Sajhamanch Archive

मेचीनगरमा आफूखुशी राहत वितरण गर्न नपाइने, गरेमा तत्काल कानूनी कारवाही

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

मेचीनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा व्यवस्थापन राहत र उद्घार सञ्चालन तथा कार्यान्वयन समितिको सचिवालय मेचीनगरको शुक्रबार सम्पन्न बैठकले सवै वडा समितिको कार्यालयलाई नेपाल सरकार र नगरपालिकाको सूचना विपरित वडाभित्र वडा समितिको स्वीकृति नलिई राहत वितरण गर्ने कुनै पनि संघ–संस्था, समूह र व्यक्तिलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन इलाका प्रहरी कार्यालय, नगर कार्यपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी गराउनुपर्ने निर्णय गरेको छ ।

बैठकले सवै वडा समितिको कार्यालयलाई तोकिएको मापदण्ड बमोजिममात्र राहत वितरण गर्न र मापदण्ड विपरित कहीँकतै राहत वितरण भएको भए तत्काल सच्याउन र वितरण हुन बाँकी रहेको स्थानमा मापदण्ड बमोजिममात्र खाद्यान्न राहत वितरण गर्न गराउनसमेत निर्देशन गरेको छ । विभित्र संघ–संस्था, समूह र व्यक्तिबाट समेत राहत वितरण भएको विषयमा बैठकमा समीक्षा गरिएको थियो । कार्यान्वयनमा देखिएका सवालहरुलाई विधि र प्रकृया अवलम्बन गरी खाद्यान्न राहत वितरण प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउने समेत बैठकले निर्णय गरेको छ ।

सबै वडा समितिको कार्यालयलाई वडाभित्र खाद्यन्न राहत (जिन्सी सामग्री) उपलब्ध गराउन इच्छुक संघ–संस्था, समूह र व्यक्तिबाट रेकर्ड राखेर मात्र (जिन्सी सामग्री) बुझ्न र नगद रकम बुझाउन चाहनेका लागि नगर कार्यपालिकाको प्रकोप व्यवस्थापन कोषमा मात्र जम्मा गर्ने व्यवस्था मिलाउन साथै यसअघि नगद रकम लिएको भए सोसमेत कोषमा जम्मा गर्न जानकारी गराउने निर्णय भएको छ ।

टोल विकास संस्था मार्फत सिफारिस भएका वा वडास्तरीय समन्वय समितिबाट निर्णय भएका बाहेक अन्य व्यक्ति वा परिवारलाई राहत वितरण नगर्ने नगराउने बैठकको निर्णय छ । स्थलगत अवस्थामा हेर्दा राहत उपलब्ध गराउनुपर्ने अवस्था देखिए प्रक्रिया पूरा गरेरमात्र राहत उपलब्ध गराउने, सवै वडा समितिको कार्यालयलाई वडाभित्र हालसम्म राहत वितरण गरेका परिवार, अन्य संघ–संस्था र व्यक्तिबाट खाद्यान्न वितरण गरेका परिवारको समष्टिगत विवरण २ दिनभित्र कार्यालयमा पेश गर्न जानकारी गराउनेलगायतका निर्णय भएको जनाइएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भएको लकडाउनका कारण खाद्यान्न अभाव देखिएको असंगठित क्षेत्रका श्रमिक परिवार, विपत्र तथा असहाय परिवारका लागि मेचीनगर नगर कार्यपालिका कार्यपालिकाको तर्फबाट ३० लाख रुपैयाँँको राहत सामग्री खरिद गरि वडा समितिलाई उपलब्ध गराइएको थियो । वडा समितिले टोल विकास संस्था मार्फत सो राहत वितरण गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *