बिर्तामोड नगरपालिकाबाट पहिलो चरणमा ६ हजार ९६० परिवारलाई राहत
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाले पहिलो चरणमा यहाँका ६ हजार ९६० घर परिवारलाई राहत सामग्री वितरण गरेको जनाएको छ । नगरपालिकाले १० वटै वडाका २८ हजार ५८६ व्यक्तिलाइ पहिलो चरणमा राहत सामग्री निकासा गरेको नगरप्रमुख ध्रुवकुमार सिवाकोटीले जानकारी दिएका हुन् ।
१० वटै वडामा गठन गरिएका टोल विकास संस्थाहरुको सिफारिस पछि वडा कार्यालयले पहिचान गरेका विपन्न परिवारलाई दाल, चामल र नून वितरण गरिएको हो । ती सामग्री सब वडामा लगत संकलन गरिएका व्यक्ति र परिवारलाई वितरण गर्ने कार्य भइरहेको पनि वडा अध्यक्षहरुले जानकारी दिएका छन् ।
नगरपालिकाले विपन्न र असहाय व्यक्तिहरुलाई पहिलो चरणमा एक लाख १३ हजार ७९५ केजी चामल वितरण गरिएको तथ्याङ्कमा उल्लेख छ । यस्तै छ हजार ५१८ केजी दाल र छ हजार ९६० केजी नून वितरण गरिएको नगरपालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
यसैबीच, बिर्तामोडले नगरपालिकामा स्थापना गरेको कोभिड–१९ रोकथाम, उद्धार तथा राहत कोषमा आजसम्ममा कुल ९७ लाख ७६ हजार ७४० रुपैया बराबरको नगद तथा जिन्सी जम्मा भएको छ । जिन्सी सामान दिनेहरुमा ने क पा नगर कमिटीले १०० क्वीन्टल चामल, नेपाल बहुद्देश्यीय सहकारी संस्थाले ४० क्वीन्टल चामल, जीवन विकास लघु वित्तीय संस्थाले १० क्वीन्टल चामल र पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले स्वास्थ्य सुरक्षा कवच उपलब्ध गराएको छ ।
अन्य ५५ संघ–संस्था र व्यक्तिहरुले नगद उपलव्ध गराएका हुन् भने उक्त कोषमा नगरपालिकाले ५० लाख रुपैयाँ जम्मा गरेको थियो ।
यसैबीच, राहत वितरणमा भेदभाव गरेको भनी केही सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचार निराधार भएको दावी गरिएको छ । वडा नम्वर ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले लगत उठाउन छुटेका केही वास्तविक विपन्न परिवारलाई वडामा बचेको खाद्य सामग्री प्रदान गर्दा केही कम हुनगएको प्रष्ट पारेका हुन् ।
वास्तवमा जो जसलाई चामल कम दिइयो भनी समाचारमा आयो, तिनको र परिवारका कुनै सदस्यको नाम लाभग्राहीको सूचिमा थिएन । तर वास्तविक विपन्न नै हुन् भन्ने तत्काल उपस्थित जनप्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारीहरुको निश्कर्ष पछि १० परिवारका लागि वडामा बचेको राहत सामग्री १५ लाई दिइएको हो । नामाङ्कित विपन्नहरुले नगरपालिकाको कार्यविधि अनुरुप नै राहत सामग्री पाएको वडाध्यक्ष लिङ्देनले जानकारी दिए ।
Comments