पूर्वाधारयुक्त प्रतिष्ठानलाई सम्बन्धन दिन नागरिक समाजको आग्रह
Published:
by .झापा । नागरिक समाज झापाले प्रदेश नम्बर १ मा मापदण्ड पूरा गरेका इन्जिनियरिङ तथा मेडिकल कलेजलाई सम्बन्धन दिन सरकार समक्ष आग्रह गरेको छ ।
इन्जिनियरिङ तथा मेडिकल कलेज पढ्ने नाममा नेपाली विद्यार्थी कन्सल्टेन्सी मार्फत विभिन्न मुलुकमा जानुपर्ने बाध्यता रहेको समाजको धारणा छ ।
समाजले अध्ययनका नाममा विदेशिने रकम आफ्नै देशभित्र रहने भएकाले मापदण्ड पूरा गरेका प्राविधिक शिक्षण संस्थालाई सम्वन्धन दिनु पर्नेमा जोड दिएको हो ।
समाजले शनिबार बिर्तामोडमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी भौतिक संरचना पूर्ण भएको एक इन्जिनियरिङ कलेजसहित वि एण्ड सी हस्पिटललाई सम्बन्धन दिन आग्रह गरेको छ ।
देश संघीयताको मोडलमा गइसकेको अवगत गराउँदै समाजले विकेन्द्रिकरणसँगै काठमाडौं केन्द्रित हरेक संरचनाहरु देशका बिभिन्न स्थानमा स्थानान्तरण भइसकेकाले कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिनबाट रोक्न नहुने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ ‘पछिल्लो समय मेडिकल कलेजको सम्बन्धनका विषयमा भइरहेको ‘चिकित्सा शिक्षा विधेयक राष्ट्रको बहसको रुपमा चलेकोप्रति नागरिक समाज झापाको ध्यानाकर्षण भएको उल्लेख छ ।
भौगोलिक दृष्टिकोणले कहाँ, कुन स्थानमा मेडिकल कलेजको सम्बन्धन दिने भन्ने विषय नितान्त राज्यको हो । राज्यले विज्ञको टोली निर्माण गरेर यसको समाधान खोज्नुपर्ने अहिलेको आवश्यकता हो ।’
बिर्तामोडमा निजी लगानीमा १० वर्ष अघि इन्जिनियरिङ कलेजको लागि भौतिक संरचना निर्माण भएको थियो । राज्यको प्रचलित कानुनका कारण त्यसले सम्बन्धन पाउन नसक्दा अहिले त्यो संरचना खण्डहरका रुपमा परिणत हुन थालेको नागरिक समाज झापाका संयोजक कुवेर श्रेष्ठ (अरुण)ले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी बि एण्ड सी हस्पिटलले पनि सरकारको तत्कालिन मापदण्ड पूरा गरेर भौतिक संरचना निर्माण गरेकाले केही ब्यक्ति वा समूहको उक्साहटमा सम्बन्धन नदिएर खण्डहर बनाउने तत्व सलबलाइरहेको विज्ञप्तीमा उल्लेख छ ।
समाजले निजीस्तरबाट वा राज्यबाट झापामा निर्माण भएका यस्ता संरचनाको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । झापाबासीले यसको सही उपयोग गर्न पाउनुपर्ने समाजको माग छ ।
समाजका संयोजक अरुणको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, वि एण्ड सी हस्पिटललाई सम्वन्धन दिनुपर्ने भनी गतवर्ष ११ दिन आमरण अनसन बस्ने चैतन्य प्रकाश मैनालीलगायतले मन्तव्य आ–आफ्नो धारणा राखेका थिए ।
समाजको माग पूर्वी नेपालमा बसोबास गर्ने जनताको आवश्यकतालाई भएको भन्दै माग सम्बोधन नभए थप दबाबका कार्यक्रम गरिने श्रेष्ठले बताए। समाजका सदस्य अच्युत दाहालले स्वागत गरेको कार्यक्रमलाई माधव कल्पितले सञ्चालन गरेका थिए ।
Comments