प्रदेश २ सरकारः कृषि ऋणको ४ महिनाको ब्याज तिरिदिने, स्वास्थ्यकर्मीलाई ५० लाखको बीमा
Published:
by .धनुषा । प्रदेश २ सरकारले ‘लकडाउन’ले किसानहरु पीडित भएकोमा कृषिकर्मको लागि बैंक, वित्तीय संस्था वा सहकारीबाट लिइएको ऋणको ४ महिनाको ब्याज तिरिदिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कृषिकर्मको लागि किसानहरुले ५ लाख रुपैयाँसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ब्याजदरमा ४ महिनाको ब्याज तिर्ने निर्णय गरेको छ ।
त्यसैगरी पाँच लाखदेखि १५ लाख रुपैयाँसम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाख रुपैयाँसम्मको ऋणमा ४० प्रतिशत रकम तिरिदिने छ ।
३० लाखभन्दा माथिको ऋणमा कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम ब्याज तिरिदिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।
यस्तै, प्रदेश सरकारले कोरोना महामारीविरुद्धको रोकथाम र उपचारमा खटिने व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भए पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत दिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीको रोकथाम तथा उपचारमा संलग्न हुने निजामती वा अन्य कर्मचारी तथा सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोना सङ्क्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
Comments