वास्तविक प्रेमकथामा आधारित रहेको बताइन् । उनले उपन्यास ‘आधा सत्य’ बिक्रीबाट संकलित रकम लेट्स रन नेपालमार्फत् झापाका असहाय, अपाङ्ग बालबालिका र वृद्धवृद्धाहरुको सहयोगका लागि खर्च गरिने जानकारी दिइन् ।
पुस्तकको बिक्रीबाट यसअघि लेट्स रन नेपाल संस्थामार्फत गत असार १५ गते झापाको अर्जुनधारा नगरपालिका ६ कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुका लागि अत्यावश्यक सामग्री प्रदान गरिएको उनले बताइन् ।
कार्यक्रममा भाषाविद् तथा साहित्यकार चूडामणि रेग्मी, लीला अनमोललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा दयानन्द गोश्वामी, तुलसीप्रसाद निरौला, तुलसीप्रसाद भट्टराई, दुर्गा सिग्देल, समीक्षा पौडेल, शितला भट्टराई, ईश्वरा शिवाकोटी, सिजला भट्टराई, निहारिका ताम्लिङलगायतले कविता वाचन गरेका थिए भने इरन्त पौडेलले गजल वाचन गरे ।
सोही कार्यक्रमकाबीच जापानको ओकिनावामा सम्पन्न भएको एसियन कराते प्रतियोगिताकी ब्रोन्ज मेडलिस्ट एस्तर राईलाई सम्मान गरियो ।
झापा अर्जुनधारा निवासी राईले एसियन कराते प्रतियोगितामा नेपालका तर्फबाट ब्रोन्ज मेडल प्राप्त गरेर झापालीहरुको गौरव बढाएकोमा राईलाई ‘आधा सत्य’ उपन्यासका लेखक ढुंगेलले नगदसहित सम्मान गरेकी हुन् ।
कार्यक्रमको सञ्चालन खगिन्द्रा खुशीले गरेकी थिइन्. ।
Comments