निर्माण सामग्री चोरी हुन थाल्यो, रेखा खोलाको पूल कहिले बनाउने सरकार !
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७मा पर्ने रेखा खोलाको पूल निर्माण कार्य अलपत्र परेको छ। पूल निर्माण गर्ने उद्देश्यले जेनतेन सञ्चालमा रहेको कल्भर्ट भकाएको अवस्थामा लकडाउन सुरु भएपछि पूल निर्माण हुन नसककेको हो ।
गएको फागुनबाटै पूल निर्माण गर्ने तयारी गरिएको तथा निर्माण कम्पनी र ठेकेदारले आवश्यक निर्माण सामग्री स्पटमा झारिसकेको स्थानीय अविरलकृष्ण खरेल बताउँछन् । निर्माण सामग्री ल्याइए पनि काम शुरु नभएकोले अहिले सामग्री हराउन थालेको खरेल सुनाउँछन् ।
‘रड, सिमेन्ट, गिट्टी, बालुवा, ढुङ्गालगायत निर्माण समग्री निर्माणस्थलमा झारिएको छ तर ठेकदार नै सम्पर्कबिहीन भएपछि निर्माण कार्य अघि बढ्न सकेको छैन’ वडा न ७ का वडा सदस्य प्रेमप्रसाद थापा बताउँछन् ।
‘नगरपालिका, प्रदेश सरकार र संघीय सांसदलाई पनि कुरा जानकारी गराइसकेका छौं स्थानीयबासी समस्यामा पर्ने निश्चित छ भनेका छौं। यो समयमा बाटोको निर्माण कार्य ब्यवस्थापन गरिएन भने पछि बर्खा याममा हामीले ठूलो सास्ती ब्यहोर्नु पर्छ’ वडा सदस्य थापाको बुझाई छ ।
विेशेष गरी सोही क्षेत्रमा रहेको जनता स्कूल र स्वास्थ केन्द्रमा आउने सेवाग्राही मारमा पर्ने भएकाले स्थानीयले चिन्ता व्यक्त गरेका छन् । प्रत्येक वर्ष आउने बाढीले स्थानीयबासी विद्यार्थीले धेरै समस्या झेल्दै आएका छन् । वडा सदस्य थापा भन्छन्, ‘समस्या आउँछ, पहल गरिहरेका छौं, निकास केही होला ।’
Comments