Sajhamanch Archive

बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अपील

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, स्थानीय तह by .

बिर्तामोड नगरबासी आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु,
हार्दिक अभिवादन तथा नमस्कार ।

हामीहरु अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं । देशमा लकडाउन गरी सामाजिक दुरी कायम गरिएको १ महिना पुग्न लागेको छ । सरकारको लकडाउनको निर्णयलाई बिर्तामोड नगरबासीले धिरताका साथ कार्यान्वयन गरिराख्नु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्दछु ।

सौभाग्य हाम्रो बिर्तामोड नगरक्षेत्र भित्र कोभिड–१९ को कुनै संक्रमित फेला परेका छैनन् । भारत लगायत तेस्रो देशबाट यस नगरभित्र आएका सबै परिवारहरुमा सम्पर्क गरी उहाँहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । हालसम्म ७० जनालाई क्वारेन्टिनमा राखिएकोमा अब ८ जनामात्र रहेका छन् । तीमध्ये ३६ जनाको आरडिटी र ६ जनाको पिसिआर परीक्षण गरिएकोमा कसैको पनि पोजेटिभ रिपोर्ट नआएको अवस्था छ । अझै पनि विदेशबाट आउनु भई यो रोगको लक्षण देखिएको छ भने घरमा नै लुकेर नबस्न सबैमा अनुरोध गर्दछु ।

नेपाल सरकारले यो रोगका विरामीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ । यस नगरपालिकाले पनि विरामीहरुको सेवाको लागि नगरका स्वास्थ्यकर्मीहरुलाई चौविसै घण्टा परिचालन गरेको र दुईवटा एम्बुलेन्स समेत तैनाथ राखिएको छ । साथै धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पताल विराटनगरमा कोरोना परीक्षण गर्ने पिसिआर प्रविधि जडान भई परीक्षण शुरु भइसकेको अवस्थामा कसैको शरीरमा यो लक्षण देखिएमा छिटै परीक्षण हुने र छिटै उपचार शुरु गर्न सकिने भएकोले कसैले लापरवाही नगरीदिनु हुन सबैमा पुनः अपील गर्दछु ।

प्रदेश–१ मा समेत १३ जनामा कोरोनाको संक्रमण देखापरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा रहनुभएका १३ जनामा कोरोना भाइरस संक्रमण भई कोशी अस्पतालमा उपचार भइरहेको छ । प्रदेश नं –१ को हाम्रो छिमेकी जिल्लामा कोरोना संक्रमण देखिसकेकोले हामीले अझ थप सजगता र सावधानी अपनाउनु नै पर्दछ । यसैले हाल भइरहेको लकडाउनको पूर्णरुपमा पालना गर्दै आफू, आफ्नो परिवार र समुदायमा सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

कोरोना संक्रमण रोकथाम गर्न र अतिविपन्न, गरिव परिवारहरुको दैनिक खाद्यान्न उपलब्ध गराउन कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष कार्यविधि २०७६ स्वीकृत गरी लागू गरिएको छ । हालसम्म यस कोषमा नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट रु. ५० लाख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सहकारी संस्थाहरु, संस्थागत विद्यालयहरु, राजनीतिक दलका नगर समिति, विभिन्न संघ–संस्था तथा दाताहरुबाट रु. ६४ लाख ८२ हजार ४०२ रुपैयाँ गरी जम्मा रु. १ करोड १४ लाख ८२ हजार ४०२ रुपैयाँ जम्मा भइसकेको छ । उक्त रकमबाट नगर क्षेत्रका अतिविपन्न ६ हजार ९१५ परिवारका २८ हजार १८९ जनालाई पहिलो चरणको राहत उपलब्ध गराइसकिएको छ । लकडाउनको अवधि थपिँदै जाँदा अतिविपन्न परिवारहरुलाई थप राहत उपलब्ध गराउनु पर्ने अवस्था विद्यमान नै छ । यसैगरी लकडाउनको अवधिमा कोही पनि नगरबासी भोकै रहनुपर्ने अवस्था नआओस् भन्नेमा हामी सबै जनप्रतिनिधिहरु सजग छौं ।

अन्त्यमा, बिर्तामोड नगरको राहत कोषमा नगद तथा जिन्सी सहयोग गरी विपन्न परिवारको चुल्हो बाल्ने अभियानमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै लकडाउनको अवधि थप लम्बिई राहत वितरण गर्नुपर्ने भएमा पुनः सहयोगको अपेक्षासमेत लिएको छु । यस कोरोना संक्रमणको रोकथामलाई नियन्त्रण गर्न सबै नगरबासीहरु आफ्नै घरभित्र रही लकडाउनलाई पूर्णतः पालना गर्नु हुनेछ भन्ने विश्वासका साथ नगरबासीको गाह्रो, अप्ठ्यारोमा हामी तपाईहरुकै साथमा रहने प्रण गर्दछौं । धन्यवाद ।

ध्रुबकुमार शिवाकोटी

नगर प्रमुख

बिर्तामोड नगरपालिका बिर्तामोड, झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *