Sajhamanch Archive

‘अहिलेसम्म नेपाली समुदाय महामारीबाट बच्न सफल नै छौं’

Published: in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, समाज, , , by .

म अमेरिकाको आर्लिंटन, भर्जिनियाँमा करिव ७ वर्षदेखि निरन्तर बसिरहेको छु । भर्जिनियाको नजिकै रहेको राज्य वासिंटन डिसी हो । वासिंटन डिसीमा रहेको अमेरिकी राष्ट्रपति भवन पुग्न यहाँबाट करिब १०–१२ मिनेटको ड्राइभिंग दूरीमा छ । यहाँबाट मेट्रो ट्रेन, मेट्रो बसबाट अधिकांश मानिस वासिंटन डिसी जानसक्ने भएकोले भर्जिनियाँमा आवासीय क्षेत्र बढी छन् । डिसीभन्दा भर्जिनियाँ बस्न र खानपीनमा केही सस्तो छ । डिसी महंगो शहर भएकाले मजदूरले पाउने ज्याला दर केही बढी हुने भएकोले काम गर्न त्यहाँ जाने गरिन्छ । र, बसोबासको रोजाइस्थल आर्लिंटन भर्जिनियां हुन पुगेको छ ।

विश्वकै ख्यातिप्राप्त अनलाइन व्यापार एमाजोनको एउटा केन्द्र यहाँ रहने भर्खरैको निर्णयबाट यस शहरमा बसेबासको चाप तीब्ररूपमा बढ्दै गएर अमेरिका भरकै एक नम्बर उत्कृष्ट अफोर्डवेल काउन्टी बन्न पुगेको छ । भर्जिनियाँ भरकै काउन्टीहरूमा यस काउन्टीमा जनघनत्व एकदमै बढी छ । त्यसैले आजको मिति अप्रिल ४ सम्ममा कोभिड १९ को संक्रमणको अवस्थामा यो काउन्टीमा १५० जना संक्रमित भएर भर्जिनियाको तेस्रो संक्रमित काउन्टी घोषणा भएको हो । यद्यपी यस काउन्टीमा अहिलेसम्म कसैको निधनको खबर छैन । भर्जिनियाँकै फेयरफेक्स काउन्टीमा ३८७, हेनरिको काउन्टीमा १७४, लाउडेन काउन्टीमा १४९ जना संक्रमित भएका छन् । अलेक्जेन्ड्रियामा ६८ जना छन् भने अन्य राज्यहरूमा अलिक कम संख्यामा संक्रमित भएर अमेरिका भरकै संक्रमित राज्यहरू ५० मध्ये भर्जिनिया २०औं संक्रमित राज्य हो ।

       यामकुमार सिटौला, आर्लिंटन, भर्जिनियाँ

भर्जिनियाँ राज्यमा कोभिड–१९ संक्रमितको जाँच गरी २ हजार ४०७ जनामा पुष्टी भएको छ । हाल ३०९ जना जति अस्पतालमा भर्ना भएका छन् भने ५२ जनाको निधन भएको छ । भर्जिनियाँ राज्यको संक्रमितको संख्यालाई विश्लेषण गर्दा महिलाको संख्या १ हजार १९९ छ भने पुरूषको संख्या १ हजार १६२ र नतोकिएको संख्या ४६ छ । संक्रमितहरु मध्ये ०–९ वर्ष उमेर समूहमा १६ जना, १०—१९ वर्ष उमेर समूहमा ३४ जना, २०–२९ वर्ष उमेर समूहमा २९३ जना र ३०–३९ वर्ष उमेर समूहमा ३३५ जना रहेका छन् । यसरी नै ४०–४९ वर्ष उमेर समूहमा ३८२ जना, ५०–५९ वर्ष उमेर समूहमा ४६६ जना, ६०–६९ वर्ष उमेर समूहमा ४१५ जना, ७०–७९ वर्ष उमेर समूहमा २८४ जना र ८० वर्ष माथिको उमेर समूहमा १८२ जना संक्रमित भएको तथ्याङ्क छ ।

सिङ्गो अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या तीनलाख भन्दा बढी भइसकेको छ भने आठ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । कोभिड–१९ संक्रमित भएर न्यूयोर्कमा १ जना र कोलोराडोमा १ जना नेपाली गरी दुईजनाको ज्यान गएको सरकारी तथ्याङ्क छ । ५०० भन्दा बढी नेपालीहरू संक्रमित भएको अनुमान छ । आज ५ अप्रिलमा थप ४ जना नेपालीको न्यूयोर्कमा मृत्यु भएको चर्चा छ तर स्वतन्त्र पुष्टी भएको छैन । यदि घटना सही हो भने ६ जना नेपालीको दुःखद निधन भएको हुनेछ । अहिले खासगरी नेपाली समुदायलाई यस महामारीमा सहयोग पुर्याउन र आवश्यक व्यवस्था मिलाउन जुनसुकै आस्था, विश्वास, वर्ग, सम्प्रदाय भए पनि एकजुट भएर कन्फरेन्स कल मिटिङ गरेर आर्थिक संकलन, क्वारेटाइनको व्यवस्था गर्ने, खाद्य सामग्रीको वन्दोबस्त गर्ने अभियानमा जुट्न थालेका छौं ।

