यातायात र अस्पताल बन्द हुँदा थोरै मान्छे मर्दा रहेछन् !
Published: (Updated: )
by .मानिस जन्मिए पछि एक न एकदिन अवश्य मर्छ । जीवनको अन्त्य निश्चित छ, यो शाश्वत सत्य हो । मानिसको चोला सकिएपछि श्मसान घाटमा लगेर दाहसंस्कार गरिन्छ । जाति, धर्म, सम्प्रदाय, भूगोल र परम्पराका आधारमा दाहसंस्कारका रुपहरु फरक हुन्छन् । दिनहुँजसो सयौं मान्छेको लाश जलाइने काठमाडौंको पशुपति आर्यघाट हिजोआज लगभग सुनसान जस्तै छ । काठमाडौं यसैपनि ठूलो जनघनत्व भएको शहर । यहाँ एकै दिन धेरै मानिसको मृत्यु भएका थुप्रै घटनाहरु छन् । हिन्दू संस्कार अनुसार शवलाई जलाउने, बौद्ध, इशाईहरुले गाड्ने गरेका छन् । पशुपतिनाथ मन्दिर नजिकैको जंगलमा पनि यो क्रम यतिबेला निक्कै घटेको पाइन्छ । काठमाडौं जस्तो बाक्लो जनघनत्व भएको ठाउँमा पनि तुलनात्मकरुपले यतिबेला मानिसको मृत्युदर कम छ ।
यता झापाको कनकाई माईका दुवै किनारमा दिनमा दशवटा लाशहरु त नजलेका कहाँ थिए र ! काँकरभिट्टादेखि दमकसम्मका लाश जलाउने पवित्र घाट कनकाईलाई नै मानिन्छ । यहाँ पनि अहिले जलाउन ल्याइने लाशको संख्या घटेको छ । सडकमार्गमार्फत् इटहरी पुग्दा बुढीगंगाको घाटमा एक न एक लाश जलाउँदै गरेको पक्कै देखिन्थ्यो । अनि यता धुलाबारीको रामघाटमा पनि दिनहुँ एउटा न एउटा लाश नजलेका कहाँ थिए र ! तर बितेको तीन हप्तादेखि यहाँ पनि दाहसंस्कार दर स्वाट्टै घटेको छ ।
विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास छ । विश्वका शक्ति सम्पन्न राष्ट्रहरु यही भाइरसको संक्रमणबाट आफ्ना नागरिक जोगाउन नसकेर त्राहीमाम छन् । अमेरिकामा दैनिक हजार जनाभन्दा बढीको ज्यान गइरहेको अवस्था छ । इटाली, स्पेन, फ्रान्सलगायत देशहरुलाई यसले गाँजिसकेको छ । छिमेकी देश भारतमा ३३१ जनाले कोराना संक्रमणबाट ज्यान गुमाएका छन् । यो भाइरसले विश्वका २१० देश र दुईवटा अन्तर्राष्ट्रिय पानी जहाजमा रहेका यात्रुहरुलाई भेटिसकेको छ । नेपाल पनि यो संक्रमणबाट अछुतो रहेको छैन । आज वैशाख २ गते बिहानसम्ममा १४ जनालाई कोरोना संक्रमण भएको सरकारले आधिकारिक पुष्टि गरेको छ । ती मध्ये १ जना पूर्णरुपमा निको भएका छन् । नेपालभित्रै कुनै मानिसले कोरोनाबाट आजसम्म मर्नुपरेको छैन । आशा गरौं सबैले सावधानी अपनाएर कोरोनालाई परास्त गर्न सक्नेछौं ।
यो आलेख तयार गर्दाको तथ्याङ्क अनुसार विश्वका १९ लाख २४ हजार ६७९ जना संक्रमित भएका छन् । संक्रमणको दर जति तीब्र छ, उपचार भई निको हुनेको संख्या कम छ तर पनि चार लाख ४५ हजार पाँच जना निको भएर घर फर्किएका छन् । दूर्भाग्य नै भनौं, मृत्यु हुनेको संख्या दिनहुँ अत्यासलाग्दो गरी बढिरहेको छ । अहिलेसम्म एक लाख १९ हजार ६९२ जनाको मृत्यु भएको कोरोनोमिटरमा उल्लेख छ ।
कोरोना संक्रमणको यही विश्वब्यापी महामारीबाट बच्न र कुनै भूगोलमा संक्रमण भएको भए फैलनबाट रोक्न नेपाल सरकारले देशभर ‘लकडाउन’ गरेको छ । लकडाउन भनेको गम्भीर प्रकृतिको रोगको संक्रमण निश्चित भूभागमा प्रवेश गर्न नदिन वा अन्यत्र फैलिन नदिन आवागमन रोक्न अपनाइने विश्वव्यापी विधि हो । नेपाल, भारतसहित विश्वका धेरै मुलुकहरुले आजको मितिमा यही विधि अपनाएर कोरोना फैलन नदिन प्रयास गरिरहेका छन् ।
नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । यातायात, बन्द ब्यापार, कलकारखाना, होटल, उद्योग, स्कूल क्याम्पस सबका सब बन्दाबन्दीको अवस्था छ । केही एम्बुलेन्स, प्रहरी र सेनाका गाडीहरु, जनप्रतिनिधिका गाडीहरु, दमकल, स्वास्थ्यकर्मीका सवारीहरु अनि मोटरसाइकलहरु सडकमा छन् । सञ्चारकर्मीले नयाँ सूचना प्रवाह गर्नुपर्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने भएकाले लकडाउनका समयमा केही सवारी साधनहरु सडकमा देखिन्छन् । यो अनौठो कुरा चाहिँ पक्कै होइन ।
यही परिवेशमा धेरैजसो अस्पतालहरुमा ओपिडी सेवा प्रायः बन्द गरिएको छ । आकस्मिक केसहरु, त्यो पनि पहुँचवालाकोमात्र हेर्ने गरेका समाचारहरु सबैले सुनेका र हेरेका छौं । कुन अस्पताल भनेर नाम किटेर भनिरहनु आवश्यक नै छैन । अधिकांश निजी अस्पतालहरुले मेनगेट बन्द गरेर बसेका छन् । यस्ता चर्चालाई विश्वास गर्ने बलियो आधारहरु सामाजिक सञ्जालमा देखिएका भिडियो, उपचारका लागि अस्पताल गएर फर्किएका बिरामी र तिनका आफन्तहरु नै हुन् । चिकित्सकहरु पनि कोरोनाको त्रासमा छन् । कतिपय चिकित्सकहरु अस्पताल जाँदै नजाने बरु टेलिफोनबाटै आवश्यक परामर्श दिने गरेको पनि पाइएको छ । हिजोआज अस्पतालमा शल्यक्रिया सायदै हुँदैनन् । आकस्मिक केसहरु बाहेक ओपिडीबाट शल्यक्रियाका लागि बिरामी अस्पताल भर्ना गरिने भएकाले हिजोआज यस्तोक्रम रोकिएको छ ।
हिजोआज सार्वजनिक यातायात चलेका छैनन् । लकडाउनभन्दा अगाडिदेखि नै सरकारले लामो दूरीको सवारी साधनहरु नचलाउन निर्देशन गरेको थियो । लकडाउन भएपछि त यातायातका साधन ठप्प हुने नै भए । निजी सवारी साधन चलाउन थोरै मानिसहरुले मात्र पास लिएका छन् । सडकमार्गमा पातलो संख्यामा सवारीसाधन गुड्ने गरेका छन् । अनि हवाई यातायात पनि यतिबेला पूरै बन्द छ । यातायातका साधनहरु नचलेपछि दूर्घटनाको भय नै छैन ।
माथिको चर्चा र प्रसङ्गले हिजोआज मानिसको मस्तिष्कमा एउटा प्रश्न उब्जाएको छ, यातायात र अस्पताल नचल्दा मान्छे थोरै मर्छन् हो ? ताजुवलाग्दो यथार्थ ! केही दिनदेखि आकस्मिक मृत्युदर घटेको छ । कालगतिले, बुढ्यौलीले अनि बिरामी परेर मर्नेहरुको संख्या तुलनात्मकरुपमा कम हुने रहेछ । बरु अस्पतालले बिरामीको उपचार नगरिदिएर मरेका घटनाहरु थपिएका छन् । यातायात र अस्पतालको सुलभ पहुँच भएका स्थानमा समयमा नै उपचार नपाएर बिरामी मर्नु भनेको नेपालको सन्दर्भमा २५ वर्ष पछि पर्नु हो । यसैले धेरै मरणहरु अस्पताल भएर पनि आकस्मिक र अप्राकृतिक हुने गरेका रहेछन् ।
अस्पतालहरुले अत्यावश्यक बाहेकका बिरामी हेरेका छैनन् । कालगति बाहेक अस्पतालमा धेरै मानिसको ज्यान जाँदो रहेछ । धेरै केशहरु चिकित्सककै असावधानीले, केही केशहरु बिरामी आत्तिएर अनि केही केशहरु बिरामीको शारीरिक अवस्था र रोगको प्रकृतिले मान्छेको मृत्यु हुँदो रहेछ । अस्पतालमा मृत्युका कतिपय केसहरु चिकित्सकको परीक्षण अभ्यासका कारण हुँदा रहेछन् । शल्यक्रियामा अभ्यासले मानिसको अकालमै ज्यान जाँदो रहेछ । नत्र यो तीन हप्ताको अवधिमा किन श्मशान घाटहरु खाली छन् त !
अनि नेपालको सडक अनि सार्वजनिक यातायातका साधनहरुको कण्डिसन पनि मृत्युको अर्को कारण रहेछ । हामी यात्रुहरु जस्तोसुकै भिडभाडमा पनि गाडी चढ्ने हतारो गर्ने बानीका कारण धेरै दूर्घटनाहरु हुने गरेका रहेछन् । सवारी दूर्घटनाबाट हरेक दिनजसो धेरै मानिसको मृत्यु हुने गरेको तथ्याङ्क हामीले हेरेका छौं । एउटा बस दूर्घटनामा पर्यो भने एक दुई जना होइन, दर्जनौं मानिस घाइते हुने र मर्ने गरेका घटनाहरु हामीले देखे, सुने, भोगेका छौं । यसैले हिजोआज यस्तो त्रासदीपूर्ण घटना सुन्नु, देख्नु, भोग्नु परेको छैन । नेपालको हवाई यातायात पनि उत्तिधेरै सुरक्षित छैन । वर्षमा कुनै न कुनै अत्यास लाग्दो दूर्घटना हामीले भोग्दै आएका छौं । लकडाउनले यो सम्भावनालाई पनि रोकिदिएको छ ।
लकडाउनले तपाईं, म जस्ता हजारौंले पुनः जीवन पाएका रहेछौं । किनकि अकालमा ज्यान गुमाउनु परेको छैन । सवारी दुर्घटना न्यून छन् अनि अस्पतालमा उपचार गर्दागर्दै विशेषगरी अपरेशन केशहरुबाट मृत्यु भएका त झन् कम्ती छन् । आधाउधी अस्पतालहरु बन्द छन्, खुलेकाहरुले पनि उपचारका लागि बिरामीलाई भर्ना गर्दैनन् । धेरैजसो डाक्टरहरु घर विदामा छन् । आपिडी सबै बन्द छन् । अनि आकस्मिक केश बाहेक बिरामी नै अस्पताल नगए पछि कुनै शल्यक्रिया पनि गर्न परेन । न त कुनै इन्जेक्सन नै लगाउनु परोस् । अनि त अस्पतालमा मृत्यु हुनेको संख्या पनि लगभग रोकिएको छ ।
यसै सामाजिक मनोविज्ञान केलाउँदा र तीन हप्ताको अवधिलाई नियाल्दा मानिसको मृत्यु सबैभन्दा धेरै सवारी दूर्घटनाबाट हुँदो रहेछ । कहिले मोटरसाइकल, स्कुटर त कहिले ट्रिपरको आतंकबाट । बस कार भ्यानहरु पनि कम दूर्घटना हुन्थेनन् । अनि सडकको स्तरले पनि यसको मपन गर्दो रहेछ र सँगसँगै हामी यात्रुहरुको भिडभाड चरित्रले पनि घर गर्दो रहेछ । अस्पतालमा उपचारमात्र होइन, मृत्यु पनि पाइँदो रहेछ । आज यी दुवै बन्द हुँदा थुप्रै मानिसले अकाल मृत्युवरण गर्नु परेको रहेनछ । अनि यो मस्तिष्कमा कुरा खेल्यो, यातायात र अस्पतालहरु बन्द हुँदा थोरै मान्छे मर्दा रहेछन् हो ! आज तथ्याङ्क बिना यति प्रस्तुत गरियो ।
यो सन्दर्भ विश्वविद्यालयमा समाजशास्त्रका शोधार्थीहरुका लागि महत्वपूर्ण विषय पहिचान भएको छ । पहिले मानिसहरु समयमा नै अस्पताल जान नपाएर मर्थे । आज धेरै मान्छेहरु अस्पतालमा नै मर्न थालेका छन् । विकट भूभोगलमा सवारी साधनको पहुँच नहुँदा मानिसहरु पैदल हिंडर गन्तब्य पूरा गर्थे, गर्छन् । बिरामीले समयमा नै अस्पताल गएर उपचार नपाउँदा धेरै मरेका थिए र अझै पनि यस्ता घटना भइरहन्छन् । तर सवारी साधनको पहुँच हुँदा पनि मर्नेहरुको संख्या घटेको छैन बरु एकसाथ दर्जनौं अकाल मृत्युको संख्या बढेर गएको छ । र, खोज्न मनलाग्योः यातायात र अस्पतालहरु बन्द हुँदा थोरै मान्छे मर्दा रहेछन् हो !
Comments