अमेरिका कै धेरै नेपालीहरूको वसोबास रहेको भर्जिनियाँ राज्यमा अधिकांश नेपालीहरूले काम गर्ने भनेको ग्यांस स्टेशन, डिपार्टमेन्ट स्टोर, सेवन लेभेन (किराना पसल), रेष्टुराँ, फार्मेसी, उवरलिफ्ट (आफ्नै ट्याक्सी) एबिसी (रक्सी डिलर) आदि हुन् । यस राज्यमा पनि अति आवश्यक बाहेकका अन्य कामहरू बन्द गरिएकोले रेस्टुराँमा काम गर्ने र ट्याक्सी ड्राइभरहरूको रेजगारी चाहिँ अहिले गुमेको अवस्था छ । अन्य कामहरू अति आवश्यक काम मै पर्ने भएकोले स्टोरहरू पनि खुल्ला रहँदा कामदार नेपालीहरूले त्राहिमामकै अवस्थामा पनि काम गरिरहनु परेको छ । आफूलाई क्षमताले भ्याएसम्म सुरक्षित राखेर काम गरिरहेकाले अन्य राज्यहरू भन्दा यस राज्यमा बसोबासको तुलनामा धेरै नेपाली रहे पनि अहिलेसम्म नेपाली समुदाय यस महामारीबाट बच्न सफल नै भएका छौं ।

अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको चुनाव हुन गइरहेको छ । राष्ट्रपति डोनाल्ड जे. ट्रम्प पनि रिपब्लिकन पार्टीका एक सशक्त उम्मेदवार हुन् । उनलाई एकातिर मुलुकको अर्थतन्त्रमा गिरावट हुन नदिनुपर्ने दबाव छ भने अर्कोतर्फ कोभिड–१९ को संक्रमणबाट देशबासीलाई बचाउनु पर्ने बाध्यता छ । स्वाभाविकरूपमा अमेरिकनहरू भविष्यको चिन्ता नगर्ने र वर्तमान मै रमाउन चाहने जनता हुन् । यहाँको सरकारले भविष्यको लागि रिटायर्डमेन्ट वेनेफिट दिने, बुढेसकालमा स्वास्थ्य सुरक्षाको जिम्मा लिने भएकोले उनीहरू आफ्नो हप्ताभरीको कमाई कुनै बचत नगरी सबै खर्च गर्ने र रमाउने संस्कारमा हुन्छन् । त्यसैले पे चेक टु पे चेकमा चल्ने अधिकांश अमेरिकन जनताको मनोविज्ञानलाई बुझेर राष्ट्रपतिलाई अमेरिकामा लकडाउन गर्ने दबाव व्यापक भए पनि उनले गर्न सकेको छैनन् ।

लकडाउन गर्न नसक्नुको अर्को कारण अमेरिकन जनताको व्यक्तिगत स्वतन्त्रतालाई हस्तक्षेप गरेर जबर्जस्ती लकडाउन गर्न मिल्दैन भन्ने धर्मलाई पनि अमेरिकी सरकार बचाउन चाहान्छ । त्योभन्दा पनि डरलाग्दो अवस्था भनेको यहाँका सबै रैथाने अमेरिकनहरूको व्यक्तिगत सुरक्षाको लागि आफूले बन्दूक राख्ने अधिकार हुन्छ । लामो समयको लकडाउनबाट उनीहरु अभावबाट भड्किने, क्राइममा उत्रिनसक्ने र भयावहको अवस्था नआओस् भन्नेमा अमेरिकन सरकार सचेत छ । त्यसैले सरकारले प्रत्येक अमेरिकनलाई १२०० डलर, विवाहित परिवारलाई २४०० डलर र हरेक बच्चाको लागि थप ५०० डलरसहितको राहत प्याकेज घोषणा गरिसकेको छ । यसलाई केही महिना पछि दोहोर्याउने छलफल पनि चल्दैछ ।

अमेरिकन सरकारको स्वास्थ्य विभागको अड्कल अनुसार यही अवस्था कायम रहेमा एक लाखदेखि अढाई लाखसम्म यस महामारीबाट ज्यान जानसक्ने आंकलन छ । ट्रम्प सरकार यस सम्भावित क्षतिलाई कसरी न्यून गर्न सकिन्छ भनेर पछिल्लो दिनमा धेरै सतर्ककताका साथ अघि बढिरहेको छ । चाइना, रसियाबाट पनि आवश्यक चिकित्सकीय सामग्रीहरू जस्तोसुकै मूल्यमा पनि किन्न लागिपरेको छ । तर अहिले नियन्त्रण बाहिर जान थालेको अवस्थालाई कतिको काबुमा राख्नसक्छ त्यो भविष्यले नै बताउला ।

जब चीनमा यो महामारी फैलियो, तब जनवरी र फेब्रुअरी महिनामा करिब डेढ अर्ब बराबरको स्वास्थ्य सामग्री अमेरिकन व्यापारीहरूले चीनमा निर्यात गरेकोले अहिले अमेरिका हायल कायलको अवस्थामा पुगेको बताइएको छ । संचार माध्यममा यो सम्बन्धी विरोधका स्वरहरू पनि आइरहेछन् । यदि दुरदर्शी अमेरिकी सरकार थियो भने उसले त्यो निर्यातलाई रोकेर समयमै अमेरिकामा होसियारी र सावधानी अपनाई सक्क्थ्यो । त्यो हुन सकेन भन्ने जन गुनासो व्यापक छ । यद्यपी सन्निकट राष्ट्रपति चुनाव र अन्तर्राष्ट्रिय साख जोगाउन पनि अमेरिकन सरकारले आफ्नो सम्पूर्ण शक्ति र स्रोत खर्चेर पनि यस महामारीबाट जनतालाई बचाउन सक्छ भन्ने विश्वासमा अझै अमेरिकन छन् ।

(स्थायी टुङ्गोः हल्दिबारी, झापा)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *